s

विश्वकपले श्रमिकका पीडा छायामा

घनश्याम खड्का

काठमाडौँ — उनको सानो सपना थियो– छोराछोरीलाई पढाउने, एउटा घर बनाउने र पत्नी फूलझरीदेवीलाई ज्याला/मजदुरीबाट मुक्त पार्ने । यही योजनाका साथ धनुषा फराबारीका फेकु साथे कतार उडे । तर, चर्को घाम र कडा परिश्रमसँग उनको शरीरले तालमेल गर्न सकेन । अन्ततः दुर्बल शरीर लिएर उनी घर फर्के । जँचाउँदा थाहा भयो, क्यान्सर लागेको रहेछ ।

फेकुको उपचारमा फूलझरीदेवीले भएको एक टुक्रा जमिन बेचिन् । त्यसले नपुगेर बाँकी बचेको झुप्रो पनि बन्धकी राखिन् । उपचारले फेकुलाई बचाउन सकेन । अचेल ३६ वर्षीया फूलझारीदेवीलाई तीन छोरी र एक छोराको पेट भर्न रातदिन ज्याला/मजदुरीमा खटिँदा पतिको सम्झनामा सुस्ताउने फुर्सदसम्म छैन । ‘उहाँ बितेको पनि एक वर्ष भइसक्यो,’ गाउँ पर्तिर साहुको घरमा मजदुरी गर्न गएकी उनले शुक्रबार कान्तिपुरसँगको टेलिफोन संवादमा आफ्नो हाल बताइन्, ‘सबै बेचेर पनि २५ लाख ऋण छ, म दुःखीले त्यो तिर्ने कहिले होला ?’

विश्वकप फुटबल खेलाउन चाहिने रंगशाला र अन्य पूर्वाधार बनाउने माचोमा अति पेलानमा परी लागेको बिरामले ज्यान गुमाउन पुगेका उनका पति फेकुजस्ता हजारौं आप्रवासी कामदारलाई क्षतिपूर्ति दिनुपर्छ भन्ने अन्तर्राष्ट्रिय दबाबका सम्बन्धमा फूलझरीलाई केही जानकारी छैन । एमनेस्टी इन्टरनेसनल, ह्युमन राइट्स वाच, युरोपियन मानवअधिकारवादी संस्था र अरू यस्तै अन्तर्राष्ट्रिय निकायले फूलझरीजस्ता अबोलाहरूको पक्षमा गरेको वकालतले भने यतिखेर कतार विश्वकपमाथि फरक बहस चलिरहेको छ ।

विश्वकप आयोजक फिफा र कतारले सबै कामदार र तिनका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाको सामूहिक अडान छ । विश्वकप क्वाटरफाइनलमा प्रवेश गर्दैगर्दा उनीहरूले ट्वीटरमा चलाएको ‘पेअपफिफा’ ह्यासट्यागले पनि गति लिँदै छ । कतारमा वर्ल्डकप सफल भएको भन्दै शुक्रबार फिफाकी महासचिव फात्मा समोराले यस्तो बेला अन्य विषय नउछाल्न विश्वभरका संवाददातालाई आग्रह गरिन् । त्यसलगत्तै ह्यासट्याग ‘पेअपफिफा’ मा विश्वभरका मानवअधिकारवादी अभियन्ताले उनको आलोचना गरे । ‘जहाँ हजारौं श्रमिक मरेका छन्, त्यहाँ सफल विश्वकप कसरी हुन्छ ?’ ह्युमन राइट्स वाचकी अन्तर्राष्ट्रिय निर्देशक मिङ्की वार्डेनले फात्मा, फिफा र कतार सरकारलाई एकसाथ सोधेकी छन् ।

नेपाल, भारत, बंगलादेश, पाकिस्तान, फिलिपिन्सलगायत एसियाका दर्जनौं देशबाट कतार झिकाइएका लाखौं कामदारमाथि श्रम शोषण भएको, हजारौंको ज्यान गएको र ठूलो संख्यामा उनीहरूको स्वास्थ्य बिग्रिएको भन्दै त्यसको उचित सम्बोधन फिफा र कतार दुवैले गर्नुपर्ने आवाज अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले पनि उठाएका छन् ।

फूलझरीलाईझैं कतारमाथि पर्दै गएको चर्को अन्तर्राष्ट्रिय दबाबको जानकारी दोलखाका ४० वर्षीय सुजन थामीलाई पनि छैन । चार वर्षअघि कतारमा श्रम गर्न पुगेका उनी चर्को श्रम शोषण, ५० डिग्रीभन्दा माथिको तातोमा निरन्तरको खटाइ र गएगुज्रेको बन्दोबस्तीका कारण एकै वर्षमा मिर्गौलाका बिरामी हुन पुगे । ३६ प्रतिशत ब्याजमा एक लाख ३० हजार ऋण गरेर कतार पुगेका उनलाई जानुअघि दिने भनिएको मासिक २२ सय रियालभन्दा एक हजार कम ज्याला दिइयो, त्यो पनि निकै ढिलो गरेर ।

तोकिएभन्दा कम तलबबाटै खानपिन र बन्दोबस्तीका व्यवस्था मिलाउन परेपछि उनले ऋण तिर्न नपाउँदै घर फर्किनुपर्‍यो । उपचारमा उनको पनि फेकुको झैं जमिन बेच्नुपर्ने अवस्था आइलाग्यो । यो चार वर्षमा उनले ३० लाखभन्दा बढ्ता उपचारमा खर्च गरिसके । जहान छोराछोरीभन्दा पर काठमाडौंमा एक्लै डेरा गरेर बसिरहेका उनी साताको तीन पटक डायलसिस गराउँदैमा हत्तु भइसके । ‘डायलसिस सित्तैमा भए पनि औषधि र अनेक जाँच गराउँदा महिनाको ५० हजार त उपचारमै सिद्धिन्छ,’ उनी दिक्क छन्, ‘आफूलाई डेरा खर्च र जहान–छोराछोरीको लालनपालन कसरी गर्ने ?’ अन्तर्राष्ट्रिय दबाबका सम्बन्धमा केही जानकारी नभए पनि कतारले क्षतिपूर्ति दिनुपर्ने उनी बताउँछन् । ‘त्यस्तो चर्को गर्मीमा ढलुन्जेल काम गराएर प्याकप्याकी मुख सुक्दा हामीलाई खानेपानीसमेत दिइन्नथ्यो, त्यसै तोडले कति साथी काम गर्दागर्दै मुटु फुटेर बिते,’ उनी भन्छन्, ‘म सद्दे गएको मान्छे मिर्गौला बिगारेर आएँ, यसको जिम्मा कतार सरकारले लिनु त पर्ने हो नि ।’

कामदारको अस्वाभाविक मृत्यु, स्वास्थ्यमा देखिएको जटिलता र चर्को श्रम शोषणका घटना ज्यादै देखिएपछि केही वर्षयता विश्वकप कतारमा गर्ने फिफाको निर्णयको विरोध हुँदै आएको थियो । चर्को दबाब पर्न थालेपछि कतार वर्ल्डकपका चिफ हसन अल थवाडीले विश्वकप सुरु हुनु ठिक एक दिनअघि ४ सयदेखि ५ सयसम्म कामदार मरेको स्वीकार गरेका थिए । त्यसप्रति ओठे सहानुभूतिबाहेक कुनै जिम्मेवारी बहन नगरेपछि आलोचक थप आक्रोशित भएका छन् ।

हुमन राइट्स वाच, एमनेस्टी इन्टरनेसनललगायतका अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाको अनुसन्धानले थवाडीले भनेजस्तो चार–पाँच सय नभई हजारौं संख्यामा कामदार मारिएको देखाएको छ । लाखौंको संख्यामा कामदारमाथि श्रम शोषण भएको, तोकिएको ज्याला नदिइएको, बन्दी बनाएर काममा लगाइएको र उचित खानपिनको व्यवस्था नगर्दा हजारौं श्रमिकको स्वास्थ्यमा घातक समस्या देखिएको उनीहरूको जिकिर छ । कतार र फिफाले आर्थिक क्षतिपूर्ति तत्काल दिनुपर्ने उनीहरूको माग सुनुवाइ भए सुजन थामी र फूलहारीदेवीजस्ता हजारौं नेपालीका दुःख पनि केही हट्नेछ ।

विश्वकप सुरु हुनुअघि एमनेस्टी इन्टरनेसनलले विश्वव्यापी सर्वेक्षण गरेको थियो । यसमा विश्वभरका फुटबलप्रेमीका साथै आममानिसले कतारमा ज्यान गुमाएका, श्रम शोषणमा परेका, घाइते र गम्भीर स्वास्थ्य समस्या झेलिरहेका श्रमिकलाई क्षतिपूर्ति दिनुपर्ने मामिलामा समर्थन जनाएका थिए । त्यसलाई समेत उद्धृत गर्दै एमनेस्टी, ह्युमन राइट्स वाच र अन्य अन्तर्राष्ट्रिय संस्थाले पीडित श्रमिक र तिनका परिवारलाई क्षतिपूर्ति दिन र भविष्यमा यस्तो घटना नहोस् भन्ने सुनिश्चित गर्न कतारले आफ्नो श्रम संयन्त्रमा व्यापक सुधार गर्नुपर्ने अडान राखिरहेका छन् ।

Published on: 12 December 2022 | Kantipur

Link

Back to list

;