s

बायोमेट्रिक जाँच गर्ने एक लाखभन्दा बढी श्रम स्वीकृति लिने अठार सय मात्र

काठमाडौँ, कात्तिक २० गते । वैदेशिक रोजगार विभागले रोजगारीका लागि मलेसिया जाने श्रमिकसँग बायोमेट्रिक (स्वास्थ्य परीक्षण) र जीएसजी नगर्न वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीलाई निर्देशन दिएको छ ।

विभागले मलेसियामा श्रमिक पठाउन वैदेशिक रोजगार कार्यालय, ताहाचलबाट एक हजार ८०० श्रमिकको मात्रै पूर्वस्वीकृति लिएको तर एक लाखभन्दा धेरै श्रमिकको स्वास्थ्य परीक्षण र इमिग्रेसन सेक्युरिटी क्लियरेन्स (जीएसजी) गरेको पाइएको भन्दै श्रमिक छनोट प्रक्रिया पूरा गर्न म्यानपावरलाई निर्देशन दिएको हो ।

विभागका अनुसार रोजगारीका लागि मलेसिया जाने श्रमिकको बायोमेडिकल स्वास्थ्य परीक्षण गर्दा चार हजार ५०० र जीएसजी गर्दा तीन हजार २०० गरी सात हजार ७०० खर्च लाग्छ । जुन रकम श्रमिकले मलेसिया पुगेर काम गर्न सुरु गरेपछि पहिलो महिनाको तलबसँगै रोजगारदाताले उपलब्ध गराउने छन् ।

विभागले रोजगारीको ग्यारेन्टी नभई अग्रिम आफूखुसी तथा म्यानपावरमार्फत मिलेर बायोमेडिकल स्वास्थ्य परीक्षण र जीएसजी गर्नेहरूको सङ्ख्या बढेपछि सूचनामार्फत सचेत जनाएको छ ।

श्रमिक पठाउनका लागि विभागबाट पूर्वस्वीकृति लिएर विज्ञापन जारी गरी श्रमिक छनोट गरेर मात्र उनीहरूको स्वास्थ्य परीक्षण र इमिग्रेसन सेक्युरिटी क्लियरेन्स (जीएसजी) गर्नुपर्ने भन्दै विभागले म्यानपावरको ध्यानाकर्षण गराएको छ ।

श्रमिक छनोट प्रक्रिया पूरा नगरी यस्तो कार्य गरेको र श्रमिकबाट ठूलो रकम लिएको सूचना प्राप्त भएको भन्दै विभागले त्यसो गरेको भए ससम्मान रकम फिर्ता गर्न पनि निर्देशन दिएको छ ।

साथै, छनोट प्रक्रिया पूरा नभई बायोमेट्रिक र जीएसजीलगायत कुनै पनि प्रक्रियामा सहभागी नहुन सबैलाई विभागले अनुरोध गरेको छ । यस्तै, पूर्वस्वीकृति लिई श्रमिक छनोट प्रक्रिया पूरा गरिसकेका व्यवसायीलाई भने आईएससी र बायोमेट्रिकका लागि श्रमिक पठाउँदा पत्र र लट नम्बरसहित पठाउन समेत निर्देशन दिएको छ ।

विभागले रोजगारीका लागि मलेसिया जाने श्रमिकको पूर्वस्वीकृतिबमोजिम छनोट भई प्रक्रिया पूरा नहुँदै कुनै पनि व्यक्तिले मेडिकल र जीएसजीका नाममा रकम उठाउन नपाउने भएकाले ती दुवै प्रक्रियामा सहभागी नहुन समेत रोजगार आकाङ्क्षी श्रमिकलाई आग्रह गरेको छ ।

Published on: 6 November 2019 | Gorkhapatra

Link

Back to list

;