s

बिरामी नेपालीलाई वाणिज्य दूतले भेटे

‘डुरियन’ फ्लेबरको कफी पिएपछि गम्भीर बिरामी परेका दुई नेपालीलाई मलेसियाको पेनागस्थित नेपाली अवैतनिक वाणिज्यदूत दातुक हवाङ चेङ ग्वानले भेटेका छन् ।
 
उनले बिहीबार पेनाङ अस्पतालमै पुगेर ३१ वर्षीय विष्णु श्रेष्ठ र ४५ वर्षीय मंगलप्रसाद सापकोटाको स्वास्थ्य स्थितिबारे जानकारी लिएको नेपाली दूतावासका द्वितीय सचिव प्रेमराज गौतमले बताए ।
 
दुवै जना गोल्डेन ट्रियन्गल सेक्युरिटी कम्पनीमातहत त्यहाँको पुलाउ तिकुसस्थित एक आवासीय भवनमा सुरक्षा गार्डको काम गर्छन् । बुधबार बिहान कफी पिएको ५ मिनेटमै दुवै जनालाई रिँगटा लागेको थियो । लगत्तै एक जना अचेत हुन पुगे भने अर्का पनि गम्भीर बिरामी परे ।
 
मलेसियाको अंग्रेजी भाषाको न्युजपोर्टल ‘द स्टार डटकम डट माई’ले उल्लेख गरेअनुसार उक्त अस्पतालमा गत एक सातामा यस्तै घटनाका ५ बिरामी भर्ना भइसकेका छन् । तीमध्ये ३ जना डिस्चार्ज भएका छन् भने २ नेपालीको उपचार जारी छ । हाल दुवैको अवस्था खतरामुक्त रहेको र चिकित्सकको रिपोर्ट आएसँगै डिस्चार्ज हुने उनीहरू कार्यरत कम्पनीका एक कर्मचारीले बताए ।
 
Published on: 3 February 2018 | Kantipur

Back to list

;