s

'विलासी माग' का लागि मजदुर आन्दोलन

प्रताप विष्ट

सरकारले तोकेको न्यूनतम पारिश्रमिकभन्दा 'निक्कै बढी पाउँदै' आएका बहुराष्ट्रिय कम्पनी युनिलिभरका मजदुर कर्मचारीले थप रकम र सुविधा माग राख्दै दुई दिनदेखि उद्योग बन्द गराएका छन् ।

यसले सरकारले विप्पा सम्झौता गरी भारतीय लगानी लोभ्याउने र चिनियाँ लगानीकर्तालाई आकषिर्त गर्ने प्रयास गरिरहेका बेला अन्तर्राष्ट्रिय समुदायमा नराम्रो सन्देश गएको छ । माओवादी सरकार आफ्नै पालामा एक वर्षमा ७० अर्ब रुपैयाँको वैदेशिक लागनी भित्र्याएर आफूलाई सक्षम सरकार सावित गराउन खोजिरहेकोछ । अर्कोतर्फ त्यही पार्टीका मजदुर युनियन (एमालेसमेत) बहुराष्ट्रिय कम्पनीमा ताला लगाएर आन्दोलमा उत्रिएको छ । माओवादीको उपाध्यक्ष समेत रहेका प्रधानमन्त्री बाबुराम भट्टराई यतिखेर लगानी वर्ष नै घोषणा गरी विदेशीलाई आकषिर्त गर्न खोजिरहेको बताइरहेका छन् ।

युनिलिभर व्यवस्थापनका अनुसार कम्पनीले प्रायः सबै स्तरका मजदुर कर्मचारीलाई सरकारले राजपत्रांकित प्रथम श्रेणीका कर्मचारी  (सचिव) लाई दिने पारिश्रमिकभन्दा बढी रकम दिइरहेको छ । उसले सन् २००९ यता मजदुरको तलब ६९ प्रतिशतले वृद्धि भइसकेकाले थप बढाउन उद्योगको क्षमताले नभ्याउने जनाउँदै आएको छ ।

तर मजदुरले भने पारिश्रमिक न्यूनतम २१ हजार रुपैयाँ हुनुपर्ने लगायत माग राखेर आन्दोलन गर्दै उद्योग बन्द गराएका ह्न् । उनीहरूले हालको पारिश्रमिकमा ५० प्रतिशत वृद्धि गर्नुपर्ने, १० लाख रुपैयाँ निब्र्याजी घरकर्जा उपलब्ध गराउनुपर्ने र घर मर्मतबापत वाषिर्क १ लाख रुपैयाँ दिइनुपर्ने माग राखेका छन् । एक सय १५ मजदुर कर्मचारी कार्यरत उद्योगले यी माग पूरा गर्नेतर्फ लागे बन्द नै गर्नुपर्ने अवस्था आउने व्यवस्थापन प्रतिनिधिको गुनासो छ ।

मजदुरले आइतबारदेखि उद्योग बन्द गरेर मूल गेटमा धर्ना दिइरहेका छन् । उनीहरू श्रम ऐनअनुसार पुर्‍याउनुपर्ने सम्पूर्ण प्रक्रिया पूरा गरेर आन्दोलनमा उत्रिएको दाबी गर्छन् । उद्योगका मजदुर जंगबहादुर विश्वकर्माले उद्योग व्यवस्थापनसँग पटक/पटक वार्तामा बस्दा पनि माग पूरा नगरेकाले बाध्य भएर आन्दोलनमा उत्रनुपरेको बताए । 'व्यवस्थापनसँग २० पटक वार्ता भए पनि सहमति नबनेकाले आन्दोलन गर्नुपरेको हो,' उनले भने ।

मजदुरले राखेका माग पूरा गर्न कठिनाइ हुने व्यवस्थापनका एक अधिकारी बताउँछन् ।  छिट्टै सहमतिमा पुगेर उद्योग सुचारु हुन नसके यो उद्योग पनि कोल्गेट र भिनायलको बाटोमा पुग्ने राजनीतिक दलका स्थानीय नेताको ठम्याइ छ । 'मजदुरले बेलैमा बुद्धि नपुर्‍याए युनिलिभर पनि सधैंका निम्ति बन्द हुन सक्छ,' एक नेताले भने । मजदुर आन्दोलनकै कारण भारतीय लगानीको सूर्य गार्मेन्टस् सधैंका लागि बन्द भइसकेको छ । व्यवस्थापनले हडताल गरेर माग पूरा गराउने प्रवृत्ति बन्द हुनुपर्ने बताएको छ । 'हडतालकै भरमा माग पूरा गर्ने पक्षमा हामी छैनौँ,' व्यवस्थापन सम्बद्ध एक अधिकारीले भने ।

युनिलिभर बन्द हुँदा यसका ५ सहायक उद्योगसहित ९ सय जनाको प्रत्यक्ष् रोजगारी गुम्नेछ । सहायक उद्योगका सञ्चालक अधिकांश स्थानीय उद्योगीहरू छन् । सहायक उद्योगमामा गंगा सोप, नेसनल सोप, ओमकार सोप र युनिक सोप छन् । गंगा सोपमा पनि मजदुरले आन्दोलन गरिरहेका छन् । युनिलिभर एक दिन बन्द हुँदा ४० लाख रुपैयाँ क्षति हुने व्यवस्थापनले जनाएको छ । उद्योगले लक्स, लाइफब्वाई, लिरिल साबुन, पेप्सोडेन्ट, क्लोजअप मञ्जन र सुन्दरताका लागि प्रयोग हुने फेयर एन्ड लभ्ली क्रिम उत्पादन गर्दै आएको छ । कम्पनीद्वारा जारी विज्ञप्ति अनुसार गत वर्ष उसले ७६ करोड ४० लाख रुपैयाँ राजस्व बुझाएको छ ।

Published on: 7 February 2012 | Kantipur

Back to list

;