s

वीरगञ्जबाट ४ श्रमिक बालककोे उद्धार

 वीरगञ्ज महानगरपालिकालाई बालमैत्री महानगरपालिका बनाउने अभियान अन्तर्गत नगर प्रमुख विजय कुमार सरावगीले सक्रियता बढाएका छन् । बालमैत्रीका ३९ सुचक मध्ये केहि मात्र पुरा हुन बाँकी रहेको बताउँदै आएका नगर प्रमुख सरावगीले आफ्नै उपस्थितिमा बिहीबार बाल श्रमिकको रुपमा कार्यरत ४ बालकको उद्धार गराएका छन् । वीरगन्जको माइस्थान मिना बजार स्थित विरेन्द्र साहको नास्ता पसलबाट १४ बर्षीय र १२ बर्षीय दुईजना र सञ्जय सर्राफको नास्ता पसलबाट १० र १४ बर्षको दुईजना गरी चार जना बालकको उद्धार गरिएको हो । स्थानीय सरकार आएपछि पहिलोपटक यसरी श्रमिक बालकको उद्धार गरिएको हो ।

‘बाल श्रम अपराध हो, कुनैपनि बालबालिकालाई श्रममा नलगाउनु भनी महानगरपालिकाले पटक–पटक सूचना जारी गरेको भएपनि अटेरी गरी बालबालिकालाई श्रममा लागाएको जानकारी पाएपछि नगर प्रमुख सरावगीसहितको टोलीले उनीहरुको उद्धार गरेको थियो । वीरगञ्जको माइस्थान मिना बजार क्षेत्रमा सञ्चालित दुई वटा नास्ता पसलबाट श्रम शोषणमा परेका ४ जना बालकको उद्धार गरिएको महानगरपालिकाको बालमैत्री कार्यक्रमको फोकल पर्सन मुकेश गुप्ताले जानकारी दिए । ‘अनुगमन गर्दा बालकहरुको श्रम शोषण भइरहेको पाइएपछि उनीहरुलाई उद्धार गरेका हौं । उनीहरुलाई तत्कालका लागि महानगरपालिकाले आवर संसारसँग मिलेर सञ्चालन गरेको बाल हेल्प लाइनमा लगेर राख्छौं ।’ उनले भने ‘ उनीहरुलाई अभिभावकको खोजी गरी अबदेखि काममा नपठाउने शर्तमा जिम्मा लगाउँछौं ।’

उनीहरुलाई नास्ता पसलमा एकदमै थोरै तलबमा विहानदेखि अबेर रातिसम्म भाँडा माझ्न लगाउने, होटल सफा गर्न लगाउने, ग्राहकलाई खाजा नास्ता दिन लगाईंदै आएको थियो । होटल व्यवसायीहरुलाई एकपटकलाई चेतावनी दिएर छोडिएको र पूनः बालबालिकालाई श्रममा लगाए कानुनी कारबाही गर्ने चेतावनी नगर प्रमुख सरावगीले दिएका छन् । अझैपनि वीरगञ्जका होटल, रेष्टुरेन्ट तथा नास्ता पसल, मिठाई पसल, ग्यारेज, ग्रिल उद्योगहरुमा बाल श्रमिक प्रशस्तै भेटिन्छन् । नगर प्रमुख सरावगीले कष्टकर श्रममा रहेका बालबालिकाको उद्धार गर्ने कार्य निरन्तर सञ्चालन हुने बताए । ‘पहिले हामीसँग उद्धार गरेर राख्ने ठाउँ थिएन, बाल हेल्पलाईन सुरु गरेपछि हामीसँग ठाउँ भएको छ ।’ उनले भने, ‘उद्धार गर्न शुरु गरियो, जस जसले बाल श्रमिक राखेको छ उनीहरुले पनि हटाउँछन भन्ने विश्वास छ । अटेरी गर्छन भने उनीहरुलाई पनि कारबाही गर्छौं ।’

Published on: 18 October 2019 | Onlinekhabar

Link

Back to list

;