s

विमानस्थलमा राखिएको श्रम डेस्क हट्यो, छुट्टै लाइन बस्नु नपर्ने

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राखेको श्रम डेस्क हटाएको छ । श्रम डेस्कमा सहीछाप लगाउने नाममा वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दुःख दिइएको गुनासो आएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले विमानस्थलमा राखिएको श्रम डेस्क हटाउने निर्णय गरेका हुन् । 

मन्त्री श्रेष्ठसहित मन्त्रालयका अधिकारीहरू बुधबार अन्तर्राष्ट्रिय विमानस्थलमा गई श्रम डेस्क हटाइएका हुन् । अनलाइन सूचना प्रणाली आइसकेको अवस्थामा विमानस्थलमा श्रम डेस्क आवश्यक नभएको श्रेष्ठको भनाइ छ । सहसचिव प्रमुख रहेको वैदेशिक रोजगार कार्यालयबाट श्रम स्वीकृति दिएपछि पनि श्रम डेस्कले श्रम स्वीकृति प्रक्रियामाथि छानबिन गर्ने नाममा श्रमिकलाई दुःख दिएको गुनासो आएको थियो । विमानस्थलमा श्रमिकहरूको समस्यालाई समाधान गर्दै जाने प्रतिबद्धता श्रेष्ठको छ । 

श्रमिकको प्रस्थानलाई छिटोछरितो बनाउन तीनवटै द्वारबाट प्रवेश पाउने विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले बताए । मन्त्री श्रेष्ठले विमानस्थलमा राखिएको कोरोना भाइरसको पिसिआर परीक्षण जाँच गर्ने प्रक्रिया पनि हटाउन स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालाई आग्रह गरे । 

यसअघि वैदेशिक रोजगारीमा जाने र बिदामा आएका श्रमिक अनिवार्य रूपमा श्रम डेस्कमा गई डेस्कले सहीछाप लगाइदिएपछि मात्रै बोर्डिङ गर्ने प्रक्रिया अगाडि बढाइन्थ्यो । अब श्रमिकले श्रम डेस्क नगई जुनसुकै गेटबाट पनि विमानस्थलमा प्रवेश पाउनेछन् ।

विमानस्थलमा वैदेशिक रोजगार विभागले सूचना केन्द्र भने स्थापना गर्ने भएको छ। केन्द्रले समस्यामा परेका श्रमिकको सहजीकरणका लागि काम गर्नेछ।

Published on: 10 March 2022 | Nayapatrika

Link

Back to list

;