s

विश्‍वभर स्वास्थ्य संकट घोषणा, चीनका नेपाली १० दिनदेखि कोठाभित्रै

चन्द्रशेखर अधिकारी/ दिनेश गौतम

कोरोना भाइरस नलाग्दै उद्धार होस् : नेपाली

काठमाडौं : चीनको हुपे प्रान्तको राजधानी उहानबाट फैलिएको कोरोना भाइरस विश्वका २० मुलुकसम्म पुगेपछि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले विश्वव्यापी स्वास्थ्य संकट घोषणा गरेको छ । भाइरसबाट चीनमा मात्र २ सय १३ को ज्यान गएपछि डब्लूएचओले संकट घोषणा गरेको हो ।

डब्लूएचओले संकट घोषणा गरे पनि चीनको हुपे प्रान्तको उहान आसपास सहरका नेपाली विद्यार्थी १० दिनदेखि कोठाभित्र थुनिएर बस्न बाध्य छन् । उद्धारका लागि नेपाल सरकारले प्रयास नगरेको गुनासो उनीहरूको छ ।

‘के सरकारले हामीलाई संक्रमण भएपछि वा हामी मरेपछि लास लैजाने रहेछ ? ’, विद्यार्थीले विच्याट समूहमा लेखेका छन्, ‘हामी अहिले बन्दी जीवन बिताइरहेका छौं । भाइरसले कताबाट छुने हो तनावमा छौं । नयाँ वर्षमा लामो बिदामा जोहो गरिएको खाना अब एकदुई दिनमा सकिन्छ । किन्न जाने अवस्था छैन ।’

सँगै रहेका विदेशी विद्यार्थी धमाधम फर्किएपछि एक्लो महसुस गरिरहेको एक नेपालीले बताए । छिमेकी भारत, बंगलादेश, माल्दिभ्सले आफ्ना नागरिकलाई फिर्ता लगिसकेका छन् । श्रीलंका र पाकिस्तानले पनि आफ्ना विद्यार्थीलाई छिट्टै लैजाँदै छन् ।

हुपे प्रान्तको श्रीयनमा एमडी अध्ययन गरिरहेका अमित शर्माले सरकारसँग जतिसक्दो छिटो स्वदेश लैजान आग्रह गरे । ‘दैनिक संक्रमण बढिरहेको छ । तर, हामी १० दिनदेखि बाहिर निस्केका छैनौं । आफैँ चिकित्सक भएकाले पनि सुरक्षित हुने तरिका बुझेका छौं’, उनले भने, ‘सरकारले अहिले नै लगेर केही दिन क्वारेन्टाइन अर्थात् छुट्टै शिविर÷अस्पतालमा राखेर निगरानी गरे हुन्छ ।’

उक्त सहरमा ३० नेपाली छन् । ‘नेपाली विद्यार्थीलाई भाइरस देखिएको थाहा भएको छैन’, उनले भने । उहानस्थित ह्वाङजुङ युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलजी (हस्ट) मा अध्ययनरत नेपालीले शारीरिक रूपमा सुरक्षित रहेको बताउँदै यही अवस्थामा घर फर्कन जोड दिएका छन् । विश्वविद्यालयको युरोलोजीमा पिएचडी गरिरहेका गौरव पोखरेलले भने, ‘अन्य मुलुकले आफ्ना नागरिकलाई विमान चार्टर गरेर फिर्ता लगिसकेका छन् । तर हामी चीनमै सुरक्षित भनेर बस्नुपर्दा मानसिक रोग लाग्न त्रास बढेको छ ।’

सोही सहरको सेन्टर चाइना नर्मल युनिभर्सिटीमा पीएचडी गरिरहेकी प्रमिला देवकोटाले सरकारसँग सम्पर्कमा रहेर हारगुहार गरिरहँदा पनि फर्काउन चासो नदेखाएको गुनासो गरिन् । उनले भनिन्, ‘म श्रीमान् र बच्चासहित उहानमै छौं । यहाँको अवस्था भयावह छ । भाइरस लागेको रहेनछ धन्य छौं । तर कहिलेसम्म थुनिएर बस्ने ? ’

आफ्नो पैसा तिरेर नेपाल फर्कन चाहे पनि सरकारी प्रयासबिना नसकिने उनले बताइन् । उनले भनिन्, ‘हामी २० तारिखदेखि कोठाबाहिर निस्केका छैनौं । बच्चा घाममा राख्न पाएका छैनौं ।’ आफ्नो अनुरोध राजदूत लीलामणि पौड्याल र परराष्ट्रसचिव शंकरदास बैरागीले बेवास्ता गरेको उनको भनाइ छ । उनले भनिन्, ‘सरकारले सगरमाथा संवाद र भ्रमण गरेर कैयन् रकम खर्चिने अनि विश्वमा देखिने र सुनिने कूटनीति भन्ने, यहाँ आफैं पैसा तिरेर घर फर्कन्छु भन्दा पनि व्यवस्था गर्न नसक्ने ? हाम्रो कूटनीति कस्तो ? ’ प्रधानमन्त्री र दलका शीर्ष नेताले बेलैमा सोच्न आवश्यक रहेको उनले बताइन् ।

हुपेकै चिन्चो सिटीमा रहेका विद्यार्थी गुरुकुमार यादव घरबाहिर ननिस्किएको आठ दिन भएको छ । उनले भने, ‘भाइरसको संक्रमण देखियो कि भनेर आफंैलाई चिमोट्दै बस्दै छौं ।’ हपे प्रान्तमा दुई सय बढी नेपाली विद्यार्थी छन् । उहानमा एक सय जनामध्ये ४० जना छुट्टीमा छन् । चिन्चोमा पनि ५० देखि ५५ विद्यार्थी छन् ।

सरकार बल्ल परामर्शमा

चीनको उहान सहरबाट नेपाली विद्यार्थी फर्काउने विषयमा नेपाल सरकार बल्ल परामर्शमा जुटेको छ । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उच्च अधिकारी, चिकित्सक एवं विज्ञसँग छलफल थालेको हो ।

उहानमा रहेका नेपाली स्वदेश फर्किएपछि कोरोना भाइरस पोजेटिभ देखिए के गर्ने भन्ने पूर्वतयारी हुन सकेको छैन । उद्धार गरी फर्काएका नेपालीलाई करिब दुई साता निगरानीमा राख्नुपर्ने हुन्छ । मन्त्रालयका एक उच्च अधिकारी प्रश्न गर्छन्, ‘ उद्धार गरी ल्याएपछि एकान्तमा बस्न नमाने के गर्ने ? उनीहरूलाई कहाँ राख्ने ? संक्रमण भएको अवस्थामा चीनमै प्रभावकारी उपचार होला कि नेपालमा होला ? ’

उहानबाट अन्य मुलुकले उद्धार गरी लगेका विद्यार्थीमा पनि पोजेटिभ देखिएको छ । त्यसैले के गर्ने भन्ने निर्णय गर्न सरकार अन्योलमा परेको हो । नेपालमा चीनबाट फर्किएका एक व्यक्तिलाई मात्र पोजेटिभ देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. विवेककुमार लालले बताए ।

‘शंकास्पद व्यक्तिका रूपमा कसैलाई पनि आइसोलेसनमा राखिएको छैन । सूचना लुकाएको होइन । सूचना लुकाएर महामारी रोकिने पनि होइन’, डा. लालले भने । स्वास्थ्य मन्त्रालयका पूर्वप्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेल संक्रमण भएको पुष्टि नभएको अवस्थामा तत्कालै उद्धार गरी ल्याउनुपर्ने बताउँछन् । उनी भन्छन्, ‘संक्रमण नहुँदै ल्याउनु उपयुक्त हुन्छ । रुघाखोकीलगायतका अन्य लक्षण नलाग्दै उद्धार गर्नु उपयुक्त हुन्छ । संक्रमण भइहाल्यो भने उद्धार गर्दा झन् खतरा हुन्छ ।’

उद्धारको तयारीमा छौं : परराष्ट्र

चिनियाँ राजदूत होउ यान्छीले चीनमा भाइरसको महामारी रोक्न भइरहेको प्रयासबारे सरकारलाई औपचारिक जानकारी गराइएकी छन् । उनले स्वास्थ्य, पर्यटन र परराष्ट्र मन्त्रालयमा पुगेर त्यसबारे जानकारी दिएकी हुन् । परराष्ट्रसचिव शंकरदास बैरागीले भने, ‘हामी तत्काल नेपालीलाई उद्धार गर्ने चरणमा छौं । सबैसँग समन्वय गरेर त्यसमा अघि बढ्न लागेका छौं । पर्यटन र स्वास्थ्यले गर्ने कार्य र तयारीमा परराष्ट्रले कूटनीतिक पहल गर्ने हो ।’

उनले सबै स्थानमा रहेका नेपाली विद्यार्थीलाई कसरी ल्याउने भन्ने विषयमा छलफल भइरहेको बताए । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले जोखिम रहेमा फर्काउने बताएका छन् भने परराष्ट्रमन्त्री ज्ञवालीले जुनसुकै बेला नेपालीलाई फर्काउन सकिने बताइरहेका छन् ।

Published on: 1 February 2020 | Annapurna Post

Link

Back to list

;