s

विश्व अर्थतन्त्रमा बढ्दै महंगी र बेरोजगारी

काठमाडौं : विश्व अर्थतन्त्रमै एकातिर बेरोजगारीको संख्या बढ्दै छ भने अर्कोतर्फ महंगी आकासिएको छ।

यसको चपेटामा विश्व भरका मानिसहरू दिनप्रतिदिन परिरहेको अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को तथ्यांकले देखाएको छ।

कोषका अनुसार मूल्यवृद्धि दर बर्सेनि उकालो लाग्दैछ। सन् २०२१ मा ४.७ प्रतिशत रहेको विश्व अर्थतन्त्रको मूल्यवृद्धि दर सन् २०२२ मा बढेर ८.७ प्रतिशत रहेको कोषले औंल्याएको छ।

नेपाल राष्ट्र बैंकले कोषको तथ्यांकमा आधारित भएर मंगलबार सार्वजनिक गरेको आर्थिक गतिविधि अध्ययनको अर्ध वार्षिक प्रतिवेदनमा भनिएको छ, ‘सन् २०२१ को तुलनामा सन् २०२२ मा दक्षिण एसियाली मुलुकहरूमध्ये भुटान बाहेकका मुलुकहरूको उपभोक्ता मुद्रास्फिति बढ्न गएको छ। भारत र चीनको उपभोक्ता मुद्रास्फिति सन् २०२१ मा क्रमशः ५.५ प्रतिशत र ०.९ प्रतिशत रहेकोमा सन् २०२२ मा ६.७ प्रतिशत र १.९ प्रतिशत रहन गएको छ। नेपालको मुद्रास्फिति सन् २०२१ को तुलनामा सन् २०२२ मा बढ्न गएको छ।’

यस्तै, ओईल पाईस डन नेटमा उपलब्ध तथ्यांक अनुसार सन् २०२२ को जनवरी १ मा ७९.२० अमेरिकी डलर प्रति ब्यारल रहेको कच्चा तेलको मूल्य सन् २०२३ को जनवरी ३ मा अमेरिकी डलर ८२.१० मा पुग्यो। कोभिड–१९ पछि प्रभावकारी माग वृद्धि र आपूर्ति श्रृङ्खलामा आएको अवरोधका कारण तेलको मूल्यमा अत्यधिक वृद्धि भएको राष्ट्र बैंकले बताएको छ।

यस्तै, विश्व अर्थतन्त्रको आर्थिक वृद्धिदर घट्दो क्रममा छ। अन्तर्राष्ट्रिय मुद्रा कोषद्वारा अप्रिल २०२३ मा अद्यावधिक गरिएको वल्ड ईकोनोमि आउटलुकअनुसार सन्२०२२ मा ३.४ प्रतिशतले वृद्धि भएको विश्व अर्थतन्त्र सन् २०२३ मा २.८ प्रतिशतका दरले वृद्धि हुने प्रक्षेपण छ।

विश्वको मुद्रास्फिति दर सुधार हुँदै जाने भनिएको छ। विश्वका विकसित मुलुकहरूको मुद्रास्फिति दर सन् २०२२ मा ७.३ प्रतिशत रहेकोमा सन् २०२३ मा ४.७ प्रतिशत रहने प्रक्षेपण छ। त्यसैगरी, उदीयमान तथा विकासशील मुलुकहरूको मुद्रास्फिति दर सन् २०२२ मा ९.८ प्रतिशत रहेकोमा सन् २०२३ मा ८.६ प्रतिशत रहने कोषको प्रक्षेपण छ। कोषको तथ्यांक अनुसार सन् २०२२ मा विश्वको कुल गार्हस्थ्य उत्पादन वृद्धिदर ३.४ प्रतिशत रहन गयो।

सन् २०२२ मा जि–७ अन्तर्गतका विकसित देशहरूको आर्थिक वृद्धिदर र बेरोजगारी दरमा सन् २०२१ को तुलनामा कम रहन गयो। उक्त मुलुकहरूमध्ये सन् २०२२ मा फ्रान्स र क्यानडाको बेरोजगारी दर ७ प्रतिशत माथि रहन गयो भने जापानको बेरोजगारी दर २.६ प्रतिशत कायम रहन गयो।

सन् २०२२ मा नेपालीहरूको प्रमुख वैदेशिक रोजगार गन्तव्य मुलुकहरूको आर्थिक वृद्धि सामान्य रह्यो। नेपालीहरूको प्रमुख श्रम गन्तव्य मुलुक साउदी अरेविया, मलेसिया र कुवेतको आर्थिक वृद्धिदर ८ प्रतिशत भन्दा बढी रह्यो भने दक्षिण कोरिया र जापानको वृद्धिदर क्रमशः २.६ प्रतिशत र १.१ प्रतिशत रहयो।

यस्तै, सन्२०२२ मा छिमेकी मुलुकहरूको आर्थिक गतिविधि सामान्य रहेको छ। सन्२०२१ मा ४१.७ प्रतिशतले वृद्धि भएको माल्दिभ्सको अर्थतन्त्र सन् २०२२ मा १२.३ प्रतिशतले वृद्धि भयो। यसैगरी, सन् २०२१ मा बंगलादेशको अर्थतन्त्र ७.१ प्रतिशतले वृद्धि भयो भने श्रीलंकाको अर्थतन्त्र ८.७ प्रतिशतले ऋणात्मक रहन गयो।

दक्षिण एसियाली देशहरूको आर्थिक वृद्धिदर

सन् २०२२/२३ मा नेपाल, भारत तथा चीनको कुल गार्हस्थ उत्पादनमा तृतीय क्षेत्रको योगदान सबैभन्दा बढी छ। सन् २०२२/२३ मा भारतको कुल गार्हस्थ उत्पादनमा प्राथमिक, द्वितीय र तृतीय क्षेत्रको योगदान क्रमशः २१.० प्रतिशत, २५.६ प्रतिशत र ५३.४ प्रतिशत रहेको छ भने सोही अवधिमा प्राथमिक, द्वितीय र तृतीय क्षेत्रको वृद्धिदर क्रमशः ३.३ प्रतिशत, ४.३ प्रतिशत र ९.१ प्रतिशत रहेको छ।

साथै, चीनको कुल गार्हस्थ उत्पादनमा प्राथमिक, द्वितीय र तृतीय क्षेत्रको योगदान क्रमशः ७.३ प्रतिशत, ३९.९ प्रतिशत र ५२.८ प्रतिशत रहेको छ भने प्राथमिक, द्वितीय र तृतीय क्षेत्रको वृद्धिदर क्रमशः ४.१ प्रतिशत, ३.८ प्रतिशत र २.३ प्रतिशत रहेको छ।

Published on: 28 June 2023 | Annapurna Post

Link

Back to list

;