s

विप्रेषण घट्यो

वैदेशिक रोजगारीमा जानेको संख्यामा सामान्य वृद्धि देखिए पनि विप्रेषण आप्रवाहमा भने कमी आएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो दुई महिनाको समष्टिगत आर्थिक र वित्तीय परिदृश्य सम्बन्धि प्रतिवेदनअनुसार गत आर्थिक वर्षको तुलनामा रेमिट्यान्स १.३ प्रतिशतले घटेको छ। २०७६-७७ को साउन र भदौ महिनामा १ अर्ब ३५ करोड ९९ लाख र एक खर्ब ५३ अर्ब ७३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। गत वर्षको सोही अवधिको तुलनामा अहिले भित्रिएको रेमिट्यान्स कम हो। गत आर्थिक वर्षको पहिलो दुई महिनामा १ अर्ब ३७ करोड ८४ लाख अमेरिकी डलर रेमिट्यान्स भित्रिएको थियो।गत आर्थिक वर्षको सोही अवधिमा अघिल्लो आर्थिक वर्षमा रेमिट्यान्सको वृद्धिदर २२.३ प्रतिशत (अमेरिकी डलरमा) थियो। यद्यपि चालु आवमा गत आवको तुलनामा वैदेशिक रोजगारीमा जानेको संख्या सामान्य बढेको छ। चालु आवको पहिलो दुई महिनामा ३९ हजार आठ सय ६५ व्यक्ति वैदेशिक रोजगारीमा गएका छन्। अघिल्लो वर्ष यस्तो संख्या ३९ हजार सात सय ८५ थियो। नेपाल रेमिटर्स एसोसिएसनका पूर्वअध्यक्ष देवीप्रसाद भट्टचनले वैदेशिक रोजगारीमा जानेले दसैंभन्दा अघिको समयमा धेरै रेमिट्यान्स पठाउने हुँदा रेमिट्यान्स बढ्नुपर्ने भए पनि मलेसियाको समस्या समाधानमा ढिलाइ हुँदा त्यसको असर देखिएको बताए। ‘रोजगारीमा जाने संख्या बढ्नेबित्तिकै पहिलो या दोस्रो महिनाबाटै त्यसको प्रभाव देखिँदैन’, उनले भने, ‘वैदेशिक रोजगारीमा जानेको संख्या पनि उल्लेख्य बढ्न सकेको देखिँदैन।’ विदेशी मुद्राको प्रमुख स्रोत रेमिट्यान्स आप्रवाहमा कमी आउँदा यसले मुलुकले आयात गर्ने क्षमतामा प्रत्यक्ष असर पार्ने अर्थशास्त्रीहरू बताउँछन्।

गत आर्थिक वर्षको पहिलो दुई महिनाको तुलनामा चालु आवको सोही अवधिमा आयात पनि घटेको छ। गत आर्थिक वर्षको पहिलो दुई महिनामा २ खर्ब ३२ अर्ब रुपैयाँको आयात भएकोमा चालु आवको पहिलो दुई महिनामा २ खर्ब २९ अर्ब रुपैयाँको आयात भएको नेपाल राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ। समीक्षा अवधिमा आयात १.२ प्रतिशतले घटेको भए पनि निर्यात भने २५.९ प्रतिशतले बढेको छ। चालु आवको पहिलो दुई महिनामा प्रमुख निकासी वस्तुमा पाम आयल, कार्पेट, पोलिस्टर यार्न र धागो, अलैंची तथा जुट छन्। त्यस्तै, आयाततर्फ पेट्रोलियम, सवारीसाधन र पार्ट्स, मेसिनरी, एमएस बिलेट र तयारी पोसाक प्रमुख छन्। निर्यात वृद्धि र आयात घट्दा गत आवको पहिलो दुई महिनाको तुलनामा चालु आवमा व्यापारघाटा ३.१ प्रतिशतले घटेर २ खर्ब ११ अर्ब रुपैयाँ छ। उपभोक्ता मुद्रा स्फिति नेपाल राष्ट्र बैंकले तोकेको ६ प्रतिशतको लक्ष्य नाघेर ६.१६ प्रतिशत बिन्दूमा छ। त्यस्तै, मुलुकसँग ९ अर्ब ४४ करोड अमेरिकी डलर सञ्चिति छ। यो सञ्चितिले ८ महिना १२ दिनको सञ्चिति धान्न सक्छ। गत आर्थिक वर्षको सुरुवातदेखि नै ऋणात्मक रहेको शोधनान्तर स्थितिमा भने चालु आर्थिक वर्षमा उल्लेख्य सुधार देखिन्छ। चालु आवको पहिलो दुई महिनामा शोधनान्तर ८ अर्ब ८३ करोड रुपैयाँ बचतमा छ, जबकी गत वर्ष सोही अवधिमा शोधनान्तर स्थिति २५ अर्ब ४५ करोड रुपैयाँ घाटामा थियो।

Published on: 24 October 2019 | Annapurna Post

Link

Back to list

;