s

विषाक्त मदिरा सेवन गरेका थप दुई नेपालीको मलेशियामा मृत्यु

मृत्यु हुने नेपालीको संख्या ९ पुग्यो

मलेशियामा विषाक्त मदिरा सेवनबाट थप दुई नेपालीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सर्लाही, शङ्करपुर–५ का शेरबहादुर ठकुरी र ठेगाना नखुलेका सुकुवल घिसिङ रहेको क्वालालम्पुरस्थित नेपाली दूतावासले आज जनाएको छ ।

दूतावासका अनुसार घिसिङको स्थानीय सुनगाई बुलोच अस्पताल र ठकुरीको टोन्काउ जफार शेरेम्बान अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । यससँगै मलेसियाको सेलाङ्गोर राज्य र क्वालालम्पुर क्षेत्रमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको सङ्ख्या नौ पुगेको छ ।

यसअघि विषाक्त मदिरा सेवनबाट धादिङका मीमबहादुर घले, रुपन्देहीका रामकुमार यादव, डडेल्धुराका विशाल बुढाथोकी, सुनसरीका सञ्जय उराव, इलामका बलबहादुर कुलुङ्ग, सर्लाहीका आइतसिंह गोले र नवलपरासीका दुर्गासिंह रानाको मृत्यु भएको दूतावासले जनाएको छ ।

विषाक्त मदिरा सेवनबाट १७ नेपाली गम्भीर बिरामी परेका थिए । उनीहरुमध्ये सात नेपाली विभिन्न अस्पतालमा उपचारपश्चात कम्पनीमा फर्किसकेका छन् । अन्य बिरामी १० जनामध्ये तीनको अवस्था गम्भीर रहेको दूतावासले जनाएको छ ।

Published On: 24 September 2018 | Setopati

Back to list

;