s

विस्थापित आफन्तको शरणमा

राजेन्द्र नाथ,ठाकुरसिंह थारू

राप्ती नदीले घरखेत कटान गरेपछि होलिया ५ टेपरी र सिमरहनपुर्वाका पीडित पुस्तौंदेखि बस्दै आएको थातथलो छाडेर आफन्तको शरणमा पुगेका छन् । कटान आइतबारबाट तीव्र भएपछि उनीहरू साइकल र गाडामा अन्न, भाँडाकुँडा, लत्ताकपडालगायत बोकेर होलिया ९ स्थित नयाँबस्ती सरेका हुन् । प्रशासनले पुनस्र्थापनाका लागि बेवास्ता गरेकाले आफन्तको शरण लिन परेको उनीहरूले बताए । राप्ती गाउँ पसेपछि जिल्ला प्रशासनले अघिल्लो साता विस्थापित परिवारलाई हजरत सामुदायिक वनमा राखेको थियो । त्यही दिन उपभोक्ताले लखेटेपछि उनीहरू सहाराको खोजीमा चार वर्षअघि बाढीले विस्थापित भएका १ सय ४४ परिवार पुनस्र्थापित गरिएको नयाँ बस्तीमा आएका हुन् ।

'राप्ती नदीले घरनै कटान गर्न थाल्यो । बस्ने ठाउँ भएन,' गाडामा खाद्यान्न लिएर नयाँबस्तीका बदलु यादवको घर पुगेका छँगुर बाहुनले भने, 'बस्ने ठाउँ नहुँदा समस्या परेको छ ।' आफन्तले एक महिनासम्म बस्ने दिने आश्वासन पाएको उनले सुनाए । छँगुरको ११ जनाको परिवार छ । नदी कटानको जोखिममा परेका परिवार गोरु गाडामा सामान लादेर धमाधम नयाँबस्ती भित्रिन थालेका छन् ।

'खेत नदीले बगाएर लग्यो । ओत लाग्ने ठाउँका लागि सरकारले कुनै व्यवस्था गरिदिएन,' सीताराम यादवले भने, 'अरूको घरमा सधैं बस्न सम्भव छैन ।' वषर्ा लागेपछि राप्तीले लगातार कटान गरिरहेको छ । आइतबार कटानमा तीव्रता आएको सशस्त्र प्रहरी बेसक्याम्पका निरीक्षक बिर्ताशेर थापाले बताए । 'कटान बढेपछि विस्थापित गाउँ छोडिरहेका छन् । उद्धारका लागि प्रहरी परिचालित गरिएको छ,' उनले भने ।

सिमरहनपुर्वाकै रामप्रसाद यादवले पनि नयाँबस्तीका आफन्त रामकिशोर यादवको घरमा शरण लिएका छन् । १२ जनाको परिवारको खानाका लागि उनले धान र गहुँ रामकिशोरको घरमा ओसारे । चौपायासहित विस्थापित हुनुपरेकोमा उनी निकै दुःखी छन् । 'नदीले जोगी बनायो । केही बाँकी रहेन,' उनले भने, 'हामीले निकै दुःख पाएका छौं । सहारा दिने कोही भएन ।'

दुःखमा परेकालाई आफन्तले घरमा सहारा दिएका छन् । नयाँबस्तीका पृथ्वीराज यादवले घरबारविहीन हुनुको पीडा थाहा पाएकाले पनि सहारा दिएको बताए । उनी पनि चार वर्षअघिको बाढीबाट खेदिएका हुन् । आफन्त नभएका टेपरी र सिमरहनपुर्वाका पीडितको खाद्यान्न पनि बस्तीवासीले सुरक्षित राखिदिने गरेका छन् ।

दैवी प्रकोप उद्धार समिति अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र घिमिरेले राप्ती गाउँ पस्न थालेपछि बासिन्दालाई तत्कालका लागि नयाँबस्तीस्थित सामुदायिक विद्यालयमा राख्न व्यवस्था मिलाएको बताए । 'तत्कालका लागि विद्यालयमा बस्ने व्यवस्था मिलाएका छौं । स्थायी बसोबासका लागि ठोस निर्णय भएको छैन,' उनले भने ।

सामुदायिक वनका पदाधिकारी र जिल्ला वनले बाढीपीडितलाई स्थायी रूपमा जंगलको जग्गामा राख्न नसक्ने भन्दै विरोध गर्दै आएका छन् । प्रशासनले खाली जग्गा खोजी गर्न नसकेको कारण पुनस्र्थापनामा समस्या देखिएको हो । पीडितले १ सय १४ परिवार अलपत्र परेको बताए पनि गाविसले ७४ परिवार पुनस्र्थापना गर्नुपर्ने जनायो । जसका कारण थप विवाद देखिएको छ । यसअघि पनि राप्ती नदीको कटानले विस्थापित भएका टेपरीका १ सय ४४ परिवारलाई स्थानीय प्रशासनले हजरत सामुदायिक वन र चौफेरीका विस्थापित ४० परिवारलाई झोरा सामुदायिक वनमा राखेको थियो ।

Published on: 8 August 2011 | Kantipur

Back to list

;