s

विपिन बन्धक भएको १७८ औं दिन : बन्धक फिर्ता ल्याउन इजरायली प्रधानमन्त्रीमाथि दबाब

काठमाडौँ — कञ्चनपुरका विपिन जोशीसहित एकसय ३० जना प्यालेस्टिनी विद्रोही समूह हमासको बन्धकमा रहेको सोमबार १७८ औं दिन पुगेको छ । आफ्ना छोरा विपिनलाई मुक्त गर्न बुवा महानन्द र आमा पद्माले गर्दै आएको अपिललाई न सिंहदरबारले गम्भीर रुपमा लियो, न इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसमक्ष कडा स्वर नै पुग्यो ।

बरु गाजापट्टीमा विपिनसँगै बन्धक बनाइएका इजरायली नागरिकका परिवार र विपक्षी दलले शनिबारदेखि थालेको प्रर्दशनले इजरायली प्रधानमन्त्री नेतान्याहु दबाबमा देखिएका छन् । विपक्षी दल र बन्धक बनाइएका परिवारले प्रधानमन्त्री नेतान्याहुको राजीनामा मागेका छन् । अहिले विपिनको रिहाईको माग पनि इजरायलमा भइरहेको प्रर्दशनसँग जोडिएको छ ।

बन्धक बनाइएकाहरुलाई मुक्त गर्न असफल देखिएको भन्दै इजरायलको विपक्षी दलका नेताको आह्वानमा शनिबार १० औं हजार प्रर्दशनकारीहरु जेरुसेलम र तेलअभिममा निस्किएका थिए । जसमा हमासद्वारा बन्धक बनाइएकाहरुका परिवारहरु पनि मिसिएका थिए । पीडितपरिवारका सदस्यहरुले इजरायली संसद, प्रधानमन्त्री निवास अगाडिको सडकमा चार दिनको लागि टेन्ट नै राखेका छन् । उनीहरुले बन्धकलाई छुटाउन तुरुन्तै संवाद गर्न माग राखेका छन् ।

पीडित परिवारलाई प्रधानमन्त्री नेतान्याहुबाट बन्धक छुटाउन बलियो पहल नभइरहेको लाग्न थालेको छ । ‘मेरो छोरो मतानलाई घर आउने प्रतीक्षामा बसेको ६ महिना भइसक्यो । म अब यो भन्दा बढी पर्खन सक्तिन । म यो टेन्टमा रातभरी सुत्न चाहन्छु । किनभने मेरो छोरा गाजा क्षेत्रको सुरुङभित्र बसिरहेको होला,’ सडकमा टेन्ट राखेकी मतानकी आमाले मिडिया समक्ष भनिरहेकी थिइन्,‘जबसम्म मेरो छोरो आउँदैन, तबसम्म म सडकबाट हट्ने छैन ।’

७ अक्टोवरमा एकसय २२ जना विदेशीसहित हमासले २ सय ५३ जनालई बन्धक बनाएर लगेको थियो । मंसिरको पहिलो सातामा बन्धक र कैदी साटासाट हुने गरी इजरायल र हमासबीच भएको अस्थायी युद्धविरामको समयमा हमासले २२ जना विदेशी नागरिकसहित एकसय ५ जनालाई रिहाई गरिदिएको थियो ।

जसमा नेपालको कमजोर कूटनीति हुँदा विपिन जोशी परेनन् । गाजापट्टीको सीमा नजिकै रहेको इजरायलको किवुज अलुमिमबाट बिहान १० बजे जोशीसहित थाई नागरिकलाई बन्धक बनाएर लगेको थियो । अलुमिममा हमासले अन्धाधुन्ध गोली चलाउँदा १० जना नेपाली मारिएका थिए । इजरायल डिफेन्स फोर्स (आईडीएफ) द्वारा जारी भिडियोअनुसार विपिनलाई गाजा सहरस्थित अल सिफा अस्पतालमा स्थानीय समयअनुसार बिहान १०ः५३ बजे तीन जना हतियारधारीले एक बन्धकलाई घिच्याउदै अस्पतालभित्र लैजाँदै गरेको देखिन्छ । ती बन्धक खाली खुट्टा र कट्टुमा मात्रै देखिन्छन् । जसलाई कपडाले टाउको छोपेर अस्पतालभित्र लैजाँदै गरेको देखिन्छ । कपडा र चप्पलको आधारमा विपिन नै भएको उनका साथीहरुले बताएका छन् ।

बन्धक बनाइएका कसैको अवस्था पनि सार्वजनिक गरिएको छैन । बन्धक बनाइएकाहरुका परिवारका सदस्यहरुले प्रधानमन्त्री नेतान्याहुसमक्ष नतिजा निस्कने गरी हमाससँग ‘डिल’ गर्न दबाब दिइरहेका छन् । हमासले भने वर्ताका लागि गाजाको उत्तरी क्षेत्रमा स्थानीयको आगमनलाई खुल्ला गर्नुपर्ने, इजरायलमा रहेको प्लास्टिनीको अवस्था सार्वजनिक र गाजा क्षेत्रबाट इजरायली सेनालाई फिर्ता गर्नुपर्ने सर्त अगाडि सारेको छ ।

आइतबार (३१ मार्च) जेरुसेलममा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री नेतान्याहुले गाजापट्टीको राफाह क्षेत्रमा सैन्य कारबाही गर्ने योजनालाई स्वीकृत गरेको जानकारी दिए । राफाह क्षेत्रमा बन्धकहरुलाई राखिएको अनुमान गरिएको छ ।

उनले आफू बन्धकहरुलाई छुटाउन २४ घण्टा काम गरिरहेको दाबी गरे । ‘बन्धकहरूलाई फिर्ता गर्ने हाम्रो प्रयास सधैं जारी छ । बन्धक राखिएको ठाउँबारे गोप्य सूचना प्राप्त हुनसाथ उद्धार कार्य अगाडि बढाउन सेनालाई परिचालन गरिरहेको छु,’ प्रधानमन्त्रीको भनाई थियो,‘ मेरी श्रीमती सारासँगै बन्धकहरूको परिवारसँग फेरि भेटें । मेरी श्रीमतीले कतारका अमेरिकी आमा शेख मोजालाई पत्र पठाएकी छिन् । म अझै पनि उनको प्रतिक्रिया पर्खिरहेको छु ।’

बन्धकलाई रिहाई र युद्धविराम गर्न कतारले इजरायल र हमासबीच मध्यस्थता गरिरहेको छ । ‘हमासमाथिको सैन्य दबाब र वार्ताको संयोजनले नै आधा बन्धकहरु रिहाई भइसकेका छन्,’ उनले भने,‘ वार्ता टोली र मन्त्रिपरिषद्को साथमा म हाम्रा सबै बन्धकहरूलाई मुक्त गर्न चौबीसै घण्टा काम गरिरहेको छु । हमासमाथिको आवश्यक दबाब र वार्तामा सम्भव हुने लचकताबीच सन्तुलन कायम गरिरहेको छु ।’

उनले बन्धकहरूलाई फिर्ता गर्न गरिरहेको कामलाई नदेख्नु भ्रम भएको बताए । ‘मैले सबै गरिरहेको छैन भनी जसले भन्छ – त्यो गलत हो । अरूलाई भ्रमित गरिरहेको छ,’ उनले भने,‘सत्य यो हो कि जब इजरायलले वार्तामा लचकता देखाउछ, हमासले आफ्नो अडानलाई कडा बनाउँछ । हामी बन्धकलाई फिर्ता ल्याउन विवेकपूर्ण दृढताकासाथ अगाडि बढिरहेका छौं ।’

Published on: 2 April 2024 | Kantipur

Link

Back to list

;