s

विनाप्रमाणका उजुरीले व्यवसायी हैरान

वैदेशिक रोजगारमा गई कारण विना नै घर फर्किएर ठगिएको भन्दै वैदेशिक रोजगार विभागमा दर्ता गरिएका उजुरीका कारण म्यानपावर कम्पनीहरु पीडित हुने गरेको पाइएका छन् । विभागले ठगिएको वा ठगी भएको देखिने प्रष्ट प्रमाण नभए पनि उजुरी दर्ता गर्ने गर्दा म्यानपावर कम्पनी समस्यामा परिरहेको वैदेशिक रोजगार व्यवसायीहरु बताउँछन् ।
 
विभाग वरिपरि रहेका लेखापढी व्यवसायीहरुले हतारहतारमा उजुरी लेखिदिने र विभागले कामदार पक्षीय दृष्टिकोण राखी सहानुभुतिपूर्वक उजुरी दर्ता गरिदिने गरेका कारण ठगिएको दाबी गर्ने कामदार थप वार्गेनिड गर्ने अवस्थामा पुग्ने मात्र होइन त्यसैका कारण म्यानपावर कम्पनीहरुको कारोबार नै रोक्का हुने गरेको छ ।
 
तीन वर्षे भीषा लिएर रोजगारीका लागि मलेसिया गएका एक कामदार दुई वर्ष काम गरी सकेपछि तेश्रो वर्षको भीषा नवीकरण गर्ने अवस्थामा मेडिकल फेल भएपछि केही दिन अघि नेपाल फर्केर क्षतिपूर्ति पाउँ भन्दै विभागमा आइ उजुरी दर्ता गराए । उनले उजुरी मात्र दिएनन् सरकार निकट साँसदहरुको शक्ति लगाएर म्यानपावर कम्पनी नै रोक्का गर्न विभागका अधिकारीहरुलाई दबाब दिए । पछिल्ला दिनमा विभागले उजुरीकर्ता र व्यवसायीलाई राखेर छलफल गराई मेलमिलाप गराइदिने गरेको छ । फ्रि भीषा फ्रि टिकटको व्यवस्था भएपनि विभागमा हुने छलफलपछि कामदारलाई भएको वास्तविक क्षति असुल उपर गराइ मेलमिलाप गराइदिने गरेको छ । जसका कारण हाल विभागमा म्यानपावर कम्पनीविरुद्ध उजुरी बढ्ने गरेको व्यवसायीहरुको भनाइ छ ।
 
मलेसिया मात्र होइन कतार र यूएई गएका कतिपय कामदारले त्यहाँ गएर ‘होमसिक’ भई वा अन्य कारणबाट फर्कने र नेपाल आएपछि कम्पनीले करार अनुसार काम र तलब दिएन भनी विभागमा उजुरी दिएर पुनः अर्को देशमा वैदेशिक रोजगारीमा जाने गरेका छन् । कतिपय विदेशमै वेपत्ता भएका छन् । विभागमा संस्थागत अर्थात म्यानपावर कम्पनीविरुद्ध मुद्दा परेपछि विभागले म्यानपावर कम्पनीलाई ७ दिन भित्र उपस्थित हुन पत्र काट्ने गरेको छ ।
 
उक्त सात दिनमा म्यानपावर सञ्चालक हाजिर नभए पुनः ३ दिन र तीन दिनमा पनि उपस्थित नभए विभागले २४ घण्टे पुर्जी काट्ने गरेको छ । उजुरीकर्ता विभागमा नआएपछि म्यानपावरको कारोबार रोक्का राख्ने गरिएको छ । लिखित उजुरी परेपछि म्यानपावर कम्पनीको कारोबार रोक्का हुने गरेको छ । तर उजुरीकर्ता नआएपनि म्यानपावर कम्पनीको कारोबार फुकुवा हुँदैनन् । यही विकृतिलाई अन्त्य गर्न विभागले यसै महिनादेखि उजुरी लिने नयाँ शैली अपनाई मुद्दा जित्ने पक्का प्रमाण भएका पीडितहरुको मात्र उजुरी दर्ता गर्न पाउने व्यवस्था गर्न थालेको बताएको छ ।
 
Published on: 19 July 2018 | Madhyanha

Back to list

;