s

बिहारको कम्पनी 'वि-विनर'को ठगीमा यसरी फसिरहेका छन् नेपाली...

इलाम माईजोगमाई गाउँपालिका- ३ का रोशन घिमिरे लामो वैदेशिक रोजगारी यात्रालाई बिट मार्दै डेढ वर्षअघि गाउँ फर्केका थिए।

१२ वर्षभन्दा लामो खाडी बसाइपछि फेरि विदेश नजाने सुर गरेर घर आएका उनका लागि पहिलो ६ महिनाको समय रमाइलै थियो। घरपरिवार, नातेदार, साथीभाइहरूसितको भेटघाट पातलिँदै गएपछि रमाइलो पनि घट्दै गइरहेको थियो। विदेशमा काम गर्दा कयौं अफ्ठ्यारा थिए। तर, जब महिना मर्थ्यो, बैंकमा जम्मा हुने तलबले ती अफ्ठयारो बिर्साइदिन्थ्यो।

धेरथोर पैसा खेलाइरहने बानी परेको थियो। यता आएपछि नियमित आम्दानी बन्द भयो।

गाउँघरमा सानोतिनो व्यापार व्यवसाय गरेर हुने आम्दानीमा आँखा लागेको थिएन। ठूलो आम्दानी हुने बाटो खोज्दै थिए उनी।

त्यहीबेला उनले घरैमा बाख्रा फार्म खोले। खसी पाल्न सुरू गरे पनि त्यसबाट आम्दानी हुन थालेकै थिएन। एकदिन विदेशमा एउटै कम्पनीमा काम गरेका साथी उनलाई भेट्न गाउँमै आइपुगे।

तीन चार दिन अघि फोन गरेर ‘भेटेरै कुरा गर्नुछ’ भन्दै पाँचथरबाट इलामसम्म आइपुगेका ती साथी भेट्न मात्रै होइन, सजिलै पैसा कमाउने जुक्ति सँगै लिएर आएका रहेछन्।

साथीको प्रस्ताव उनलाई लोभ्याउने खालको थियो।

जसअनुसार उनीहरू सुरूमा १० दिने तालिमका लागि बिहारको राजधानी सहर पटना जानुपर्थ्यो।

साथीले भने- त्यहाँ एउटा ‘काम दिने’ कम्पनी हुनेछ, जसले काम मात्रै होइन लगानी गरे व्यापारिक साझेदार हुने ‘अवसर’ पनि दिनेछ।

कम्पनीले तालिम दिने र त्यसपछि काम सुरू हुने कुरा साथीले उनलाई सुनाएका थिए।

सुरूमा १० दिनको तालिम लिएपछि मासिक २५ हजार भारू तलबमा काम पाइने, काम गर्न मन नलागे लगानी गरेर घरै फर्किए पनि हरेक महिना लगानी अनुसारको आम्दानी सोझै बैंकमा आउने कुरा ती साथीले रोशनलाई सुनाएका थिए।

पुरानो चिनजान, विदेशमा रहँदा बस्दा पनि पारिवारिक रूपमै निकट भएका ती साथीले परिवारकै अगाडि यस्तो प्रस्ताव सुनाएपछि रोशन पनि लोभिए। परिवारका अरू सदस्यले पनि साथीले भनेपछि होला भनेर हौस्याए।

त्यसको दुई सातापछि साथीसँगै रोशन लागे बिहारतिर। यो ठ्याक्कै वर्ष दिन अघिको कुरा हो।

इलामदेखि बिर्तामोड, विराटनगर हुँदै पटनासम्म पुग्दा साथीले त्यहाँको कामबारे रोशनलाई बेलिविस्तार लगाइसकेका थिए।

काम सुरू गरेको सात महिनामा आफूले मासिक ९० हजारदेखि एक लाख भारूसम्म कमाइरहेको ती साथीले सुनाएका थिए। आफूभन्दा तीन वर्षअघि नै विदेशबाट घर फर्केका साथीको कुरा नपत्याउन रोशनसँग अरू कुनै बलियो तर्क थिएन। फेरि पुरानो मित्रताको आडले उनलाई अविश्वास गर्ने अनुमति दिएन। त्यसैले उनी राम्रो कमाइ हुने बाटोको यात्रामा निस्कन राजी भएका थिए।

‘मान्छे थप्दै लान सकियो भने झनै आम्दानी बढ्छ,' रेल यात्राका क्रममा साथीले सुनाएको कुरा रोशनले झलझली सम्झिए ‘तिमी कम्पनीमा जोडिएपछि त्यसको फाइदा मलाइ हुन्छ। तिमीले अर्को मान्छे जोडे त्यसको फाइदा तिमीलाई हुन्छ।’

पिरामिड आकारको यस्तो धन्दा नेपालमा प्रतिबन्ध छ। यसबारे रोशन बेखबर थिए। जोगबनीबाट रेल चढेर पटना पुगेका उनलाई साथीले इलामबाट हिँडेको तेस्रो दिन त्यहाँको पुनपुन भन्ने ठाउँमा पुर्‍याए।

‘अब हामीले काम गर्ने कम्पनी यही हो,' पटनाको मुख्य सहरभन्दा १५ किलोमिटर टाढाको एउटा ठूलो पाँच तलाको घरमा टाँगिएको बोर्ड ती साथीले रोशनलाई देखाएका थिए, जहाँ ठूला अक्षरमा लेखिएको थियो ‘वि विनर ट्रेडमार्ट।’

नजिकैको साँघुरो कच्ची सडकमा ट्रयाक्टरहरूको बाक्लो ओहोरदोहोर थियो। कम्पनीको भवन वरिपरि फोहोरको साम्राज्य नै थियो। नजिकैक ढलको गन्ध त्यो भवनको आँगनसम्मै फैलिएको थियो। भवनभित्रको होहल्ला र कल्याङमल्याङले त्यहाँभित्र धेरै मान्छे छन् भन्ने छनक दिइसकेको थियो।

पाँच तले भवनको तेस्रो तलामा पुग्दा रोशनले देखे, त्यहाँ सयौं युवायुवतीहरू थिए। धेरैजसो नेपाली युवा थिए। ती सबै कम्पनीमा काम गर्न भनेर पुगेका हुन् भन्ने बुझ्न उनलाई समय लागेन।

त्यही भिडमा उनले साउदी अरबमा छँदा एकै कम्पनीमा काम गरेका कपिलवस्तुका एक जना साथी पनि भेटे। विदेशको अर्को साथी पनि त्यहाँ भेटिँदा रोशनले सोचे, ठिकै ठाउँमा आइएछ !

उनका अनुसार पुगेको केहीबेरमा त्यहाँ रहेका सबैलाई फारम भर्न लगाइयो। उनले पनि भरे।

‘फारमसँगै २० हजार भारू तिर्नुपर्नेरहेछ, खर्च बोकेकै थिएँ, मैले दिएँ,' रोशनले सम्झिए ‘पैसा बुझेपछि दुई तीन जना टाइ सुट लगाएर चिटिक्क परेका नेपालीहरूले हामीलाई कामबारे सम्झाए। त्यहाँ काम गर्दाको फाइदाबारे धेरै आशालाग्दा कुरा गरे।’

उनका अनुसार ‘वि विनर’ कम्पनीले तयारी कपडाको कारोबार गर्थ्यो। त्यही कपडा बिक्री गर्नुपर्ने, बिक्रीका लागि हिँड्न मन नहुनेहरूले लगानी गरे व्यापारिक साझेदार बन्न सक्ने कुरा त्यहाँ सुनाइएको थियो।

‘गरिबको जीवनस्तर माथि पुर्‍याउने उद्देश्य हाम्रो कम्पनीको हो,’ त्यहाँ सबैलाई एकै ठाउँ भेला पारेर भनिएको थियो।

भोलिपल्टबाट तालिम सुरू भयो। कपडा कसरी लगाउने, टाइको महत्त्व, कपडाले व्यक्तित्वमा पार्ने प्रभावदेखि लिएर समयमा खाने, सुत्ने, उठ्ने गर्दाका फाइदाहरूसम्म तालिममा पढाइ हुन्थ्यो।

१० दिनको तालिम सकियो। तालिम सकिएपछि कम्पनीका ‘बोस’हरूले रोशनलाई अलग्गै कोठामा लिएर गए। उनलाई काम गर्नभन्दा लगानी गरेर सदस्य थप्न आग्रह गरे।

‘तपाईंले भारू दुईलाख लगानी गर्नुभयो भने हरेक महिना ९० हजारका दरले फिर्ता पाइरहनु हुन्छ। लगानी रकम सुरक्षित भइरहन्छ।’

आफूलाई लिएर जाने र कपिलवस्तुका साथीसित उनले सल्लाह गरे। उनीहरूले पनि लगानी गर्न हौस्याए।

‘कति सकिन्छ म पैसा लिएर आउँछु भनेर म घर फर्किएँ,' उनले भने ‘घरमा आएपछि ती साथीहरूले चार जना थप मान्छे जोडेर आए झनै फाइदा हुने कुरा सुनाएपछि म मान्छे खोज्न थालेँ।’

त्यस क्रममा उनले भतिजा, भान्जाहरू भेला पारे। उनीहरू सबैलाई कम्तीमा ३० हजार भारू बोकेर हिँड्न भनेका थिए। परिवारकै अभिभावकले राम्रो कमाइको आशा देखाएपछि बेरोजगार नवयुवा पनि हौसिए।

बिहारबाट घर फर्केको दुई सातापछि दुई लाख भारू र नातेदार भाइ भतिजाहरूसहित उनी फेरि बिहारतिर लम्किए।

उनले भर्खरै सुरू गरेको बाख्रा फार्म अर्कैलाई जिम्मा लगाए।

विदेशबाट जोगाएको अलिअलि पैसामा बाख्रा फार्मको पनि केही थपेर कम्पनीमा पैसा बुझाए। पैसा बुझाएको पहिलो महिना उनको हातमा ३३ हजार भारू आयो।

उनले २५ हजार तलब हुन्छ भनेर लगेका नातेदारहरूको हातमा ५–५ हजार मात्रै परेको थियो। धेरै पैसा हात पर्न कि लगानी गर्नुपर्ने कि २० हजार भारू एकमुष्ठ तिर्ने अरू सदस्य खोज्नुपर्ने शर्त कम्पनीको हुन्थ्यो। तीन चार सय जना मान्छे बसेको त्यो पाँच तले भवनलाई उनीहरू ‘होस्टल’ भन्थे।

होस्टल छाडेर कि घरै जानुपर्ने कि कपडा बोकेर डुलाउँदै हिँड्नुपर्ने हुन्थ्यो। कपडा बोकेर डुलाउन जानेहरूले कम्पनीबाटै महँगो मूल्यमा आफूले लगाउने लुगा किन्नपर्थ्यो। कपडा किन्न नसक्नेहरू होस्टलमा पानी जस्तो पातलो दालसित मोटो चामलको भात खाएर बसिरहन्थे।

पहिल्यै लिएको २० हजारले तालिम, खाना लाइसेन्स पाइने भनिए पनि उनले त्यो लाइसेन्स देख्न पाएनन्, न हातमा कुनै काम नै पाए।दोस्रो महिना बितिसक्दा होस्टलमा अरू धेरै मान्छे थपिइसकेका थिए। रोशनलाई गाउँबाट बिहारसम्म पुउने साथी ‘कम्पनीकै कामले’ जयपुर गएका थिए।

जब दोस्रो महिना रोशनको हातमा १५ हजार रूपैयाँ मात्रै पर्‍यो, उनी झस्किए।

‘९० हजार आउँछ भनेर दुई लाख हालेको पहिलो महिना ३३ र दोस्रो महिना १५ हजार मात्रै आयो,’ रोशनले सुनाए ‘मैले लगेका भाइहरूले त पहिलो महिना पाएको पाँच हजार पनि पाएनन्।’

त्यसपछि सुरू भए रोशनका तनावका दिन।

आफूले लगेका परिवारकै निकट सदस्यले दिनरात किन हामीलाई फसाएको भनेर दबाब दिन थाले। पैसा फिर्ता चाहियो भन्दै उनीहरूले रोशनलाई किचकिच गरे।

आफूले पुर्‍याएका चार जनाले दबाब दिन सुरू गरेपछि उनी पनि कम्पनीका ‘बोस’ हरूसम्म पुग्थे। तर, पहिले उनीसित ‘डिल’ गर्नेहरू त्यहाँ थिएनन्। उनलाई लैजाने साथी पनि जयपुरतिर बेपत्ता जस्तै थिए।

सुरूमा लगानी गर्न हौस्याउने कपिलवस्तुका साथीको पनि हालत उस्तै थियो। डेढ लाख भारू लगानी गरेका उनी पनि ठगिएको महसुस गर्न थालिसकेका थिए।

‘अर्को एक महिनासम्म म कम्पनीवालाहरूसित आफ्नो र भाइहरूको पैसा फिर्ता माग्दै बसिरहेँ, त्यहाँ धेरै हल्ला गरे मारिदिनेसम्मको धम्की बाउन्सरहरूले दिन थाले,' उनले भने।

तीन महिनापछि मात्रै आफू ठगीमा परेको सुइँको पाएको सुनाउँदै उनले थपे, ‘त्यसबेलासम्म मेरो मात्रै अढाइ लाख भारूभन्दा धेरै पैसा फसिसकेको थियो, मैले लगेका भाइहरूको पनि सबै गरेर एक लाखभन्दा धेरै भारू सकिइसकेको थियो। त्यसपछि नेपाल पुगेर तिमीहरूको पैसा फिर्ता गर्छु भनेर उनीहरूलाई लिएर घर आएँ।’

यसबीचमा रोशनले ती कसैको पैसा फिर्ता गर्न सकेनन्।

उनलाई लिएर जाने साथी पहिले फेसबुक र ह्वाटसएपमा उपलब्ध थिए। जयपुरतिर हिँडेपछि उनी सम्पर्कबाट पनि हराए।

केही महिनाको बीचमा आफ्नो अढाइ लाख र आफन्तको एक गरी साढे तीन लाख भारूको बोझमा परेका रोशन गएको मंसिर अन्तिममा फेरि कतार गएका छन्।

‘१२ वर्ष विदेश बसेपछि अब बस्दिनँ भनेर घर फर्केको वि विनरको चक्करले फेरि विदेश नआइ नहुने बनायो,' आइतबार राति सेतोपाटीसँग ह्वाट्सएपमा कुरा गर्दै ४० वर्षीय रोशनले भने ‘अहिले कतार आएर फेरि सुरक्षा गार्डको काम गर्न थालेको छु।’

यसबीचमा आफूले बिहार पुर्‍याएका दुई जनाको पैसा तिरेको र बाँकी दुईको तिर्ने तयारीमा रहेको उनले सुनाए।

‘त्यो कम्पनीमा मैले जसरी पैसा डुबाउनेहरू नेपालमा हजारौं पुगिसकेका छन्,’ उनले भने ‘केहीले अलिअलि कमाए भने बेग्लै कुरा नत्र धेरैको पैसा मेरो जसरी नै डुबेको छ।’

उनका अनुसार उक्त कम्पनीको होस्टल क्षेत्रलाई बाउन्सरहरूको कडा निगरानीमा राखिएको हुन्छ। पैसा लगानी गरेकाहरूलाई जसरी हुन्छ, त्यहाँ बाट खेदाउन अनेक प्रपञ्च गर्नु र धम्की दिनु त्यहाँका बाउन्सरहरूको मुख्य जिम्मेवारीमा पर्छ।

गएको आइतबार विराटनगरस्थित माइती नेपालले आफूले गरेका कामको प्रगति विवरण सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गरेको थियो। त्यहीँ प्रस्तुत एउटा तथ्यांक पछ्याउँदै जाँदा हामीले इलामका रोशनलाई फेला पारेका हौँ।

माइती नेपालको तथ्यांकअनुसार पहिलेपहिले धेरै महिला नजानेर, कसैले फकाएको वा आश्वासन दिएको भरमा भारतीय बजारमा बेचिन पुग्थे। अहिले पनि महिलाहरू भारत वा विदेशी बजारमा बेचिने क्रम जारी नै छ।

‘तर, बेचिने ट्रेन्ड चेन्ज भएको छ,’ माइती नेपाल विराटनगरकी मनोपरामर्शदाता गिताञ्जली शर्माले भनिन् ‘अहिले धेरै महिला र बालिकाहरू भारतीय नेटवर्किङ व्यापारको फन्दामा परेर भारतीय बजार पुगिरहेका छन्। त्यहाँ पुगेर पैसा त फसाइरहेका छन् नै बेचिँदा पाइने यातनाहरू पनि सहन बाध्य भएका छन्।’

उनका अनुसार हरेक महिना माइती नेपालको विराटनगर शाखाले मात्रै चारदेखि पाँच जना यस्ता महिला र बालबालिकाहरू सीमा क्षेत्रमा फेला पारिरहेको छ, जो खुला रूपमा वि विनरमा काम गर्न हिँडेको भनेर गइरहेका हुन्छन्।

‘१३ वर्षदेखिका नानीहरू पनि गएको भेटेपछि हामीले उनीहरूलाई रोक्दै घर फर्काइरहेका छौं,’ उनले भनिन् ‘तर, कतिपय बेला त अभिभावक आफैले आएर उनीहरूलाई वि विनरमा पठाएको भन्दै हामीसित झगडा गर्नुहुन्छ।’

शर्माका अनुसार भारतमा पुगेर पैसा फसाइसकेका वा दुःख पाएकाहरूको कुरा सुन्दा ‘वि विनर’का नाममा हजारौं नेपालीको ठूलो रकम डुबेको छ। धेरै महिलाहरूले यातना खेपिरहेका छन्। तर, त्यसबारे थाहा नपाएका र काम दिन्छु भन्दै बोलाउनेको मात्रै भर पर्नेहरू भने आफूहरूसित रिसाउने गरेको उनले सुनाइन्।

मानव ओसार पसारविरूद्धकै क्षेत्रमा विराटनगरमा कार्यरत अरू दुईटा संस्थाको अनुभव पनि माइती नेपालको भन्दा फरक छैन।

‘त्यहाँ पुगेर दुःख पाएकाहरूलाई उद्धार गरेर ल्याएका पनि छौं, जानबाट रोक्न खोजेका पनि छौं,’ नव अभियान नेपाल मोरङका संयोजक समिर न्यौपानेले भने ‘तर वि विनर, ओरियन्स, ओसन जस्ता नेटवर्किङको फन्दामा पर्नेहरूको संख्या अधिक बढिरहेको छ। तराईभन्दा पहाडी जिल्लाका मानिसहरू धेरै फसेको हामीले पाएका छौं।’

मानव तस्करीविरूद्धकै अभियानमा सक्रिय रहेको अर्को संस्था साना हातहरू नेपाल मोरङका शाखा प्रबन्धक विवश श्रेष्ठका अनुसार अहिले पनि पिरामिड शैलीको अवैध व्यापारको लोभमा पहाडी क्षेत्रका सर्वसाधारण अझै पनि गइरहेका भेटिन्छन्।

‘इलाम, पाँचथर, संखुवासभा, सुर्खेततिरका धेरै पीडितहरूलाई हामीले सीमा क्षेत्रबाट नेपालतिर आएको भेटेका छौं,' उनले भने ‘कतिले प्रहरीमा उजुरी गर्नुभएको छ। कतिले पैसा माया मार्नुभएको छ। धेरैको विजोग भएको छ।’

‘६–७ कक्षा पढेर छाडेका, १९ वर्षभन्दा मुनिका धेरै नानीहरू यस्तो व्यापारको मारमा परेको उदाहरण हामीले धेरै भेटेका छौं,' उनले थपे ‘यो समस्या विकराल बन्दै गएको छ।’

सेतोपाटीले वि विनरमा पैसा फसाएर आफू पनि झण्डै जोगिएर आएकी १७ वर्षीया एक किशोरीलाई पनि भेटेको छ। जो अहिले चरम निराशाले गाँजिएर मनोचिकित्सकको सहयोगमा रोगबाट मुक्ति पाउने चरणमा पुगेकी छन्।

सात कक्षा पढ्दापढ्दै स्कुल छाडेकी मोरङकी १७ वर्षीया ‘जुन’ (परिवर्तित नाम) लाई पनि चिनेकी साथीले भारतीय सहरमा जागिर खान जाने प्रस्ताव गरेकी थिइन्।

ठ्याक्कै उस्तै प्रस्ताव सुनेपछि जुनले आमाबाबुकै सल्लाहमा गाउँको सहकारीबाट एक लाख ८० हजार रूपैयाँ ऋण निकालिन्। छोरीले राम्रो कमाउने सम्भावना सुनाएपछि आमाबाबुले पनि घरघडेरी धितो राखेर ऋण निकालेर छोरीको हातमा पैसा थमाइदिए।

साथीसँगै गएर बिहारको त्यही ‘वि विनर’ कम्पनीलाई भारू एक लाख बुझाइन्। यो गएको वैशाखको कुरा हो।

‘पैसा त बुझाएँ तर न काम दिन्छ न पैसा नै फिर्ता दिन्छ उल्टै नचाहिने काम गर्न अप्रत्यक्ष रूपमा दबाब आउन थाल्यो’ आइतबार बाबुसँगै चिकित्सक भेट्न विराटनगर आएकी जुनले भनिन् ‘त्यसपछि चाहिँ पैसा डुब्यो जस्तो लाग्न थाल्यो। मलाई लैजाने साथीको त झन् तीन लाख फसिकेको रहेछ। मलाई त के गरौं कसो गरौं जस्तो भएर पूरै छटपटी हुन थाल्यो।’

त्यहीक्रममा उनले एक दिन बिहान कम्पनीमा उनीहरूको समूहका सुपरभाइजरलाई भेटिन्। पटनाका स्थानीय बासिन्दा मुकेश झा नामका ती व्यक्तिको कुराले त उनलाई भाउन्न छुटायो।

ती व्यक्तिले लगानी डुब्ने चिन्ता नगर्न उनलाई सम्झाए ‘तिम्रो लगानी डुब्दैन। तर, चार पाँच महिना त लागिहाल्छ नि लगाउने बित्तिकै आम्दानी कहाँ हुन्छ? बरू म एउटा तरिका दिन्छु तिमीलाई पैसा कमाउन ज्यादै सजिलो हुन्छ।’

मुकेश भन्ने व्यक्तिले थप्दै गए ‘यहाँ आएका धेरै केटीहरूले आफ्नो अनुहार नदेखाइ आफैले न्याकेड (नांगो) भिडियो सुट गराएर पैसा कमाइरहेका छन्। तिमीलाई त्यसो गर्न असहज हुन्न भने गरे हुन्छ। तर, म फोर्स चाहिँ गर्दिनँ।’

उसका कुरा सुनेपछि जुन खंग्रङ्ग भइन्। अरू भन्दा पनि वृद्ध भइसकेका बाबुआमाको अनुहार सम्झिइन्। अनि सम्झना भयो मासिक १५ प्रतिशत ब्याजमा लिएको सहकारीको ऋण। आफूले त्यहाँ कुनै प्रतिवाद गरिनन्।

‘त्यसपछि त त्यहाँ बस्नै मन लागेन एक दिन कपडा डुलाउने बहाना गरेर म र मेरो साथी भाग्यौं,’ जुन १ ले भनिन् ‘भागेर आउने क्रममा इलामका दाइहरू (रोशन र उनका भाइहरू) सित भेट भयो। उहाँहरूको कुरा सुनेपछि ठगहरूले हाम्रो पनि पैसा खाइदिए भन्ने लाग्यो।’

हातभरी पैसा बोकेर घरबाट हिँडेकी छोरी रित्तो हात घर फर्केपछि पारिवारिक कचिगंलको बहाना नै त्यही भयो।

‘त्यसको एक दुई महिनापछिदेखि रिंगटा लागे जस्तो हुने, शरीर झमझम भएजस्तो हुने, कोहीसित बोल्न मन नलाग्ने हुन थाल्यो। अहिले डाक्टर देखाएपछि अलि सहज हुन थालेको छ,’ जुनले भनिन्।

निको भएपछि ऋण तिर्नकै लागि वैदेशिक रोजगारीमा जाने योजना उनले सुनाइन्।

माइती नेपालकी मनोपरामर्शदाता गिताञ्जली शर्माका अनुसार पछिल्लो समय साथीको लहैलहैमा लागेर अभिभावक मनाएर अथवा अभिभावकलाई छलेर नेटवर्किङ व्यापारमा फस्न जानेहरूको संख्या बढेको छ।

नेपाल प्रहरीले पनि पछिल्लो समयमा भारतीय नेटवर्किङ धन्दाका कारण नेपालीहरू ठगिएको उजुरीहरू आइरहेको जानकारी दिएको छ।

‘अन्डर एजका व्यक्तिहरूको उजुरी त हामीसम्म अहिलेसम्म आएको छैन,' मोरङ प्रहरी प्रवक्ता डिएसपी रन्जन दाहालले भने ‘तर, कोशीकै पहाडी जिल्लाकादेखि सुर्खेतसम्मका पीडितहरूले उजुरी दिनुभएको छ।’

यस्तो संख्या धेरै रहेको उनको भनाइ छ।

सामान्य चिनजानकै व्यक्तिले लोभ देखाएको भरमा धेरैले पैसा डुबाएको भेटिएको माइती नेपालको भनाइ छ।

‘कतिपय उमेर नपुगेका नानीहरू फेसबुकमा चिनेकै भरमा त्यसरी पैसा कमाउन भन्दै हिँडेको पनि पाएका छौं,’ शर्माले भनिन् ‘सबै उमेर समूहका मानिसहरू यस्तरी फसेको भेटेका छौं।’

फेसबुकमा चिनेकै भरमा साथ लागेर हिँड्दा दुःख पाउनेहरू पनि थपिँदै गएका छन्। लगभग दुई महिनाअघि मात्रै एक जना ३३ वर्षीया महिला यस्तै फन्दामा परेको उनले सुनाइन्।

ती ३२–३३ वर्षकी विवाहित महिला दुई बच्चाकी आमा हुन्। उनी एक जनासँग प्रेममा परिछन्। पतिसँग पनि ठाकठुक परिरहने कारणले दिक्क भएकी ती महिलालाई प्रेमीले पहिले तिमी आउ,पछि छोराछोरी ल्याउन मिल्छ भनेर फकाएछन्।

'साथमा रहेको सुन, पैसा बोकेर उहाँ बिहारतिर हिँडनुभयो,’ गिताञ्जलिले भनिन्।

महिलाको साथमा रहेको सुन र पैसा लिएर ती पुरूष महिलालाई होटलमा अलपत्र छाडेर बेपत्ता बनेछन्। होटलवालाले पछि यौनकर्ममा लाग्न जबरजस्ती गरेपछि ती महिला भागेर प्रहरीमा पुगिछन्।

गिताञ्जलिले भनिन्, ‘भारतीय प्रहरीले नेपाल प्रहरीलाई अनि प्रहरीले माइती नेपाललाई जिम्मा लगाएपछि उहाँलाई दुई महिना हामीसँगै राखेर परिवारमा पुनःस्थापित गराएका छौं।’

उनलाई त्यसरी भारत पुर्‍याउने राजविराजका पुरूषविरूद्ध अहिले मुद्दा चलिरहे पनि प्रहरीले पक्राउ गर्न सकेको छैन।

मानव तस्करीविरूद्धको अभियानमा रहेका संस्थाका प्रतिनिधिहरूको अनुभव अनुसार यसरी भारतीय भूमिमा पुगेर पैसा फसाउने, जोखिमपूर्ण काममा लाग्न बाध्य हुनुपर्ने नागरिकको बाध्यताविरूद्ध गाउँ-गाउँमा सचेतना आवश्यक छ।

‘हामीले सीमामा रोक्न खोजेर सम्झाउन खोजेर सहयोग गर्न खोज्छौं तर उहाँहरू हामीलाई काम गर्न, कमाउन जान पनि नदिने भनेर निहुँ खोज्नुहुन्छ,' माइती नेपालदेखि साना हातसम्मका संस्थागत अनुभवको निष्कर्ष छ ‘तिमीहरूले जागिर देऊ अनि हामी जान्नौं भन्नुहुन्छ। तर, पुगेर फसेकाहरूको कुरा ठीक उल्टो हुन्छ। त्यसैले कम्तीमा अवैध व्यापारमा र नचिनेकाहरूको भर पर्दै नपरौं भन्ने चेत जगाउने अभियान चाहिएको छ।’

Published on: 27 February 2024 | Setopati

Link

Back to list

;