s

बायोमेट्रिक टेस्टका नाममा करोडौंको चलखेल

लोकमणि राई

वैदेशिक रोजगारका लागि मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने केही व्यवसायीको 'प्रभाव' मा परी श्रम तथा रोजगार मन्त्रालयले बायोमेटि्रक स्वास्थ्य परीक्षणको तयारी गरिरहेको छ ।

स्वास्थ्य व्यवसायीलाई नियमन गरी वैदेशिक रोजगारी मा जाने कामदारलाई उनीहरूले जारी गर्ने निरोगिताको प्रमाणपत्र विश्वसनीय बनाउनुको सट्टा मन्त्रालयले बायोमेटि्रक स्वास्थ्य परीक्षणको तयारी गरेको हो । सरकारी मान्यताप्राप्त मेडिकलहरूले गलत निरोगिताको प्रमाणपत्र बनाएको र त्यसलाई मलेसिया सरकारले विश्वास गर्न नसकेको बहानामा मन्त्रालय स्तरमै यस्तो तयारी भइरहेको छ । बायोमेटि्रक स्वास्थ्य परीक्षण जस्ताको तस्तै कार्यान्वयनमा आए हरेक वर्ष करोडौं रुपैयाँ मलेसिया पुग्ने मात्र होइन नेपालको स्वास्थ्य क्षेत्रको विश्वसनीयता अन्तर्राष्ट्रिय रूपमै गुम्ने छ ।

तयारी भइरहेको बायोमेटि्रक स्वास्थ्य परीक्षणले मान्यता पाए त्यसको तथ्यांक मलेसियाको एउटा निजी कम्पनीले मात्र अनलाइनमा हेर्न मिल्छ । वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने नेपालका स्वास्थ्य संस्थाहरूले त्यसका लागि आवश्यक पर्ने सफ्टवेयर, वेब क्यामेरा, स्क्यानर, पि्रन्टर, एन्टिभाइरसलगायत सामग्रीबापत ८ हजार अमेरिकी डलर -करिब ७ लाख ८८ हजार रुपैयाँ) खर्चिनुपर्छ । त्यस हिसाबले सञ्चालनमा रहेका ३ सय ५ मेडिकलले २४ करोड ४ लाख रुपैयाँभन्दा बढी खर्च गर्नुपर्ने छ।

त्यस्तै मलेसिया जाने हरेक कामदारले बायोमेटि्रक स्वास्थ्य परीक्षणबापत मलेसियाको कम्पनीलाई अनिवार्य रूपमा १५ अमेरिकी डलर -करिब १ हजार ४ सय ७८ रुपैयाँ) बुझाउनुपर्ने छ । सरकारी तथ्यांकअनुसार वाषिर्क करिब डेढ लाख कामदार मलेसिया जाने गरेका छन् । त्यस हिसाबले कामदारबापत मात्र वाषिर्क २२ करोड १७ लाख रुपैयाँभन्दा बढी रकम मलेसिया पुग्छ । 

मन्त्रालयले यस्तो तयारी गरेपछि वैदेशिक रोजगार व्यवसायी संघ र नेपाल वैदेशिक रोजगार मेडिकल एसोसियसनले लिखत रूपमा त्यसको विरोध गरेका छन् । संघ र एसोसियसन दुवैले श्रम सचिव सुरेशमान श्रेष्ठलाई 'बायोमेटि्रक स्वास्थ्य परीक्षणका नाममा ठगी हुन लागेको' भन्दै ज्ञापनपत्र बुझाएका छन् । 'यो ठगीको अर्को रूप हो,' संघका अध्यक्ष बलबहादुर तामाङले भने ।

मलेसियाको बेस्टिनेट एसडिएन बीएचडी नामक कम्पनीले सफ्टवेयर बेच्ने तय भएको छ । उक्त कम्पनीले करिब १ महिनाअघि अन्नपूर्ण होटलमा आयोजित कार्यक्रममा उच्च सरकारी अधिकारीकै उपस्थितिमा नेपालका स्वास्थ्य संस्थाले दिने निरोगिताको प्रमाणपत्रको खिल्ली उडाएको थियो । सफ्टवेयर तथा प्रविधि कम्पनी भनेर आफूलाई चिनाउने उक्त कम्पनीको आफ्नो वेबसाइटसमेत छैन ।

मन्त्रालय भने स्वास्थ्य संस्था व्यवस्थित गरी तिनीहरूलाई विश्वसनीय बनाउनुको सट्टा मलेसिया 'सरकारको निर्णय' भन्दै बायोमेटि्रक स्वास्थ्य परीक्षणको पक्षमा देखिएको छ । 'मलेसियामा कामदार पठाउने हो भने त्यहाँको कानुन मान्नैपर्छ,' मन्त्रालयका सचिव श्रेष्ठले भने, 'एक पटक लगानी गर्दा कामदारलाई व्यवस्थित गर्न सकिन्छ र कामदार गलत स्वास्थ्य परीक्षण प्रतिवेदनका कारण फर्किनुपर्दैन भने किन लगानी नगर्ने ?'

एसोसियसनका अध्यक्ष खड्गबहादुर श्रेष्ठले 'केही व्यवसायीको चलखेलमा सफ्टवेयर र बायोमेटि्रक स्वास्थ्य परीक्षण' गर्न खोजिएको बताए । 'एउटा सफ्टवेयरलाई २० करोडभन्दा बढी पर्छ भन्नु हावादारी कुरा हो,' उनले भने, 'मलेसिया सरकारले नै बायोमेटि्रक स्वास्थ्य परीक्षणको माध्यमबाट विदेशी कामदार व्यवस्थापन गर्न लागेको हो । त्यसका लागि चाहिने सफ्टवेयर र उपकरणका लागि हामीले किन पैसा तिर्ने ?'

सफ्टवेयर बनाउने भनिएको बेस्टिनेट एसडिएन बीएचडी नामक कम्पनीलाई मलेसिया सरकारले विदेशी कामदारसम्बन्धी सूचना केन्द्रीकृत गरी व्यवस्थापन गर्न जिम्मा दिएको बताइएको छ । त्यससम्बन्धी आधिकारिक कागजात कसैसँग छैन ।

मलेसियाले पनि बायोमेटि्रक स्वास्थ्य परीक्षणबारे मन्त्रालयलाई आजसम्म जानकारी गराएको छैन । त्यसका बाबजुद मन्त्रालय बायोमेटि्रक स्वास्थ्य परीक्षणप्रति मन्त्रालयको लगाव बुझिनसक्नु रहेको व्यवसायीहरू टिप्पणी गर्छन् । 'हामीले बेस्टिनेट कम्पनी र मलेसिया सरकारले गरेको व्यवस्थाबारे बुझ्न त्यहाँ भएको हाम्रो दूतावासलाई पत्र पठाएका छौं,' सचिव श्रेष्ठले भने, 'जवाफ आइसकेको छैन ।'

के हो बायोमेटि्रक ?

आँखाको रेटिना र औंलाको छापबाट स्वास्थ्य परीक्षण गरिएको व्यक्ति असली वा नक्कली भएको चिन्ने विधि बायोमेटि्रक हो । स्वास्थ्य परीक्षण गर्ने व्यक्तिको औंला छापा र रेटिना मलेसियाको कम्पनीलाई उपलब्ध गराएपछि एउटा व्यक्तिको स्वास्थ्य परीक्षण प्रमाणपत्र प्रयोग गरेर अर्को व्यक्ति जान सक्दैन।

Published on: 16 August 2013 | Kantipur

Back to list

;