s

विकासले पनि रोकेन गाउँबाट बसाइसराइ

शिव उप्रेती

गोरखा : केही दिनअघि सहिदलखन गाउँपालिका–६ दार्चे फुरुण्डाँडा गोरखाको सिरान घरमा पुग्दा एक वृद्ध फोनमा बोल्दै थिए। ६ फिटभन्दा अग्लो कद, दुब्ला पातला देखिने वृद्ध घरसँगैको बारीको डल्लामा बसी निहुरिएर फोनमा एकाग्र थिए। छेवैमा फरिया, चोली र निधारभरि सिन्दुरले सजाएकी वृद्धासँग उचाइ र उमेर मिल्दोजुल्दो देखिने एक वृद्धा बोरा ओछ्याएर बसेकी थिइन्। कहिले मजेत्रोले, कहिले हत्केलाले आँसु पुछ्दै संवाद सुनिरहेकी थिइन्। अर्कोपट्टि छेउमा झोला बोकेका एक अधबैंसे पुरुष पनि टाउको बाङ्गो पार्दै वृद्धतर्फ कान थाप्दै गरेको देखिन्थे।

आँगनभरि मुख बाँधिएका झिटीगुन्टा असरल्ल थिए। परैबाट चनाखो भएर संवाद सुन्दा उनी भक्कानिइरहेका थिए, ‘छोरोले हाँडाभाँडा झिकेर आँगनमा थुपारिसक्यो। गाडी बोला’छ। आमा मरे’नि जान्न भन्छे, बिहानैदेखि रो’को रोयै छ। छोरोचैँ हाम्रो कुरै सुन्दैन। मैले गर्नी के, भन् त’, एकछिन उताको कुरा सुनिसकेपछि फेरि उनी बोल्छन्, ‘म पनि जान्न, मरे’नि यहीँ मर्छु। कुहिनु परे’नि यहीँ कुहिन्छु।’

वृद्धको टेलिफोन कुराकानीले उनीहरूभन्दा पर, आँगनको एउटा छेउमा उभिएका पातला–पातला, अग्ला एक युवक तनावमा परेको देखिन्थे। नचिनेको मान्छेको प्रवेशले उनी अलमलमा परे। संवाद लम्बिन पाएन। ‘एकछिन पख त। पछि गर् यहाँ को बाबु आउनु भा’छ’, भन्दै फोन काटे।

तनावसहित आएका ती युवाले आक्रोश साम्य भएपछि सबै कुरा प्रस्ट पारे। उनीहरू यहाँबाट बसाइँ सर्दैछन्, चितवन माधवपुर। त्यसका लागि उनले एक वर्षको अग्रिम भाडा तिरेर त्यहाँ एउटा कोठा भाडामा लिइसके। जानका लागि सबै सामान तयार गरिसके। तर, बुबा–आमाले घर छोड्न नमानेपछि तनाबमा परेको उनले बताए।

बुबा आमालाई चितवनमा कोठामा छोडेर वैदेशिक रोजगारीका लागि उनी जाने तयारीमा रहेछन्। मलेसिया दूतावासमा प्रक्रिया पनि अघि बढाइसकेको सुनाए। उनी थिए वृद्धका छोरा विष्णु न्यौपाने। गाउँमा न्यौपाने र ढकालको मात्रै घर छ। १२ घरधुरीमध्ये यसअघि १० घर परिवारले गाउँ छाडिसके। उनले एक्लै बस्ने अभ्यास नगरेका पनि होइनन्, तर असाध्यै गाह्रो भयो। ‘हामी न्यौपाने खलक यहाँ बसेको १० पुस्ता भयो। आफ्नो थातथलो छोड्ने मन नहुँदा नहुँदै पनि जानु पर्दोर’छ। यो हाम्रो बाध्यता हो ? आफ्नो भविष्यका लागि, आफ्नो बाउ आमा पाल्नका लागि’, एकश्वासमा उनले बाध्यता सुनाए, ‘वरिपरि जंगलै जंगल छ। भन्नुस् त ८० काटेका बूढाबूढीलाई लिएर एक्लै कसरी बस्ने ?’

बूढाबूढीलाई पालेर एक्लै भए पनि उनले बस्ने हिम्मत हारेका होइनन्। तर गरिखान सकेनन्। कसैले सघाएनन्। अन्ततः बिदेसिनुको विकल्प उनको सामु अर्को केही देखिएन। जंगलको बीचमा बुबाआमालाई छाडेर पनि जान सकेनन्। त्यसैले गाउँका सबै बसाइँ सरेर गएको चितवन माधवपुरमा नै उनले पनि डेरा लिए। बुबा आमालाई त्यहाँ राख्ने र आफू बिदेसिने योजना बनाए।

‘घरमा ८० काटेका बुबा र आमा मात्र छन्। त्यसैले म विदेश जान्न, यहीँ गरेर खान्छु भनेर स्वरोजगार बन्न जसोतसो पाँच लाख रुपैयाँ खर्च गरेर बाख्राको खोर बनाएँ। ४८ वटा बाख्रा र कुखुरा पनि किनेँर पाल्न थालेँ’, उनले दुःख पोखे, ‘गाउँलाई हराभरा बनाउने भनेर आफैंले पाइप किनेर ऊ... परदेखि पानी ल्याएँ। हामी चारपाँच घर आफैं–आफंै पैसा हालेर खोल्सादेखि गाउँसम्म रोड पनि खन्यौँ। नगरेको होइन हदैसम्म गरेका हौँ। तर व्यवसाय गर्न एकफेर लगानी गरेर मात्र नहुँदो र’छ। त्यसमा अर्को वर्षदेखि खाप्ने पैसा पनि भएन। न बाख्राले बजार पायो, न लगानी थप्न सकियो। ऋण माग्न भनेर गोरखा बजारका सप्पै बैंक चाहारेँ। १० वटा बैंकका मेनेजरले चिन्छन् मलाई, तर पत्याएनन्। सरकारले पनि सपोर्ट गरेन। सरकारले सहयोग गर्ने पनि कामै नगरी ठगेर खानेलाई रहेछ। हामीजस्तो गरेर खाने किसानलाई होइन रहेछ। हामी पनि लगानी गर्छौँ, दुःख गर्छौँ, सरकारले पनि साथ देओस् भन्ने चाहेको तर आफूले सबै भार थाम्न सकिएन, कसैको साथ पाइएन। म त भन्छु, यो देशमा हामीजस्ता निम्नवर्गका लागि सरकार छैन, छँदैछैन। मलाई थाहा छ, मलेसिया गए पनि हामीले कमाउने मासिक ४० हजार रुपैयाँ मात्रै हो। त्योभन्दा धेरै हामी कमाउन सक्दैनौँ त्यै’पनि यहाँ छैन। त्यसैले मैले यो निर्णय लिएको हो।’

८० वर्षे दम्पती रुद्रप्रसाद र ज्ञानीमायाकी छोरीको डेरा पनि माधवपुरमै छ। ‘म नहुँदा दिदीको रेखदेख पनि पुग्छ भनेर दिदीको डेरानजिकै लगेर बुबाआमालाई छाड्न खोजेको हो’, उनले भने।

झिटिगुन्टा बाँधेर उनीहरू ट्रक र ट्याक्टरको पर्खाइमा थिए। सन्दुस, हुक्काबाहेक बोरामा हालेर बाँध्न मिल्नेजति सबै बाँधेर तयार पारेका थिए। ‘छ मुरी धान थियो। त्यतिले हामी बूढाबूढीलाई एक वर्ष खान पुग्थ्यो, त्यो पनि बेच्यो। एउटा भैंसी थियो, त्यो पनि ७० हजारमा बेच्यो। मत नाङ्गो भएँ’, छोराको निर्णयप्रति असन्तुष्टि व्यक्त गर्दै रुद्रप्रसाद भन्छन्, ‘बूढाबूढी मिलेर ५५ रोपनी खेतबारीबाट अन्न भिœयाइन्थ्यो। पाँच छ वटा भैँसी, १२, १३ वटा गाई, १८, २० वटा बाख्रा पालियो। कुरिनघाटबाट भारी बोकेर छोरा हुर्काएँ, छोरी हुर्काएँ, पढाएँ, बिहेदान गरेँ। आज मर्ने बेलामा बुकुलट्टै भैयो।’

सरकारले पनि नहेरेको होइन। तर, मान्छेले व्यवस्थापन गर्न नसकेको उनको बुझाइ छ। ‘सरखारले पनि कति गरोस् र ? दैलामा रोड ल्याइदेको छ। घरघरमा धारा, बिजुली बत्ती ल्याइदेको छ। दुई बूढाबूढीलाई १२ हजार भत्ता दिएको छ। सरकारले नग¥या होइन, यहाँभन्दा के गर्ने, ग¥या छ। तर, मान्छेले गरेनन्’, उनी भन्छन्, ‘सप्पैले छोडेर गए। दुःख बिमार पर्दा सहायता दिने मान्छे भएनन्। रातदिन बाघभालु कराउँछ। सास भा’ जातलाई एक्लै भएपछि डरै हुने रहेछ। छोरो नि जाम भन्छ, छोरी नि आउनु भन्छे। बूढी जान नमानेर रुन्छे। जो भएका हाँडाभाँडा पोको पुन्तुरो पारिसक्यो। म त्यसै बिलखबन्धनमा परिरा’छु।’

उनीहरूको पोकापुन्तुरा ओसार्न एउटा ट्रक र एउटा ट्याक्टर दिन ढल्दै गर्दा आउने थियो। त्यसमा विष्णु न्यौपाने र विष्णुप्रसाद न्यौपानेको परिवार एकैचोटी फुरुण्डाँडा छोड्दै थिए। किनभने २०७२ को भूकम्पपछि यहाँ बाँकी बसेका न्यौपाने र ढकालका १२ घरधुरीमध्ये गत बर्ष एकैचोटी चार घरपरिवार बसाइँ सरे। यस वर्ष ६ परिवार एकैचोटी सरे। त्यसैले आफूहरू पनि सर्न लागेको विष्णुप्रसाद न्यौपानेको भनाइ छ।

विष्णुप्रसाद न्यौपानेको बाध्यताको कथा बेग्लै छ। १५ वर्ष मलेसियामा काम गरेर कमाएको २० लाखले भर्खरै ढलान गरेर नयाँ घर बनाएका छन्। घरभित्रै ट्वाइलेट बाथरुमसहितको गाउँमै नौलो खालको सुख सुविधायुक्त घर बनाए। हिँड्ने अघिल्लो राती पनि श्रीमती मैनासित मिलेर आधारातसम्म रंगरोगन गरे तर घर छाडेर सदाका लागि जाँदैथिए। ‘मलेसियामा थिएँ। यी अल्लोपल्लो घरका साथीभाइले सधंै विदेश बसेर हुँदैन। गाउँमै केही गर्नुपर्छ तँ आइस् भने हामी पनि मिलेर नयाँनयाँ व्यापार व्यवसाय गर्छौँ भनेर बोलाए’, उनी भन्छन्, ‘सबै मिलेर आआफ्नै खर्चले डोजर लगाएर गाउँसम्म मोटरबाटो खनियो। कृषि फाराम बनाइयो तर पोहोर छ घर, यो वर्ष पाँचघर उठेर गए। यो वर्ष तल खोल्सादेखि गाउँसम्मको बाटो राम्रो गर्न भनेर प्रदेशबाट १० लाख बजेट परेको छ। टेन्डर भएर माघ १० गतेदेखि काम गर्ने भनेको छ। कृषि फारामलाई पनि पाँच लाख परेको छ तर गाउँमा कोही पनि छैन।’ आज भर्खरसम्म सिँचाइ गरिरहेको कृषि फर्म भोलिदेखि सुक्खा लाग्ने भन्दै उनले चिन्ता व्यक्त गरे।

यस भेगका न्यौपानेहरूको १० पुस्तादेखिको बासस्थान फुरुण्डाँडालाई विष्णु न्यौपानेका परिवारले पनि छाडेपछि सोही दिनदेखि सुनसान बनेको छ। यहाँबाट आधाघण्टा परको दार्चेडाँडामा सरेर बसेका चूडामणि न्यौपानेले सोही दिनको आधारातमा सामाजिक सञ्जालमा स्टाटस लेखे, ‘...मेरो घरको आँगनबाट झलमल्ल देखिने स्वर्ग जस्तो मेरो फुरुण्डाँडामा आज बत्ती बलेन। मेरो जन्मथलो आज अन्धकारको चपेटामा एक्लै रोई रहेको छ। आफन्तहरूको खुब याद आयो। बरको फेदमा बसेर आज राती म साँच्चिकै खुब रोएँ। मुटु दुख्यो। मलाई कुनै रोशनीको आशाभन्दा पनि माई हिमलाले आफ्नो पाउमा फेरि कतै न कतैबाट उज्यालो बाल्छिन् र काली नागको पुजारी कसैलाई पठाउँछिन् भन्ने एउटा आशा मेरो मनमा मर्ने छैन ...।’

फुरुण्डाँडा मात्र होइन त्यो भन्दा आधाघण्टा पर रहेको रेग्मी र न्यौपानेहरूको बसोबास रहेको दार्चे पनि द्रूत गतिमा रित्तिँदै छ। १२० घरधुरी रहेको दार्चेबाट दुई बर्षअघि १३ घर बसाइँ सरेका थिए। गत बर्ष १२ घर र यस वर्ष पनि छ घर सरिसकेका, र अरु धेरै परिबार सर्ने तयारी गरिरहेका स्थानीय सुरज रेग्मी बताउँछन्। दार्चे गाउँ यस क्षेत्रकै सबैभन्दा धेरै घरबस्ती एकैठाउँमा झुरुप्प भएको गाउँ हो। सडक, विद्युत्, खानेपानी, सिँचाइलगायतका यहाँ विकासका पूर्वाधार पनि पर्याप्त छ। तर बसाइँसराइ तीव्र भइरहेको भन्दै स्थानीयबासी चिन्ता व्यक्त गर्छन्।

‘फुरुण्डाँडा रित्तियो, अब हाम्रो दार्चे पनि उजाड मरुभूमि बन्ने भएको छ’, उनी भन्छन्, ‘विशेषगरी यहाँका मान्छे वैदेशिक रोजगारीमा गएका छन्। उनीहरूले बूढाबूढी मात्र घरमा छाडेर श्रीमती र छोराछोरीलाई बच्चा पढाउने बहानामा सहरमा डेरा लिएर राख्ने गर्छन्। अनि विस्तारै उतै सरेर जान्छन्।’ यसरी घर खाली हुँदै जाँदा बाँदर, बाघ, भालु, स्यालको आतंक फैलिने र बाँकी बसेकाहरू पनि बसाइँ सर्ने गरेको उनको बुझाइ छ।

बसाइँसराइका कारण यहाँको पिपला पोखरी आधारभूत विद्यालय पनि रित्तिँदै गएको छ। कक्षा आठसम्म सञ्चालन भइरहेको सो विद्यालयमा अहिले विद्यार्थी नभएकै कारण कक्षा पाँचसम्म मात्र सञ्चालनमा छ।

Published on: 27 January 2023 | Annapurna Post

Link

Back to list

;