s

विज्ञापन प्रकाशन नगर्ने १४८ म्यानपावरलाई ७४ लाख जरिवाना

वैदेशिक रोजगार विभागले विज्ञापन प्रकाशन नगर्ने १४८ म्यानपावर कम्पनीलाई जरिवाना गराएको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरको निर्देशनमा विभागले जरिवाना गराएको हो।

राष्ट्रिय दैनिक पत्रिकामा विज्ञापन प्रकाशन गर्नका लागि विभागबाट पूर्वस्वीकृति लिई विज्ञापन प्रकाशन नगर्ने १ सय ४८ संस्थालाई ५० हजारका दरले जरिवाना गराएको हो।

१ सय ४८ संस्थालाई ५० हजारका दरले जरिवाना गराउदा ७४ लाख जरिवाना रकम संकलन गरिएको विभागले जनाएको छ। साउन ३ र ४ गते विज्ञापन प्रकाशनका लागि अनुमति लिएर पनि विज्ञापन प्रकाशन नगरेकाले उनीहरुलाई वैदेशिक रोजगार ऐन २०६४ को दफा ४९ बमोजिम जरिवाना गराएको विभागका महानिर्देशक शेषनारायण पौडेलले जानकारी दिए।

उनीहरुले विज्ञापन प्रकाशन गरे नगरेको बारे विभागले करिब एक महिना लगाएर अनुगमन गरेको महानिर्देशक पौडेललेले बताए। संस्थाले विज्ञापन प्रकाशनको नाममा ऐनको दफा ४९ उल्लङघन गरेको विभागको ठहर छ।

वैदेशिक रोजगार ऐन २०६४ को दफा ४९ को १ मा कुनै पनि इजाजतपत्रवालाले दफा १६ बमोजिम विज्ञापन प्रकाशन नगरेमा वा विभागको स्वीकृति बिना विज्ञापन प्रकाशन गरेमा विभागले त्यस्तो इजाजतपत्रवालालाई पचास हजार रुपैयाँ जरिबाना गरी त्यस्तो विज्ञापन रद्द गर्न लगाउने कुरा उल्लेख छ।

ऐनअनुसार कुनै पनि मेनपावरले रोजगारदाता संस्थासँग भएको सम्झौता वा सहमतिका आधारमा वैदेशिक रोजगारमा कामदार पठाउनुपूर्व रोजगारदाता संस्थाको नाम, ठेगाना र कामदार पठाउने मुलुक, वैदेशिक रोजगारको किसिम, कामदारको किसिम र संख्या, कामदारले पाउने तलब, सुविधा जानकारीसहित सूचना प्रकाशित गर्नुपर्छ।

सूचनामा बिदा, कामदारले काम गर्नुपर्ने दिन र समय, वैदेशिक रोजगारमा जाने मुलुकको आधिकारिक निकाय वा कूटनीतिक नियोग वा श्रम सहचारी वा चेम्बर अफ कमर्स वा नोटरी पब्लिकबाट प्रमाणित गरिएको मागपत्र र अख्तियारनामाको सक्कल प्रति, रोजगारदाता संस्था र कामदारबीच हुने करारको प्रतिलिपि, इजाजतपत्रवाला र कामदारबीच हुने करारको प्रतिलिपि हुनु पर्नेछ।

ऐनअनुसार विभागबाट स्वीकृति प्राप्त भएपछि इजाजतपत्रवालाले तोकिए बमोजिमको विवरण खुल्ने गरी कामदार छनोट गर्न राष्ट्रियस्तरको कुनै पनि दैनिक पत्रिकामा कम्तीमा सात दिनको म्याद दिई विज्ञापन प्रकाशन गर्नुपर्नेमा सो नगरेको विभागको भनाइ छ। यसरी प्रकाशित भएको सूचना सम्बन्धित इजाजतपत्रवालाले आफ्नो कार्यालयको सूचना पाटीमा टाँस गरी सो सूचनाको एक प्रति सोही दिन विभाग समक्ष समेत पेश गर्नुपर्ने उल्लेख छ।

Published on: 2 August 2022 | Setopati

Link

Back to list

;