s

विश्वकप तयारीमा श्रमिकको मृत्युबारे फरक–फरक दाबी : बेलायतको दाबी २८ सयजनाले ज्यान गुमाए, कतार भन्छ– तीनजनाको मात्र मृत्यु

कतार विश्वकप फुटबल प्रतियोगिता आउन दुई महिना पनि छैन । विश्वकप जति–जति नजिक आइरहेको छ, विश्वकपभित्रको आन्तरिक विवाद खुलासा भइरहेका छन् । विश्वकपको तयारी दौरान आप्रवासी मजदुरमाथि चरम अन्याय भएको मानवअधिकारवादीहरूले प्रश्न उठाइरहेका छन् । बेलायती सञ्चारमाध्यमले आइतबार कतार विश्वकपसँग सम्बन्धी नयाँ सनसनी खुलासा गरेको छ । बेलायती मिडियाहरूले आइतबार कतार विश्वकपको तयारी क्रममा २८ सय व्यक्तिको निधन भएको दाबी गरेका छन् । तर, कतारले रंगशालादेखि होटेल निर्माणको क्रममा केवल तीनजनाको मात्र निधन भएको दाबी गरेको छ ।

आयोजक कतार र बेलायती मिडियाहरूको तथ्यांकका कारण कतार विश्वकप थप विवादतर्फ मोडिइरहेको छ । कतारले सन् २०१० देखि विश्वकपको तयारी थालनी गरेको हो । १२ वर्षभित्र कतारले भौतिक पूर्वाधार निर्माणमा अर्बौं डलर खर्च गरेको छ । मरुभूमिलाई आधुनिक सहरका रूपमा रूपान्तरित गरेको कतारले आश्चर्यचकित पार्ने रंगशाला तथा होटेल बनाएको छ । रंगशाला, होटेल तथा सडक निर्माणका क्रममा कतारले दक्षिण अफ्रिकादेखि एसियाका मजुदरहरूलाई काममा लगाएको छ । यही निर्माण क्रममा २८ सयभन्दा बढी कामदारको निधन भएको डेली मेलले जनाएको छ ।

नेपालीको निधनमा १५ सय डलर क्षतिपूर्ति

सन् २०१९ मा नेपालका रूपचन्द्र रुम्बाको निधन श्वासप्रश्वास लिन अप्ठेरो हुँदा भयो । आयोजक कतारले मजदुरहरूलाई हावा नछिर्ने तथा सानो स्पेसको कोठाको व्यवस्था गरेको छ । कोठाभित्र पर्याप्त अक्सिजन नपाउँदा रूपचन्द्रले ज्यान गुमाए । कतारले २७ वर्षीय रूपचन्द्रको निधनको प्रसंगलाई फरक बनायो  अस्पतालका चिकित्सकहरूले रूपचन्द्रको स्वास्थ्य पहिलादेखि नै नराम्रो भएको रिपोर्ट बुझाए । चिकित्सकहरूका रिपोर्टअनुसारै अक्सिजन नपुगेर रूपचन्द्रको निधन भएको नभनी रोगकै कारण उनको मृत्यु भएको विज्ञप्ति निकाल्यो ।

यस रिपोर्टप्रति तत्कालै मानवअधिकारवादीहरूले विरोध जनाए । रूपचन्द्र मास्के कम्पनी नामको संस्थामा आबद्ध थिए । कतारले यो मास्के कम्पनीले नियम पालना नगरेको भनी उल्टै अदालतमा रिट राख्यो । कतारको आधिकारिक डाटामा मास्के कम्पनीको कुनै नाम नै नभएको आयोजक मान्छ । गैरकानुनी कम्पनीबाट काम गरेका कारण नै रंगशाला वा होटेल निर्माणको क्रममा निधन हुने व्यक्तिहरूसँग आफूहरूको कुनै सरोकार नभएको कतारको भनाइ छ ।

रूपचन्द्रको निधन भएको एक महिनापछि उनकी श्रीमती निर्मला पाख्रिनले कतार विश्वकपको प्रबन्ध जिम्मेवारी पाएका हसन अलबाट एउटा पत्र प्राप्त गरिन् । सो पत्रमा एक वर्षभन्दा कम समय कतारमा काम गर्न आएका व्यक्तिले क्षतिपूर्ति नपाउने उल्लेख थियो । निर्मलाले आफ्नो श्रीमान् कामको सिलसिलामै निधन भएकाले उचित क्षतिपूर्ति पाउनुपर्ने मागसहित अदालतमा मुद्दा राखेकी थिइन् । हसनले नियमविपरीत क्षतिपूर्ति दिन नमिल्ने उत्तर फर्काए । यद्यपि, मानवीय नाता देखाउँदै आफ्नो संस्थाले निधन भएका रूपचन्द्रको परिवारलाई मास्के कम्पनीमार्फत १५ सय डलर उपलब्ध गराएको बताएका छन् ।

धेरै कम्पनी गैरकानुनी

डेली मेलले अन्तर्राष्ट्रिय मानवअधिकारवादीहरूको सहयोगमा कतारमा कति कम्पनी कानुनअनुसार चलेको र गैरकानुनी रूपमा रहेको भन्ने जानकारी प्राप्त गरेको छ । डेली मेलले प्राप्त गरेको डाटाअनुसार मास्के कम्पनी गैरकानुनी नै हो । यद्यपि, कम्पनी गैरकानुनी भएपछि आप्रवासी कामदारको निधन हुँदा आयोजकले त्यसको जिम्मेवारी लिनुपर्ने अन्तर्राष्ट्रिय मानवअधिकारवादीहरूले दाबी गरेका छन् ।

‘नियम पूरा नगरेको र अवैधानिक रूपमा रहेका कम्पनीहरूले आफ्नो मातहतमा काम गरेका कामदारको निधन हुँदा क्षतिपूर्तिको दाबी गर्ने अधिकार उनीहरूको परिवारलाई छैन,’ आयोजक कतारले भन्यो । यसैबीच, रूपचन्द्रका परिवारले १५ सय डलर पाएको वा नपाएको शंका लागेको डेली मेलको छ ।

‘हामीहरूले कम्पनी र रूपचन्द्रका साथीहरूसँग सोध्यौँ, मृतकको परिवारले १५ सय डलर पाए कि पाएनन् ?’ डेली मेलले आइतबारको संस्करणमा भनेको छ, ‘अहिलेसम्म हामीले सबै जानकारी पाउन सकेका छैनौँ ।’ यसैबीच, रंगशाला निर्माणकै क्रममा निधन भएका थप पाँचजनाको परिवारले कतारको सर्वोच्च अदालतमा क्षतिपूर्ति पाउनका लागि मुद्दा राखेका छन् । सर्वोच्च अदालतले रिट दायर भएका मुद्दा प्रक्रियागत रूपमा नभएको जनाएको छ । ‘रिटअनुसार मुद्दा दर्ता भएको छैन, मृतक परिवारले क्षतिपूर्ति पायो वा पाएको छैन भन्ने बताउन सक्ने अवस्थामा छैन,’ अदालतले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

डेली मेलको ११ वर्षको प्रयास

आयोजक कतार, सर्वोच्च अदालत र मानवअधिकारवादीहरूले कतार विश्वकप सम्बन्धमा आफ्नो दाबी गरिरहे पनि कामदारहरूको निधन अस्वाभाविक भएको दाबी डेली मेलले गरेको छ । डेली मेलले सन् २०११ देखि कतार विश्वकपको तयारी क्रममा निकै सूक्ष्म रूपमा अध्ययन गरेको थियो । डेली मेलले आइतबार कतार विश्वकपको तयारी क्रममा दुई हजार आठ सय २३ जना विदेशी कामदारले ज्यान गुमाएको आइतबारको संस्करणमा उल्लेख गरेको छ । ‘हामीले विगत ११ वर्षदेखि यस विषयमा अध्ययन गरेका थियौँ, जुन रिपोर्ट हामीले प्राप्त गरेका छौँ, त्यो निकै भयावह रह्यो,’ डेली मेलले जनाएको छ, ‘कतारमा काम गर्ने उमेर २०११ देखि आधिकारिक शब्द प्रयोग गर्न अस्पष्ट वा अवर्गीकृत भएको छ ।’

मृतक संख्या फरक

गत महिना ह्युमन राइट वाचका मिन्की वार्डेनले एउटा लेख लेखेका थिए । सो लेखमा उनले सन् २०१० देखि २०१९ सम्म कतार विश्वकपको तयारीका क्रममा १५ हजार २१ जना कामदारको निधन भएको दाबी गरेका छन् । गार्डेनमा वार्डेनले छापेको लेखमा पाँच राष्ट्रका कामदारको बढी निधन भएको उल्लेख गरे । उनका अनुसार भारत, पाकिस्तान, नेपाल, बंगलादेश र श्रीलंकाका धेरैजसो कामदारले कतार विश्वकपको तयारी क्रममा ज्यान गुमाएका थिए । समग्रमा पाँच राष्ट्रका ६ हजार सात सय ५० जनाले ज्यान गुमाएका थिए ।

सबैजसो रंगशाला र होटेल निर्माण कार्यमै निधन भएको वार्डेनको भनाइ छ । फिलिपिन्स, केन्या र घानाका कामदारको पनि निधन भएको उनले बताए । कतारले भौतिक पूर्वाधार निर्माणका क्रममा दुई सयदेखि तीन सय बिलियन डलर खर्चेको छ । यता, द गार्डेनले सडक दुर्घटनामा निधन भएका व्यक्तिको कुनै तथ्यांक कतारले राख्ने नगरेको जनाएको छ । ‘रंगशाला निर्माणस्थलमा कामदार ल्याउने र लैजाने बसको ब्रेक फेल हुँदा एक नेपाली हरिप्रसाद माखिनको निधन भएको थियो, तर कतारले उनको कुनै तथ्यांक राखेन,’ द गार्डेनले भनेको छ ।

Published on: 26 September 2022 | Naya Patrika

Link

Back to list

;