s

विमानस्थलमा गरिएको कडाईबारे के भन्छन् खाडीका नेपाली?

रामकुमार परियार 

सरकारले वैदेशिक रोजगारीबाट फर्किएकाले साथमा ल्याउने सामाग्रीहरु धमाधम जफत गर्न थालेपछि यसको सर्वत्र विरोध हुन थालेको छ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले कडाईका साथ लागू गरेको झिटीगुन्टा आदेशले वैदेशिक रोजगारीबाट फर्किने नेपालीलाई अन्याय गरेको भन्दै प्रवासमा कार्यरत नेपालीले असन्तुष्टी पोखेका हुन्।

सरकारले अहिले झिटिगुन्टा आदेशको पालना नगरी ल्याईएका सामाग्री विमानस्थलमा जफत गरिरहेको छ। गएको जनवरी १ देखि त्रिभुवन अन्तर्राष्ट्रिय  विमानस्थलस्थित भन्सार कार्यालयले वैदेशिक रोजगारबाट फर्किएकाले ल्याउने सामाग्रीमा कडाई गरेको हो।

सरकारको यो कदमबाट प्रवासमा दुःख गरेर घर फर्किनेलाई अन्याय भएको भन्दै खाडीमा कार्यरत नेपालीले विरोध गरिरहेका छन्। यस विषयमा गैर आवसीय नेपाली संघ ओमनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अकस्मात अनावश्यक कडाई गरिएकोले वैदेशिक रोजगारीमा रहेका नेपाली बीच आतंक श्रृजना गरेको उल्लेख गर्दै आईसीसी अध्यक्ष भवन भट्टलाई ध्यानाकर्षण गराएको छ।

त्यस्तै अन्तराष्ट्रिय नेपाली समुदाय एनसीसी युएईलेसमेत यस विषयमा नेपाल सरकारको ध्यानाकर्षण गराएको छ। गत सोमबार नेपाली दूतावास अबुधाबीमार्फत प्रधानमन्त्रीलाई पठाईएको ध्यानाकर्षण पत्रमा घरायसी र निजी प्रयोजनका लागि वैदेशिक रोजगारीमा रहेका मजदुरले लैजाने सामाग्री जफत गर्नु अन्यायपूर्ण रहेको भन्दै यो नीतिलाई तत्काल परिवर्तन गरि पूर्ववत व्यवस्था नियमित गर्न अनुरोध गरिएको छ।

यसैगरी नेपाली जनसम्पर्क समिति युएईले एक विज्ञप्ति निकाल्दै प्रवासमा मजदुरले गाँस काटेर जोडेको सामाग्रीहरु विमानस्थलमा जफत गर्नु दुःखद् रहेको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ। नेपाली जनसम्पर्क समिति युएईका सभापति खेमराज बस्नेतद्वारा हस्ताक्षरित विज्ञप्तिमा सरकारले अप्रत्याशित रुपमा लागू गरेको झिटिगुन्टा आदेशले रेमिट्यान्समार्फत मुलुकको अर्थतन्त्रमा उल्लेखनीय योगदान पुर्‍याईरहेका श्रमजीवीको आर्थिक नोक्सानी हुने मात्रै नभई उनीहरुको भावनामा ठेस पुगेको उल्लेख गरिएको छ।

भन्सारमा गरिएको कडाईका विषयमा गैर आवासीय नेपाली संघ आईसीसीले पनि मुख खोलेको छ। प्रवक्ता भूषण घिमिरेद्वारा जारी विज्ञप्तिमा वैदेशिक रोजगारीबाट फर्किनेलाई विमानस्थल भन्सारमा गरिने कडाई कम गर्न आग्रह गरिएको छ। विज्ञप्तिमा लाखौं नेपालीले रगत पसिना बगाएर खरिद गरेका सामान तथा उपहार जफत गर्दा सम्बन्धित व्यक्तिको आर्थिक क्षति हुने मात्रै नभई भावनामा समेत ठेस पुगेको उल्लेख गरिएको छ।

यसलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसार समय सापेक्ष बनाउनुपर्ने तथा नयाँ नियम लागू गर्दा ६ महिना अगाडि नै सार्वजनिक सूचना दिई कष्टमुक्त बनाउनुपर्ने विज्ञप्तिमा उल्लेख छ।

केही परदेशीका भनाई जस्ताको त्यस्तै

लामो समयदेखि युएईमा बैंकिङ क्षेत्रमा कार्यरत गायक प्रकाश पौडेल भन्छन्, ‘श्रमिकले बिदामा घर फर्किंदा ल्याउने सामान डाका शैलीमा जफत गर्नु दुर्भाग्यपूर्ण छ। सरकारले नेपालीले आफ्नै देशमा किन्छन्, पैसा बाहिरिदैन भन्ने ध्येयले यो नियम लागू गरेको होला तर देशमा किन्ने वातावरण बनाईदिनु पर्‍यो नि! विमानस्थलमा डिउटी फ्री पसल हुनुपर्‍यो।”

पौडेलले वैदेशिक रोजगारीबाट फर्किनेलाई सरकारले सहुलियत दिनुपर्ने पनि बताए। त्यस्तै युवा व्यवसायी जिवन दास भन्छन्, ‘विमानस्थलमा गरिएको कडाईले तस्करी, अनियमितता र भ्रष्टाचार नियन्त्रण हुनुको साटो गरिब जनताको पसिना अपमान भएको छ।’उनले रेमिट्यान्सले धानेको देशमा त्यही रेमिट्यान्सको श्रोतमाथि सरकारले प्रहार गरेको बताए। यसलाई तुरुन्तै सच्याएर सहज बनाउन उनले आग्रह गरेका छन्।

ईजरालबाट अन्सु थापा भन्छिन्, ‘कानुन मान्नुपर्छ यो हरेक नागरिकको दायित्व हो। तर, सेटिङमा किलोका किलो सुन छिराउन मिल्ने विमानस्थलमा मजदुरले घरायसी प्रयोजनका लागि ल्याउने डेढ लिटर रक्सी र दुई थान मोबाईल जफत गर्नु दुखद् हो। यो नियमलाई पुनर्विचार गर्नैपर्छ।’

यस्तै युएईमा हुने सामाजिक गतिविधिमा सक्रिय युवा निश्चल दाहाल भन्छन्, ‘विमानस्थलमा सामान जफत गरिनु लुटतन्त्र हो। सरकारले कडाइ गर्न पाउँछ र गर्न जरूरि छ पनि तर, कुन अवस्थामा कानुन लगाउने त? बिकल्प दिन सक्दैन सरकारले भने मानिसको स्वतन्त्रता छिन्न पनि हुँदैन।’

Published on: 17 February 2019 । Setopati

Back to list

;