s

बिहेको नाटक गरेर विदेश

मनोज पौडेल

नक्कली श्रीमान् बनेर बिचौलियाले महिलालाई वैदेशिक रोजगारीका लागि पठाउन थालेको खुलासा भएको छ । विवाह गरेर नागरिकता र राहदानी बनाई लैजाने गरेको सार्वजनिक भएको हो । नागरिकता देखाई श्रीमती बनाएर लैजाँदा सीमा क्षेत्रमा सहज हुने भएकाले यस्तो तरिका अपनाएको प्रहरीले जनायो । नयाँ नागरिकता बनाउँदा महिलाका घर वा माइतीतिर जानकारी नहुने र राहदानी लिन सजिलो हुने हुँदा यस्तो गर्न थालिएको हो ।

कृष्णनगर हँुदै कुवेत जान निस्केका महिलालाई सोधपुछ गर्दा घटना उजागर भएको हो । त्यसपछि नवलपरासीको कावासोती ४ हसौडाकी २५ वर्षीया गोमा ठाडामगर र योगमाया गुरुङलाई शान्ति पुन:स्थापना गृहले उद्धार गरेको हो । बुटवलबाट लु१ख ८५५६ नम्बरको दिल्ली जाने बसमा सवार उनीहरूसित कृष्णनगरमा सोधपुछ गर्दा शंकास्पद कुरा गरेका थिए । कुवेत जान लागेको बताउने दुवैसित राहदानी छैन ।

गोमाका अनुसार दिल्लीमा दिलबहादुर पुनमगर रहेको र उनले नै राहदानी राखेको जनाउँदै उनीहरूलाई बोलाइएको थियो । दुवैलाई सुरक्षित तरिकाले दिल्ली आउन भनिएको थियो । राम्रो रोजगारी र पारिश्रमिकको प्रलोभन देखाई कुवेत लैजान थालिएको खुलेको छ ।

गोमाले रूपन्देहीको सूर्यपुरा २ का बुजमान सुनारसँग विवाह गरेर अर्को नागरिकता बनाएकी थिइन् । गत जेठ १८ गते लिएको नागरिकताको आधारमा उनले राहदानीसमेत बनाएको बताइन् । यता ५ वर्षअघि गोमाको कावासोती ४ हसौडाका किसन ठाडामगरसँग विवाह भएको थियो । ४ वर्षको एउटा छोरासमेत छ । किसन भने रोजगारीका लागि मुलुकबाहिर छन् । घरमा छोरो छाडेर गोमा राजधानी जान्छु भनेर हिँडेको उनका अभिभावकले बताए । ५ वर्षअघि बिहे भएकी योगमाया माइती कावासोती नगरपालिका ४ हसौडामै बस्दै आएका थिइन् । उनको पनि ४ वर्षको बच्चा छ । योगमायाका श्रीमान् बनेर बिचौलियाले नागरिकता बनाएको इप्रका कृष्णनगरका निरीक्षक नमराज भट्टराईले बताए ।

तर उनीसँग नागरिकता भेटिएन । दुवैलाई दिलबहादुरले बुटवलबाट दिल्ली जाने बसमा २ हजार ४ सय भारतीय रुपैयाँ तिरेर टिकट काटेका थिए । दिल्लीसम्म पुर्याटउन बसका चालकलाई बुटवलबाट १ जनालाई जिम्मा लगाएका थिए । तर उनको पहिचान खुल्न सकेको छैन । दिल्ली गएको बस मंगलबार फर्किने हुँदा चालकलाई सोधपुछ गरेपछि तथ्य खुल्ने भट्टराईले बताए । भूकम्पपछि राजधानीका वैदेशिक रोजगार कम्पनीका कार्यालय भत्किएकाले दिल्लीबाट उडाउने भन्दै लैजान थालिएको महिलाले बताए ।


Published on: 29 June 2015 | Kantipur
 

Back to list

;