s

विश्वकपमा जोडिएका नेपाली

राजु घिसिङ

दोहा — पाँचपल्टको च्याम्पियन ब्राजिललाई लुसेल रंगशालामा भएको समूहको अन्तिम खेलमा अफ्रिकी टिम क्यामरुनले १–० ले पराजित गरेको थियो । फिफा वरीयतामा दोस्रो स्थानको बेल्जियम र चार वर्षअघिको उपविजेता क्रोएसियाले अहमद बिन अली रंगशालामा गोलरहित खेल्दै अंक बाँडेका थिए । १६ वर्षयता कतारमा व्यस्त रहेका श्याम भुसालले यी दुवै खेल परिवारसहित प्यारापिटबाट हेरेका थिए । तर, उनलाई चित्त बुझेको छैन । किनकि आफैंले काम गरेको अल थुमामा रंगशालामा खेल हेर्न चाहन्थे ।

‘आफैले झन्डै दुई वर्ष काम गरेको रंगशालामा विश्वकपको खेल हेर्ने ठूलो इच्छा छ,’ ४६ वर्षीय भुसालले भने, ‘अनलाइन सिस्टममा टिकट पाउँछ कि भनेर धेरै प्रयास गरें । अफलाइन किन्ने कोसिस पनि गरियो । तर, अल थुमामाको खेल हेर्ने टिकट नै पाउन सकेको छैन ।’

९२ वर्षको इतिहासमा खाडी क्षेत्रमा पहिलोपल्ट आयोजित विश्वकपमा अल थुमामा रंगशालामा ८ खेल तोकिएको थियो । यहाँ हुने अन्तिम खेलमा शनिबार पोर्चुगल र मोरक्को क्वाटरफाइनलमा भिड्दै छन् ।

डिफेन्डिङ च्याम्पियन फ्रान्सले अन्तिम १६ मा केलियन एमबाप्पेको दुई गोलसँगै पोल्यान्डलाई ३–१ ले पराजित गरेको खेल सञ्चालन भएको रंगशाला अल थुमामा नै हो । यहीको मैदानमा स्पेनले कोस्टारिकामाथि गोलको वर्षा गर्दै ७–० ले हराएको थियो । चिसो राजनीतिक सम्बन्ध भएका देशबीचको खेलमा अमेरिकाले इरानलाई १–० ले पराजित गरेको थियो । अफ्रिकी टिम मोरक्कोले बेल्जियमलाई २–० ले स्तब्ध पारेको थियो । नेदरल्यान्ड्सले सेनेगललाई २–०, सेनेगलले आयोजक कतारलाई ३–१ र मोरक्कोले क्यानडालाई २–१ ले हराएको खेल पनि यही रंगशालामा सञ्चालन गरिएको थियो । यो विश्वकपमा ८ खेल सञ्चालन गर्ने अवसर अल थुमामाले पाएको हो । गत वर्ष अरब कपको फाइनल र फिफा अरब कपमा सेमिफाइनलसहित ६ खेल पनि यहाँ भएको थियो ।

खाडी मुलुकमा पहिलोपल्ट आयोजित विश्वकपमा प्रयोग गरिएको आठमध्ये ७ रंगशाला नयाँ निर्माण गरिएको हो । खलिफा अन्तर्राष्ट्रिय रंगशालामात्रै पुरानो हो । भुसालको कम्पनी नासेर अल–सदा एन्ड ब्रोज ट्रेडिङ एन्ड कन्ट्र्याक्टिङ कम्पनीले अल थुमामा रंगशालामा सब–कन्ट्रयाक्टरको रूपमा मर्मत सम्भारलगायतको काम गरेको थियो । कम्पनीका महाप्रबन्धक भुसालले भने, ‘यो रंगशाला (अल थुमामा) मा सिभिल मेन्टेनेन्स, अफिस रिनोभेसन, टायलिङ र आल्मुनियम, ढोका मर्मत तथा रंगरोगनको रिफर्विसमेन्ट काम गरेका छौं । यही क्षेत्रका पुराना बिल्डिङ मर्मत पनि गरेका छौं ।’

विश्वकप २०२२ का खेलहरू सञ्चालन हुने रंगशाला निर्माणमा कन्स्ट्रक्सन कम्पनीको माध्यमबाट श्रमिकको रूपमा काम गरेका नेपाली हजारौं छन् । नेपाली जनशक्ति उपलब्ध गराउने म्यानपावर थुप्रै छन् । नेपाली व्यवसायी संलग्न कम्पनी आफै विश्वकपको प्रोजेक्टमा सुप्रिम कमिटी फर डेलिभरी एन्ड लेगेसी (विश्वकप २०२२ आयोजनाका लागि बनाइएको मूल समिति) प्रत्यक्ष जोडिएको नासेर अल सदामात्रै हो । यो कम्पनीले टेन्डरमार्फत काम लिएको थियो ।

उनका अनुसार दक्षिणी दोहामा बनाइएको ४४ हजार ४ सय दर्शक क्षमताको रंगशालामा नासेर अल सदाले जनवरी २०२१ मा काम सुरु गरेको थियो । दैनिक ४० देखि ६० जनाले काम गरेपछि विश्वकपअघि नोभेम्बर ४ मा सुप्रिम कमिटीलाई हस्तान्तरण गरिएको थियो । ‘अझै ५ प्रतिशत काम सकिएको छैन, जुन विश्वकपपछि गर्ने छौं,’ भुसालले भने, ‘रिफर्विसमेन्ट वर्कबाट भए पनि कतारको बहुप्रतीक्षित योजना वर्ल्डकपमा जोडिँदा एकदमै खुसी लाग्छ । ठूलो प्रोजेक्ट, वर्ल्ड क्लास चर्चित मान्छेहरू आउने ठाउँमा म पनि संलग्न थिएँ भन्न पाउँदा धेरै नै खुसी लाग्छ । गर्व महसुस हुन्छ ।’

उनको कम्पनीमा नेपालीसहित बंगलादेश, सिरिया र इजिप्टका कामदार छन् । फ्री भिसामा आएका, सम्पर्कमा भएका र सप्लाइ कम्पनीले पठाएका श्रमिकलाई नासेर अल सदाले काम लगाउँदै आएको उल्लेख गर्दै भने, ‘मेरो कम्पनी ठूला टावर र मलहरूमा मेन्टेनेन्स र रिफर्विसमेन्टको काम गरेको छ । मनोप्रिक्स सुपर मार्केटको स्टोरहरू, वेस्टबेको गेट मल, कम्पाउन्ड भिल्लाहरू, कम इलेभेन लुसेलमा पनि काम भइहरेको छ । वर्ल्डकपभरि रोकिएको छ, सकेपछि फेरि चल्छ ।’

कतारलाई सन् २०१० मा फिफाले यो विश्वकप आयोजना गर्ने अधिकार दिएको थियो । त्यसपछि यो सानो खाडी मुलुकमा आएको परिवर्तनबारे भुसालले भने, ‘भौतिक पूर्वाधारमा धेरै विकास भयो । नयाँ सातवटा रंगशाला बन्यो । ठूला कोरिडोर बने । ठूला हाइवे योजनामा छ । यो १२ वर्षबीचमा कतारमा धेरै परिवर्तन भएको छ ।’

चितवनस्थित रत्ननगर–१, टाँडीका उनी फुटबलप्रेमी हुन् । अमिर कप र लिगका खेलहरू हेरेका छन् । विश्वकप छनोटमा अन्तरमहादेशीय प्लेअफमा अस्ट्रेलियाले पेरुलाई टाइब्रेकरमा पराजित गरेको खेल पनि हेरेका थिए । ‘पहिलादेखि फुटबल मनपर्छ । खेल्दिनँ तर फुटबलमा सौखचाहिँ छ,’ भुसालले भने । यू–२० नेपाली टिमका खेलाडी स्यान्सु भुसाल उनकै छोरा हुन् । परिवारसहित अल उकेरमा बस्दै आएका उनी केही वर्षपछि स्वदेश फर्किने योजनामा छन् ।

उनी काठमाडौंमा स्नातक सकेपछि कम्प्युटर इन्स्टिच्युट सञ्चालन गर्दागर्दै १९ नोभेम्बर २००६ मा कतार आइपुगेका थिए । दुई वर्ष सेल्समा काम गरेपछि त्यहींका महाप्रबन्धकसँग साझेदारी गर्दै अल्मुनियम, फेब्रिकेसन, ग्लाससम्बन्धी कम्पनी अल मासा कतार सञ्चालन गरे । कतारमा तीन लाख ५० हजार बढी नेपाली कार्यरत छन् ।

Published on: 8 December 2022 | Kantipur

Link

Back to list

;