s

विमानस्थलमा खुल्यो वैदेशिक रोजगार सहायता कक्ष

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमनतर्फको भागमा वैदेशिक रोजगार सहायता कक्ष खुलेको छ । श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्टको पहलमा विदेशबाट घाइते, मानसिक असुन्तुलन तथा अपांग भएर फर्किएकाहरुलाई सहयोग गर्ने गरी यो कक्ष सञ्चालनमा आएको हो ।
 
वैदेशिक रोजगार प्रवर्द्धन बोर्डका अनुसार वैदेशिक रोजगारमा गएर फर्किएका गुनासा र समस्या पनि कक्षबाट सुनुवाइ गरिनेछ । विदेशबाट आउने कामदारको शव बुझ्ने र व्यवस्थापन गर्न पनि कक्षले सघाउनेछ ।
 
यहाँ आइपुगेका बिरामी तथा घाइते कामदारलाई निःशुल्क रुपमा अस्पतालसम्म पुर्‍याउने व्यवस्था पनि गरिनेछ । शवबाहनको सुविधा पनि दूररीअनुसार निःशुल्क गरिने बोर्डले जनाएको छ ।
 
शब कुर्ने आफन्त तथा साथीभाइलाई यहाँ राखेर परामर्श पनि गरिनेछ । अहिलेसम्म खुला रुपमा शब बुझ्दा विमानस्थलभित्र दैनिक रुपमा भीड र होहल्ला तथा रुवाबासी हुने र त्यसले आफन्तहरुलाई थप पीडा सिर्जना हुने अवस्था थियो ।
 
अब सहायता कक्षले नै शव आएपछि व्यवस्थापन गरेर परिवारको जिम्मा लगाउनेछ । कक्षमै आफन्तले श्रद्धाञ्जली र समवेदना प्रकट गर्न सक्नेछन् ।
 
Published on: 6 May 2018 | Onlinekhabar

Back to list

;