s

विप्रेषण उपयोग प्राथमिकतामा

वैदेशिक रोजगारमा कामदार पठाउने एसियाली राष्ट्रले विप्रेषण उपयोगमा विशेष जोड दिने भएका छन्। कामदार पठाउने १२ एसियाली राष्ट्रका साझा मञ्चका रूपमा कोलम्बो प्रोसेसको यही २९ र ३० गते काठमाडौंमा हुने बैठकमा कामदारले पठाएको र विप्रेषणलाई सही सदुपयोग गर्न ठोस योजना प्रस्ताव गर्ने भएका हुन्।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डा.नारायण रेग्मीले कामदारको हित र विप्रेषण उपयोगमा बैठक केन्द्रित हुने बताए। अन्तर्राष्ट्रिय आप्रवासनका विषयमा क्षेत्रीय परामर्श गर्ने उद्देश्यले सन् २००३ मा कोलोम्बो प्रोसेस स्थापना भएको थियो। रेग्मीले बैठकमा अन्तर्राष्ट्रिय आप्रवासन र अनुबन्धमा आधारित श्रमसम्बन्धी नीतिगत निर्णय लिइने बताए।

कोलम्बो प्रोसेसमा अफगानिस्तान, बंगलादेश, कम्बोडिया, चीन, भारत, इण्डोनेसिया, नेपाल, पाकिस्तान, फिलिपिन्स, श्रीलंका, थाइल्यान्ड र भियतनाम छन्। कोलोम्बो प्रोसेसले आप्रवासी कामदारको हक र अधिकार प्रवद्र्धन, सेवा र सुविधाको संरक्षणका साथै नयाँ गन्तव्य बजारको खोजी, विप्रेषणको वैधानिक प्रवाहको बढोत्तरी एवं आप्रवासनको व्यवस्थापकीय क्षमता विकास, तथ्यांक संकलन र विश्लेषण एवं राष्ट्र–राष्ट्रबीचको वैदेशिक रोजगार सुधारका क्षेत्रमा हुने सहकार्यलाई प्राथमिकता दिँदै आएको छ।

यस वर्षको कोलोम्बो बैठकमा नेपालले अध्यक्षता गर्नेछ। रेग्मीका अनुसार अध्यक्षताको दुई वर्षे अवधिमा आप्रवासन सम्बन्धमा विभिन्न सिफारिस र कार्य योजनामा छलफल गर्नेछ। बैठकमा सदस्य मुलुकले अघिल्लो बैठकका सिफारिसको कार्यान्वयनको समीक्षा गर्नुका साथै आगामी दिनमा अवलम्बन गरिने कदमको पहिचानसमेत गर्नेछ।

Published on: 14 November 2018 | Annapurna Post

Back to list

;