s

विपिन जोशी फिर्तीको पर्खाइ

नेपाली युवा विपिन जोशी इजरायली भूमिबाट प्यालेस्टिनी लडाकु समूह हमासको कब्जामा परेको आठ महिना भएको छ । परिवार न सरकार, कसैलाई पनि उनको अहिलेको अवस्था थाहा छैन । छोटो समय युद्धविराम हुँदा र त्यसअघि–पछि फाट्टफट्ट गरी सयभन्दा बढी बन्धकलाई हमासले रिहाइ गरिसक्दा विपिन पर्न सकेका छैनन् ।

उनको रिहाइका लागि कतै नेपाल सरकारकै पहल नपुगेको त होइन भन्ने प्रश्न उठिरहेको छ । इजरायल र हमासबीच युद्ध तत्काल थामिने संकेतसमेत नदेखिएका बेला विपिनको अवस्था पत्ता लगाउन र रिहाइका लागि सरकारले सार्थक कूटनीतिक पहल गर्न ढिलाइ भइरहेको छ ।

सुदूरपश्चिम विश्वविद्यालयमा कृषि विज्ञान संकायअन्तर्गत स्नातक तह आठौं सेमेस्टरमा अध्ययनरत विपिन सिक्दै कमाउने कार्यक्रमअन्तर्गत इजरायल पुगेका बेला हमासको बन्धनमा परेका थिए । उनी गत वर्ष भदौ अन्तिम साता सहपाठीहरूसँगै इजरायल पुगेका थिए । उनीहरू रहेकै इजरायलको दक्षिणी क्षेत्रमा हमासले असोज २० मा अप्रत्याशित हमला गरेको थियो । उक्त हमलामा १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो । विपिनलाई भने हमासले बन्धक बनाएर लगेको थियो । हमासले उनको अवस्थाबारे केही खुलाएको छैन । असोज २० मा हमासले विपिनसहित विभिन्न मुलुकका २५२ जनालाई बन्दी बनाएको थियो । ‘मानवीय मूल्यका लागि’ गत मंसिरमा ६ दिन युद्धविराम हुँदा १०५ जनालाई हमासले रिहा गरेको थियो । त्यसअघि र पछि पनि केही व्यक्ति मुक्त भएका थिए । हमासको नियन्त्रणमा अझै एक सय २० जनाभन्दा बढी छन् । हमासले बन्दी बनाएका केही व्यक्तिको मृत्यु भइसकेको छ ।

हमासको अप्रत्याशित हमलापछि युद्धग्रस्त क्षेत्रबाट नेपालीलाई उद्धार गरेर स्वदेश ल्याउन तत्कालीन परराष्ट्रमन्त्री एनपी साउद आफैं इजरायल पुगेका थिए । उद्धारमा जस्तै तदारुकता सरकारले विपिनको रिहाइमा नदेखाएको टीकाटिप्पणी हुँदै आएको छ । विपिनका बुबाआमा रिहाइका लागि गुहार माग्दै सिंहदरबार, परराष्ट्र मन्त्रालय, राष्ट्रपति कार्यालय धाइरहेका छन्, अन्तर्राष्ट्रिय निकायहरूसँग पनि अपिल गरिरहेका छन् ।

सरकारले पनि विभिन्न तहमा आग्रह गरिरहेको देखिन्छ । कतारका अमिर शेख तमिम बिल हमाद अल थानीलाई गत महिनाको नेपाल भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल र परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले विपिनको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका थिए । हमाससँग राम्रो सम्बन्ध रहेको कतार नेपालको बलियो श्रम कूटनीति रहेको मुलुक हो । कतारलगायत मुलुक र निकायको पहलमा गत मंसिरमा केही दिन युद्धविराम भएको थियो र त्यति बेला धेरै बन्दी रिहा भएका थिए । कतारको पहल भए विपिन रिहा हुन सक्छन् भन्ने विश्वासमा नेपालका अधिकारीले आग्रह गर्दै आएका छन् तर विपिनको अवस्था नै अझै थाहा हुन सकेको छैन ।

इजरायल र हमासबीच दीर्घकालीन युद्धविराम भइहाले विपिनको स्वदेश फिर्तीको आस बलियो हुन सक्थ्यो । तर युद्धविरामको कुनै छनक देखिएको छैन । विश्व नागरिक समुदायले इजरायलसँग युद्ध रोक्न आग्रह गर्दै आएको छ । संयुक्त राष्ट्रसंघका विभिन्न निकायले युद्धविरामका लागि पटक–पटक प्रस्ताव पारित गरेका छन् । तर इजरायलले यस्ता याचना/प्रस्तावलाई बेवास्ता गरिरहेको छ । इजरायली अधिकारीहरूले यो वर्ष (सन् २०२४) भरि युद्ध चल्ने अभिव्यक्ति दिइरहेका छन् । इजरायल र हमासको युद्धबाट सिर्जित तनाव विस्तार भएर लेबनान, यमनलगायत मुलुकमा पुगिसकेको छ । आठ महिनाको युद्धमा ३५ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । अरू हजारौं घाइते छन्, लाखौं विस्थापित छन् ।

खाद्यान्न, इन्धन, औषधिजस्ता अत्यावश्यक सामग्रीको प्रवेशमा कडाइ गरिएकाले गाजाका विस्थापित मानिसको जनजीवन कष्टप्रद छ । युद्ध लम्बिँदै जाँदा स्थिति झन् विकराल हुने देखिन्छ । विपिनलाई बन्धक बनाइएको गाजा क्षेत्रमै इजरायलले निरन्तर हमला गरिरहँदा उनको परिवारमा सुरक्षा चिन्ता चुलिएको छ । यही तहको चिन्ता नेपाल सरकारमा पनि हुन जरुरी छ ।

विपिनको अवस्था पत्ता लगाउन र जतिसक्दो छिटो रिहा गराउन सरकारले कूटनीतिक सक्रियता बढाउनुपर्छ । सहजीकरण गरिदिन सक्ने कतारजस्ता मुलुकहरूको भ्रमण वा विभिन्न संयन्त्र परिचालनमार्फत रिहाइका लागि पहल गर्न सकिन्छ र यस्तो पहल अविलम्ब अघि बढ्नुपर्छ । र, इजरायल र हमास (प्यालेस्टाइन) बीच दीर्घकालीन युद्धविरामको वातावरण निर्माणका लागि संयुक्त राष्ट्रसंघ, अन्तर्राष्ट्रिय रेडक्रस समितिका निकाय र कतार, इजिप्टलगायत मुलुकको सक्रिय अग्रसरता अपेक्षित छ ।

Published on: 31 May 2024 | Kantipur

Link

Back to list

;