s

विश्व बैंकले औंल्यायो रेमिट्यान्स नघट्नुका कारण

कान्तिपुर संवाददाता

काठमाडौँ — कोभिड–१९ का कारण रेमिट्यान्स घट्ने पूर्वानुमानविपरीत संसारभर नै रेमिट्यान्सको प्रवाह नघटेको विश्व बैंकको पछिल्लो प्रतिवेदनले देखाएको छ ।

विश्व बैंकले सार्वजनिक गरेको माइग्रेसन एन्ड डेभलपमेन्ट ब्रिफ प्रतिवेदनका अनुसार न्यून र मध्यम आय भएका मुलुकमा सन् २०२० मा भित्रिएको रेमिट्यान्स अघिल्लो वर्षको तुलनामा १.६ प्रतिशत मात्रै कम हो ।

न्यून तथा मध्यम आए भएका मुलुकमा सन् २०२० मा कुल ५ सय ४० अर्ब डलर रेमिट्यान्स भित्रिएको प्रतिवेदनमा जनाइएको छ । यो आँकडा सन् २०१९ मा ५ सय ४८ अर्ब डलर थियो । सन् २०२० मा कमी आएको रेमिट्यान्सको प्रवाह २००९ को विश्वव्यापी आर्थिक संकटको बेलाको भन्दा कमै हो । उक्त बेलामा रेमिट्यान्स प्रवाहमा ४.८ प्रतिशतले कमी आएको थियो । न्यून र मध्यम आय भएको मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भने घट्दो छ । लगानीको तुलनामा रेमिट्यान्सको प्रवाहमा आएको कमी थोरै हो ।

चीनबाहेक न्यून र मध्यम आय भएका मुलुकमा सन् २०२० मा प्रत्यक्ष वैदेशिक लगानीमा ३० प्रतिशतले कमी आएको थियो । न्यून तथा कम आय भएका मुलुकमा भित्रिएको रेमिट्यान्सको प्रवाह यी देशमा भित्रिएको कुल प्रत्यक्ष वैदेशिक लगानी २ सय ५९ अर्ब अमेरिकी डलरभन्दा बढी छ । यी देशले सन् २०२० मा पाएको कुल विकास सहायता १ सय ७९ अर्बभन्दा बढी छ ।

कोभिड–१९ को संकटका बेलामा पनि यी देशमा रेमिट्यान्सको प्रवाहमा कमी नआउनुलाई यस्ता देशका कामदार रहेका देशमा भएको आर्थिक क्रियाकलापलाई लिइएको छ । न्यून तथा कम आय भएका देशका कामदार बढी भएको मुलुकको आर्थिक अवस्था सोचेको भन्दा राम्रो अवस्थामै रहेकाले रेमिट्यान्स प्रवाहमा कमी नआएको प्रतिवेदनमा भनिएको छ । रेमिट्यान्स नगदको सट्टा डिजिटल र अनौपचारिकबाट औपचारिक माध्यममा सर्दै गएकाले पनि कमी नदेखिएको प्रतिवेदनमा विश्लेषण गरिएको छ ।

यस्तो अवस्था आउनुमा तेलको मूल्यमा आएको उतारचढाव र विदेशी विनिमय दरलाई पनि कारक मानिएको छ । सन् २०२० मा दक्षिण एसियाली मुलुकमा भित्रिने रेमिट्यान्सको प्रवाह ५.२ प्रतिशतले वृद्धि भएको विश्व प्रतिवेदनमा जनाइएको छ । सन् २०२० मा दक्षिण एसियाली मुलुकमा १ सय ४७ अर्ब अमेरिकी डलर बराबरको रेमिट्यान्स भित्रिएको थियो । विशेषगरी बंगलादेश र पाकिस्तानमा भित्रिने रेमिट्यान्समा वृद्धि भएको प्रतिवेदनमा जनाइएको छ ।

दक्षिण एसियाली मुलुकमध्ये सबैभन्दा बढी

रेमिट्यान्स भित्र्याउने राष्ट्र भारतमा सन् २०२० मा रेमिट्यान्सको प्रवाह जम्मा ०.२ प्रतिशतले मात्रै घटेको थियो । संयुक्त अरब इमिरेट्सबाट भारत भित्रिने रेमिट्यान्समा १७ प्रतिशत कमी आए पनि अन्य देशबाट भित्रिने रेमिट्यान्स वृद्धि हुँदा समग्र अवस्थामा कमी नआएको प्रतिवेदनमा उल्लेख छ । पाकिस्तानमा सन् २०२० मा रेमिट्यान्सको प्रवाह १७ प्रतिशत बढेको छ ।

बंगलादेशमा रेमिट्यान्स प्रवाह १८.४ प्रतिशत र श्रीलंकामा भने ५.८ प्रतिशतले वृद्धि भएको प्रतिवेदनमा जनाइएको छ । यसविपरीत नेपाल भित्रिने रेमिट्यान्स भने सन् २०२० मा २ प्रतिशतले कमी आएको थियो । सन् २०२० को त्रैमासिक नेपाल भित्रिने रेमिट्यान्समा १७ प्रतिशतमा कमी आएको भए पनि समग्र वर्ष भित्रिएको रेमिट्यान्स भने २ सन् २०१९चौधरी फाउन्डेसनले आईसीयू वार्ड र अक्सिजन प्लान्ट बनाउने को तुलनामा २ प्रतिशतले मात्रै कम छ । 

सन् २०२१ मा दक्षिण एसियामा भित्रिने 

रेमिट्यान्समा ३.५ प्रतिशतले कमी आउने विश्व बैंकको आकलन छ । उच्च आय भएका मुलुकको आर्थिक वृद्धि मध्यमस्तरमा हुने र त्यस्ता देश जाने कामदारमा पनि कमी आउने भएकाले रेमिट्यान्समा कमी आउने आकलन गरिएको हो । सन् २०२० को पहिलो ७ महिनामा नेपालमा श्रम स्वीकृति लिने कामदारको संख्या ६५ प्रतिशतले घटेको थियो ।

Published on: 17 May 2021 | Kantipur

Link

Back to list

;