s

बायोमेट्रिक मेडिकल पनि फेल

नेपालगन्जका अंकित गौतमको मेडिकल रिपोर्टको म्याद अंग्रेजी नयाँ वर्षकै दिन बुधबार सकिँदैछ । उनी त्यसको भोलिपल्ट नेपाल फर्काइँदै छन् । फर्काइनुका कारण मलेसियाका काम गर्न स्वास्थ्यका दृष्टिकोणले उनी अयोग्य हुनु हो ।

शत प्रतिशत कामदार फर्किनु नपर्ने विश्वासमा अविचल ओभरसिजले चक्रपथस्थित समानान्तर पोलिक्लिनिकबाट उनको बायोमेटि्रक प्रणालीयुक्त मेडिकल रिपोर्ट बनाएको थियो । तर मलेसियामा फामेमा नामक संस्थाले गत मंसिर २८ मा पुनः स्वास्थ्य परीक्षण गरेर उनलाई अयोग्य घोषित गरिदिएपछि उनी विचल्लीमा परेका हुन् । फोमेमाले गरेको स्वास्थ्य परीक्षण प्रमाणपत्रमा 'अयोग्य, कृपया थप कारबाहीका लागि अध्यागमन जान' उल्लेख छ ।

'अंकित गौतम हाम्रो कम्पनीबाट बायोमेट्रिक युक्त मेडिकल गरेरै गएका हुन्,' अविचलका सञ्चालक उत्तम प्रधानले भने, 'तर त्यहाँ (मलेसिया) कसरी मेडिकल फेल भयो भन्ने थाहा हुन सकेन । के भएको हो खोजी गरिरहेका छौं ।' बायोमेट्रिक प्रणालीयुक्त मेडिकल रिपोर्ट बनाएर गएका कामदार स्वास्थ्यकै कारण फर्किनु नपर्ने दाबी गर्दै महासंघले ३८ मेडिकलमा यो पूर्ण रूपमा लागू गर्ने प्रयत्न गरिरहेको छ । बायोमेटि्रक प्रणालीलाई सरकारले स्वीकृति दिएको छैन । त्यसबारे सरकारले करिब ६ महिनाअघि पठाएको जिज्ञासा र सर्तमा पनि मलेसियाले कुनै जवाफ दिएको छैन । त्यसका बाबजुद केही मेडिकलले बायोमेट्रिक प्रणाली परीक्षण गरिरहेका छन् । त्यसमा समानान्तरसहित एसियन, मेरेडियन, मञ्जुश्री, पब्लिक हेल्थ र कसमसलगायत छन् । यी मेडिकलमा पछिल्लो समय नेपाल वैदेशिक रोजगार संघका अध्यक्ष हंसराज वाग्लेको म्यानपावरक कम्पनी पाथिभरा ओभरसिजले कामदारलाई स्वास्थ्य परीक्षण गर्न पठाइरहेको छ ।

संघले औपचारिक रूपमै बायामेटि्रक प्रणालीयुक्त मेडिकल रिपोर्ट विरोध गरेको थियो । 'मेडिकल सञ्चालक आफ्नै साथीहरू भएकाले मैले कामदारलाई स्वास्थ्य परीक्षण गर्न पठाएको हुँ,' अध्यक्ष वाग्लेको दाबी छ, 'उहाँहरूले बायोमेट्रिक प्रणालीयुक्त मेडिकल रिपोर्ट बनाएको मलाई जानकारी छैन । मलाई बायोमेट्रिक प्रणालीयुक्त मेडिकल रिपोर्ट पनि दिइएको छैन । उहाँहरूले सोझै मलेसिया पठाएको भए अर्को कुरा हो ।'

उनले बायोमेटि्रक प्रणाली कामदारका लागि उपयुक्त नभएको संघको अडान जारी रहेको बताए । 'साथीहरूले बायामेटि्रक प्रणालीयुक्त मेडिकल रिपोर्ट बनाए पनि हरेक १० जनामा ३ जना कामदार स्वास्थ्यकै कारण विदेशबाट फर्किएको भेटियो,' उनले भने, 'त्यसपछि बायोमेट्रिक प्रणालीयुक्त मेडिकल रिपोर्टको गुणस्तरमा प्रश्न गर्दै हामीले त्यसको विरोध गरेका हौं ।'

Published on: 29 December 2014 | Kantipur 

Back to list

;