s

विकासले रोक्यो झिम्पा गाउँको बसाइसराइ

घर–घरमै शुद्ध पानीको धारा छ। दैलो अगाडिको राष्ट्रिय राजमार्गमा बस गुड्न थालेको पाँच वर्ष भइसक्यो। गाउँमै पालिका अस्पताल निर्माण भइरहेको छ। गाउँभरमा व्यावसायिक कागती खेतीको लहरै आएको छ।

बागलुङको सुदूरपश्चिममा रहेको निसीखोला गाउँपालिका–४ झिम्पा गाउँका बासिन्दाको सोच अहिले बदलिएको छ। ‘चार पाँच वर्ष अघिसम्म बसाइसराइको लहरै आएको थियो, धेरै कमाइ हुने घर छाडेर मधेस झरे, गाउँका केही घरसमेत खाली भएका थिए’, झिम्पा गाउँका बासिन्दा प्रमिला मगरले भनिन्, ‘अहिले खाली भएका घरमा समेत मानिस बस्न थालेका छन्, काम विशेष, अध्ययन तथा मजदुरीका लागि राष्ट्रिय लोकमार्ग आसपासमा बसाइँ सरेरसमेत आउन थाले, पहिला घडेरी किन्न तराई सर्नेहरूले अहिले तल्लो झिम्पाको फाँटमा घडेरी किन्न थालेका छन्।’

गाउँको कुनाकाप्चामै सडक पुगेकाले अहिले सहरमा पाइने सुविधा गाउँमै पाइन थालेपछि बसाइसराइ गर्नेहरू घटेका मात्रै छैनन् मधेस गएकासमेत गर्मीले शीतल खोज्दै गाउँ फर्किन थालेको स्थानीय चक्रबहादुर रोकाले बताए। रोकाका अनुसार गाउँबाट दश वर्षअघि बसाइसराइ गरेर गएका चार परिवार फर्केर गाउँमा आएका छन्।

‘सुविधाका लागि सहर जाने हो, सहरको सुविधा गाउँ आइसक्यो, आँखै अगाडिबाट लामो दूरीका बस नेपालका विभिन्न सहरका लागि छुट्छन्, मध्यपहाडी राष्ट्रिय लोकमार्ग कालोपत्रे भएपछि निसीखोलामा विकासले फड्को मारेको हो, गाउँमै प्लास्टिक टनेलमा तरकारी उत्पादन हुन्छ’, रोकाले भने, ‘अहिले २० बाख्रा पालेको छु, ५० कागती र ५० सुन्तलाका बोट हुर्कँदै गरेका छन्, गरिबहरू बसाइसराइ गर्ने कुरै भएन, धनीहरूसमेत सहरको जस्तो घर गाउँमै बनाएर बस्न थाले।’

निसीखोला–४ झिम्पाका झन्डै एक सय घरमा गत वर्ष गोर्खा वेलफेयर ट्रष्ट घर–घरमा धारा निर्माण गरेर शुद्ध पानी वितरण गरेको हो। झिम्पा खानेपानी आयोजनामार्फत अहिले ९४ घरमा शुद्ध खानेपानी वितरण भइरहेको झिम्पा खानेपानीका अध्यक्ष चक्रबहादुर रोकाले जानकारी दिए। ‘पानीको सङ्कट थिएन तर अव्यवस्थित थियो, कहिले आउने कहिले नआउने गर्दथ्यो, अहिले मुहानमै शुद्धिकरणको व्यवस्था छ, पानीलाई प्रशोधन गर्नका लागि मुहानमै व्यवस्थापन भएपछि अहिले घर–घरमा शुद्ध पानी वितरण हुन्छ”, रोकाले भने, ‘दुर्गम गाउँका रूपमा चिनिएको झिम्पा अहिले शुद्ध खानेपानी, सडकको पहुँच, दैलोमै राष्ट्रिय राजमार्ग आएपछि फेरिएको छ, यहाँका नागरिकले विकासको महसुस गरेका छन्।’

स्थानीय झजी बुढामगरले विकास दैलोमै आएपछि गाउँ थप रमाइलो भएको बताए। आम्दानीको स्रोत भए सुविधा खोज्न सहर जान नपर्ने बुढामगरले बताए। गाउँमा अहिले आय आर्जनका लागि व्यावसायिक कागती खेती थालिएको छ। अहिले झिम्पा गाउँका घर–घरमै कागती खेतीको लहर आएको छ। यहाँका स्थानीय परम्परागत खेती छाडेर आयआर्जनका लागि कागती खेतीतर्फ आकर्षित भएको स्थानीय कागती किसान रेमबहादुर क्षत्रीले बताए।

Published on: 14 June 2023 Nagarik

Link

Back to list

;