s

बिहीबार कुवेतबाट ३ सय महिला कामदार फर्किँदै, क्वारेन्टाइनको तयारीमा अलमल

बिहीबार कुवेतबाट ३ सय नेपाली स्वदेश फर्किने भएका छन्। बिहीबार दुइटा फ्लाइटमा आउनेहरू सबै महिला रहेको कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) श्रोतले सेतोपाटीलाई बतायो। 

एउटा जहाज १ बजे र अर्को ३ बजे आउने तयारी छ। दुवै जहाज कुवेत सरकारले पठाउन लागेको हो। कुवेतबाट २ हजार ९ सय ९१ जनालाई तत्काल उद्धार गर्न जरुरी रहेको सूची परराष्ट्र मन्त्रालयले तयार पारेको छ।

कुवेतबाट आउने महिलाहरू अधिकांश घरेलु कामदारमा गएका हुन्। उनीहरूलाई ल्याएर राख्ने बारेमा भने अझै व्यवस्थापन भइसकेको छैन।

'हामीले जानकारी पाएअनुसार कति महिला सुत्केरी, गर्भवती र विभिन्न रोग लागेका छन्। तर उनीहरूलाई कसरी राख्ने भन्नेबारे अहिलेसम्म तयारी भइसकेको छैन,' सिसिएमसी श्रोतले भन्यो, 'काठमाडौंको एउटा क्वारेन्टिनमा ५० जनासम्म राख्न सकिन्छ। युनिसेफसँग पनि कुरा भइरहेको छ। हामीले होटल उपलब्ध गराउन आग्रह गरेका छौं।'

अहिलेसम्म सरकारको तर्फबाट कुनै निर्देशन नआइसकको सिसिएमसीका ती अधिकारीको भनाइ छ। भोलिसम्म कुनै व्यवस्था हुनसक्ने समेत उनले बताए। 

कुवेतबाट बुधबार नै आउने तय भए पनि बिहीबार मात्रै ल्याउन लागिएको हो। युएइबाट बिहीबार ल्याउने भनिएका नेपालीहरूका बारेमा भने अझै टुंगो लागिसकेको छैन।

सरकारले कोभिड-१९ का कारण समस्यामा परेका नेपालीलाई प्राथमिकताका आधारमा स्वदेश फर्काउने भनेको छ। सरकारले विभिन्न १५ वटा प्राथमिकता तोकेर नेपाल आउनेको सूची तयार पार्न परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको थियो। परराष्ट्र मन्त्रालयले विदेशस्थित आफ्ना नियोगहरूबाट उनीहरूको नाम संकलन गरेको छ।

विभिन्न देशमा रहेका ५६ हजारले नेपाल फर्किन चाहेका थिए भने परराष्ट्र मन्त्रालयले २४ हजारलाई सिफारिस गरेको छ। सरकारले ३० मुलुकबाट फर्किन स्वीकृत गरेकामध्ये सबभन्दा बढी मलेसियाबाट ६ हजार ४ सय छन् भने सबभन्दा कम लाओसबाट २ जना  छन्।

Published on: 10 June 2020 | Setopati

Link

Back to list

;