s

बिना तलब कामबाट निकालिए नेपाली, खुला आकासमा बास

पुष्कर भण्डारी

 

डडेल्धुरा- कोरोना भाइरस (कोभिड–१९) त्रासका बीच भारतमा ठूलो संख्यामा नेपालीहरु होटेलबाट निकालिएका छन्। प्रधानमन्त्री नरेन्द्र मोदिको गृह जिल्ला भारतको गुजरातमा पर्ने राजकोट सहरका बिभिन्न ठाउँमा एक सय भन्दा बढी नेपालीहरु होटेलको कामबाट निकालिएका हुन्। 

कोरोना भाइरसका कारण पूरै भारत लकडाउन गरिएका बेला तलब नै नदिई त्यहाँका होटेल मालिकहरुले कामबाट निकालिदिएपछि एक सय भन्दा बढी नेपालीहरु आफ्नो सम्पर्कमा आएको राजकोटमै रहेका डडेल्धुराका सन्दिप बोगटीले जानकारी दिए। अलपत्र परेका मध्ये धेरै जसो भारतमा जनता कफ्र्यू लगाईएको अघिल्लो दिन कामबाट निकालिएको उनले बताए। 

कोरोनाको कारण देखाउँदै होटेल बन्द गरेर आफूलाई कामबाट निकालेको र तलब पनि नदिएको बोगटी मार्फत सम्पर्कमा आएका राजकोटस्थित एक होटलमा काम गर्ने डडेल्धुराको अमरगढी नगरपालिका ४ सुनेडाका तीर्थबहादुर बिष्टले गुनासो गरे। होटेलबाट निकालिए्सँगै उनीहरुको एक हप्तादेखि खुला आकाशमुनीको बास भएको छ। बिभिन्न स्थानमा फरक–फरक समूहमा उनीहरु खुला ठाउँमा दिनरात काटिरहेका छन्। 

लकडाउन भएका बेला खुला ठाउँमा देखेपछि त्यहाँको प्रहरीले समेत उनीहरुलाई लखेटिरहेको छ। प्रहरीले एक ठाउँबाट लखेटेपछि उनीहरु नयाँ नयाँ ठाउँमा सर्दै दिनरात काटिरहेका छन्। “बाहिर खुला ठाउँमा दिनरात काट्नु पर्ने अवस्था छ, तर त्यहाँ पनि प्रहरीले बस्न दिदैन्। प्रहरीले लखेट्ने गरेको छ।”, अर्का पीडित केशव बिष्टले दुःख पोखे। 

तलब नै नदिएपछि किनेर खानलाई गोजीमा पैसा पनि नभएको र होटेल र पसलहरु समेत बन्द गरिएको हुँदा आफूहरु खान, बस्न नपाउँदा निकै समस्यामा रहेको अर्का पीडित धर्म साउँदले बताए।  

राजकोट सहरमा बिभिन्न समूहमा फरक–फरक ठाउँमा ठूलो संख्यामा नेपालीहरु अलपत्र परेको जानकारी दिँदै खान बस्न समेत समस्या भएको हुँदा उद्वार गरि दिन नेपाल सरकारका साथै सुदूरपश्चिम प्रदेश सरकारलाई समेत उनीहरुले गुहार मागेका छन्। उनीहरुले भारतमै काम गरेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आफूहरुको समस्या बुझ्न सक्ने भन्दै उद्वारको आशा गरेका छन्।

Published on: 29 March 2020 | Nagarik

Link

Back to list

;