s

बिकेन वैदेशिक रोजगार बचतपत्र

यज्ञ बञ्जाडे, दिनेश रेग्मी

काठमाडौँ — विदेशमा रहेका नेपालीबाट १ अर्ब रुपैयाँ संकलन गर्ने उद्देश्यसहित जारी वैदेशिक रोजगार बचतपत्रमध्ये ९९ प्रतिशतभन्दा बढी बिक्री भएको छैन । विगतका वर्षमा पनि थोरै रकमको मात्र बचतपत्र बिक्री हुँदै आएको थियो । यसकारण यो वर्ष राष्ट्र बैंकले बचतपत्रको बिक्री बढाउने योजना बनाएको थियो । त्यसका लागि राष्ट्र बैंकले वर्षभर नै बचतपत्र बिक्री खुला राखेको छ ।

गत वर्ष निश्चित समयमा मात्र बचतपत्र बिक्रीका लागि खुला गरिन्थ्यो । यद्यपि यो वर्ष पनि बचतपत्रमा आकर्षण देखिएन । बचतपत्रबाट प्राप्त हुने ब्याजभन्दा धेरै बैंक तथा वित्तीय संस्थाबाटै पाइने भएकाले बचतपत्रमा आकर्षण नदेखिएको जानकारहरू बताउँछन् । राष्ट्र बैंकको तथ्यांकअनुसार यो वर्ष राष्ट्र बैंकले ६० करोड रुपैयाँ बराबरको बचतपत्र निष्कासन गरिसकेको छ । यसमध्ये करिब ४३ लाख रुपैयाँ बराबरको मात्र बिक्री भएको छ । यो कुल निष्कासित बचतपत्रको करिब ०.७० प्रतिशत मात्र हो । वैदेशिक रोजगारीमा गएका धेरैलाई समेट्ने उद्देश्यले अर्थ मन्त्रालयको निर्देशनअनुसार राष्ट्र बैंकले वर्षभरि नै बचतपत्र बिक्री खुला गरेको हो । राष्ट्र बैंकले तीन चरणमा साउनदेखि पुससम्म २० करोड, माघदेखि चैतसम्म ४० करोड र चैतदेखि असारसम्म ४० करोड रुपैयाँ बराबरको बचतपत्र निष्कासन गर्ने योजना बनाएको छ । जसमध्ये पुससम्म २० करोडको बचतपत्र निष्कासन भएकामा करिब १९ लाख २० हजार रुपैयाँको मात्र बिक्री भएको छ ।

अहिले गत माघ १० देखि चैत २१ सम्म बिक्री खुला हुने गरी ४० करोड रुपैयाँ बराबरको बचतपत्र निष्कासन भइरहेको छ । त्यसमध्ये हालसम्म करिब २३ लाख रुपैयाँ बराबरको मात्र बिक्री भएको राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले बताए । पर्याप्त प्रचार–प्रसार नहुनु, बजारमा उच्च ब्याजदरलगायत कारण अपेक्षित रूपमा बचतपत्र बिक्री हुन नसकेको उनको भनाइ छ ।

सरकारले चालु आवमा विदेशमा रहेका नेपालीबाट १ अर्ब रुपैयाँ बचत (ऋण) उठाउने योजना बनाएको छ । वैदेशिक रोजगार बचतपत्रमार्फत सरकारले रोजगारीका लागि विदेश गएका र गैरआवासीय नेपालीबाट उक्त रकम उठाउने योजना बनाएको हो । विदेश रहेका नेपालीलाई राष्ट्रिय बचतमा सहभागी बनाउने उद्देश्यले वैदेशिक रोजगार बचतपत्र बिक्री खुला गरिएको राष्ट्र बैंकको दाबी छ ।

पहिलो चरणमा पुस १ देखि नै बिक्री खुला भएको थियो । त्यति बेला गत पुस २१ सम्म आवेदन दिन पाइने व्यवस्था थियो । बचतपत्र मुलुकबाहिर रोजगारीमा संलग्न वा मुलुक बाहिरको रोजगारीबाट फर्केको चार महिना नपुगेका नेपाली नागरिक वा गैरआवासीय नेपालीले आफू वा आफ्नो परिवारका सदस्य (बुबा, आमा, श्रीमान्, श्रीमती, छोरा, छोरी मात्र) का नाममा खरिद गर्न पाउने व्यवस्था छ ।

यो बचतपत्र पाँच वर्ष अवधिको हो । यसमा लगानी गरेबापत वार्षिक १० प्रतिशत ब्याज पाइन्छ । ब्याज ६/६ महिनामा भुक्तानी हुन्छ । लगानीकर्ताले घटीमा ५ हजार र बढीमा ५ हजारले भाग गर्दा नि:शेष हुने गरी लगानी गर्न पाउँछन् । बचतपत्र धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन र दिन पाइन्छ ।

वैदेशिक रोजगार बचतपत्र नयाँ अवधारणा होइन । आव ०६६/६७ देखि नै यस्तो बचतपत्र निष्कासन सुरु भएको हो । आव ०७४/७५ सम्म करिब ११ अर्ब रुपैयाँ बराबर वैदेशिक रोजगार बचतपत्र निष्कासन भइसकेको छ । त्यसमध्ये ५.२९ प्रतिशत बचतपत्र मात्र बिक्री भएको छ । गत वर्ष सरकारले ढिलो गरी आन्तरिक ऋण उठाएकाले बचतपत्र निष्कासन भएन । सरकारले गत वर्ष आर्थिक वर्षको अन्त्य जेठ र असारमा लक्ष्यको आधा मात्र आन्तरिक ऋण उठाएको थियो ।

विगतमा लक्ष्यअनुसार बचतपत्र बिक्री नभएपछि राष्ट्र बैंकले यसलाई प्रभावकारी बनाउने घोषणा गरेको थियो । चालु आवको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले वर्षभरि नै बचतपत्र बिक्री गरिने घोषणा गरेको थियो । सोहीअनुसार बचतपत्र बिक्रीका लागि सूचना आह्वान गरिरहेको छ । पहिलो चरणमा आह्वान गरिएकोमध्ये बिक्री नभएको बचतपत्र दोस्रो र तेस्रो चरणमा पुन: निष्कासन गरिने राष्ट्र बैंकको योजना छ । राष्ट्र बैंकले लगानीकर्ताले देशभित्र र बाहिर दुवै स्थानबाट बचतपत्र खरिद गर्न सक्ने व्यवस्था गरेको छ । नेपालका लागि केही बैंक र रेमिट्यान्स कम्पनी गरी १० संस्था चुनिएको छ । मुलुकबाहिर पनि बैंक, रेमिट्यान्स कम्पनीका एजेन्ट र सम्पर्क कार्यालयलाई जिम्मा दिइएको छ ।

यो वर्ष सरकारले १ खर्ब ९५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य लिएको छ । सरकारले बजेटको अर्धवार्षिक समीक्षामा राजस्व लक्ष्य संशोधन गरे पनि आन्तिरिक ऋण प्राप्ति यथावत् नै राखेको छ । वैदेशिक बचतपत्रबाट १ अर्ब रुपैयाँ संकलन भए अरू उपकरणबाट ९५ अर्ब मात्र उठाइने राष्ट्र बैंकको योजना छ । विदेशमा रहेका नेपालीबाट बचत संकलन हुन सके उनीहरूको बचतले लगानी अवसर पाउनुका साथै विदेशबाट पैसा नेपाल भित्र्याउन सकिन्छ ।

बचतपत्रमा लगानी गर्न लगानीकर्ताले राहदानी, कार्यरत मुलुकको भिसा (भारतबाहेक अन्य मुलुकमा कार्यरत कामदारका लागि मात्र), कार्यरत कम्पनीको आधिकारिक परिचयपत्र (म्याद ननाघेको) को प्रतिलिपि, दुई प्रति पासपोर्ट साइजको फोटो, विदेशी मुद्रा नेपालमा भित्रिएको प्रमाणस्वरूप विदेशी मुद्रा सटही रसिद वा नेपालमा विदेशी मुद्रामा खाता रहेको भए सो खाताबाट विदेशी मुद्रा सटही गरेको भौचर आवश्यक पर्छ । परिवारका सदस्यका नाममा खरिद गर्ने भए सदस्यको नागरिकताको प्रतिलिपि र नाता प्रमाणित कागजात चाहिने राष्ट्र बैंकले जानकारी दिएको छ । नाबालकको नाममा संरक्षक भई खरिद गर्ने भए जन्मदर्ता प्रमाणपत्र चाहिने व्यवस्था कार्यविधिमा उल्लेख छ ।

Published on: 8 March 2020 | Kantipur

Link

Back to list

;