s

विपन्न भन्छन्ः ‘रोगलेभन्दा अब भोकले मरिन्छ’

मिथिलेश यादव 

 

लहान - ज्याला मजदुरी गरी जीवन निर्वाह गरिरहेका औरही–५ का बिपतीया सदाय लकडाउनले काम नभएपछि उनलाई दुईछाक टार्न पनि धौधौ छ। यस्तै अर्का पात्र हुन बिन्दी पासवान। दैनिक मजदुरी गरेर छाक टार्दै आएका उनलाई अहिले छाक टार्न मुस्किल छ।

लकडाउनका कारण दैनिक ज्याला मजदुरी रोकिँदा उनको चुलो बन्द हुने अवस्था छ। ‘काम हुँदा दालभात खान समस्या थिएन,’ उनले भने, ‘अब त खानलाई केही छैन, कसैले पठाएको पनि छैन।’ उनी बसेको टोलमा कोही मजदुरले राहत पाएका छैनन्। ‘को सँग माग्न जाऊँ कसैले दिँदैन, हामीजस्ता गरिबलाई ऋण त झन् कसले पत्याउने?’ उनले भने,‘ भोकभोकै मर्छु जस्तो लाग्यो।’ 

सुखिपुर नगरपालिकाका रामबिलास मण्डल गाउँगाउँ डुलेर बरफ बेच्थे। साइकलको पछाडि आइसबक्स राखेर विभिन्न किसिमका बरफ बेचेर गुजारा चलाउँदै आएका मण्डल अहिले बेखर्चि भएका छन्। दिनभर बरफ बेचेको रकमबाट साँझ चामल दाल किनेर छाक टार्दै  आएका उनलाई लकडाउनका कारण छाक टार्न समस्या छ। साताअघि वडाबाट विवरण संकलन गरी गाउँपालिकामा पठाइसकिएको छ। तर, गाउँपालिकाले अझै राहत वितरण गरेको छैन्। 

सिराहा नगरपालिका– १६ का बद्री पासवान कृषी मजदुरका रुपमा  काम गर्दै आएका थिए। अहिले खेतमा काम गर्ने वातावरण नभएकाले उनको परिवार खाद्यान्न संकटसँग जुधिरहेका छन्। रोजगार खोसिएपछि उनको परिवारलाई छाक टार्न समस्या परेको छ। 

त्यही वडाका श्रवण मण्डलको पनि त्यही समस्या छ। दैनिक ज्यालादारीमा काम गर्दै आएका उनको परिवारलाई अहिले खाद्यान्न समस्याले आइपरेको छ। खाद्यान्न अभावले भोकभोकै बस्नुपर्ने समस्या छ। मजदुरी गरी खाने उनीहरु अहिले एक महिना बढी समयदेखि बन्दाबन्दीका कारण खाद्यान्न संकट भोग्दै छन्। 

सिरहा नगरपालिका १७ का रामनाथ यादव अर्काको खेतमा मजदुरी गरेर छाक टार्दै आएका थिए। लकडाउनका कारण रोजगारसँगै उनको गाँस पनि खोसिएको छ। अहिले कसैले दिए खाने नभए भोकभोकै बस्ने अवस्था छ। सात वर्षअघि उनको श्रीमती क्यानसरका कारण ज्यान गुमाइन। क्यानसर भन्दा पनि आर्थिक अभावले उपचार नपाएर उनले ज्यान गुमाएको रामनाथ बताउँछन्। ‘श्रीमती रोगले मृत्युवरण गरिन उनले भने, यस्तै अवस्था रहे मँ भोकभोकै मर्छु जस्तो लाग्यो। भोकभाकै कति दिनसम्म बाँच्न सक्छु र। राजगार नपाए चुलो बल्दैन।’ राहतका लागि वडा कार्यालयले साताअघि नै विवरण संकलन गरे पनि अझै राहत वितरण गरेको छैन्। 

स्थानीय तहको लापरवाहीका कारण भोकभोकै बस्नुपरेका सिरहाका यी त प्रतिनिधिमूलक पात्रहरू मात्र हुन्। सिराहा मात्र नभई प्रदेश २ का अधिकांश स्थानीय तहमा मजदुर, विपन्नहरु राहत पर्खेर बसेको महिना नाघिसक्यो। तर, स्थानीय तहहरु अझै विवरण संकलनमै अल्झेर बसेका छन्। जिल्लामा दैनिक ज्यालादारीमा काम गर्नेहरु लकडाउनबाट बढी प्रभावित छन्। सिरहाको नवराजपुर, भगवानपुर, नरहा, औरही गाउँपालिकाले अझै राहतको सुरसार गरेको छैन्। सिराहा नगरपालिकाको केहि वडाले सुरुवात गरेको छ।

सुखीपुर नगरपालिकाले राहत नदिएको भन्दै विपन्न समुदायले नगरपालिका कार्यालयमा ढुंगामुढा नै गरे। स्थानीयले राहत वितरण नगरेको भन्दै मेयरलाई राहत दिन राहत संकलन गर्यो। सुखीपुर नगर सुधार समितिका संयोजक रहेको बिपी भुवन यादवकाअनुसार यहाँका विपन्नहरु मेयरसँग राहत माग्दा भिख माग भनेर फर्काएका छन्। 

ढिलै गरी कल्याणपुर नगरपालिका, सखुवानन्कारकट्टी गाउँपालिका, लहान नगरपालिका, लक्ष्मीपुर पत्तारी गाउँपालिका, मिर्चैया नगरपालिका, कर्जन्हा नगरपालिका, धनगढीमाई नगरपालिकाले पहिलो चरणको राहत वितरण गरेको छ। 

औरही गाउँपालिकाका वडा अध्यक्षहरु साताअघि गाउँपालिकामा विवरण बुझाएका छन्। तर, गाउँपालिकाले अझै राहत वितरण सुरु गरेको छैन्। अध्यक्षको मनपरीका कारण यहाँका विपन्नहरु भोकभोकै बस्न बाध्य छन् वडा नम्बर ५ का अध्यक्ष दिलिप यादवले भने,‘यहाँ विकासदेखि राहतमा अध्यक्षको मनोमानी छ। वडा अध्यक्षहरुलाई किनारा गरेर मनपरी गर्दैछ। 

हामीले विवरण संकलन गरेर गाउँपालिकामा बुझाएपनि राहत सामग्री प्राप्त गरेका छैनौ वडा नम्बर २ का अध्यक्ष प्रमु साहले भने,‘राहत बाँडिन्छ बाँडिदैनमा अझै शंका छ। यस अघि बाढी पीडितको राहत नबाडिकनै कुहिएर गएको नजीर छ।’ 

वडा नम्बर ४ का अध्यक्ष उपेन्द्रप्रसाद यादवका अनुसार राहत वितरणमा ढिलाई हुनुमा गाउँपालिका अध्यक्ष करक हो। उहाँको मनपरीले जनता सास्ती भोग्न बाध्य बनिरहेको उनले बताए। 

गाउँपालिका अध्यक्ष सिद्धार्थ यादवले वडाबाट रितपूर्वक विवरण नपठाएको कारण राहत वितरणमा ढिलाई भएको छ। रित पूर्वक विवरण प्राप्त भएपछि राहत वितरण हुन्छ, उनले भने।

Published on: 3 May 2020 | Nagarik

Link

Back to list

;