s

विद्यार्थीलाई सहयोग गर्न दूतावासद्वारा अस्ट्रेलियाली सरकारलाई पत्राचार

नारायण खड्का

अस्ट्रेलिया — कोरोना भाइरसको संक्रमण र यसबाट सिर्जित समस्याबाट पीडित बनेका नेपाली विद्यार्थीलाई सहयोग पुर्‍याइदिन आग्रह गर्दै यहाँस्थित नेपाली दूतावासले अस्ट्रेलियाको विदेश विभागलाई पत्राचार गरेको छ ।

अस्ट्रेलिया सरकारले भाइरसको संक्रमण रोक्नका लागि विभिन्न क्षेत्रमा गरेको लकडाउनले विद्यार्थीहरु समस्यामा परेको भन्दै क्यानबेरास्थित नेपाली दूतावासले ‘डिपार्टमेन्ट अफ फरेन अफेयर्स’ मा औपचारिक पत्राचार गरेको हो ।

दूतावासले पठाएको पत्रमा नेपाली विद्यार्थीले लकडाउनका कारण जागिर गुमाउनु परेको, उनीहरुको बसोबास, घरको भाडा तिर्न नसक्ने अवस्था सृजना भएको र केहीको भिसा समेत सकिन लागेको अवस्थालाई मध्यनजर गरेर विशेष सहयोग गरिदिन आग्रह गरिएको छ । साथै नेपाली विद्यार्थीहरु तेस्रो ठूलो संख्यामा रहेका कारण समेत उनीहरुलाई आवश्यकता अनुसार सरकारी तवरबाट सहयोग गरिदिनुपर्ने दूतावासले माग गरेको छ ।

अस्ट्रेलियामा अहिले करिब ५५ हजार नेपाली विद्यार्थी अध्ययनरत छन् । जसमा करिब दुई सय जना अहिले सेल्फ आइसोलेसनमा बस्न बाध्य छन् । अस्ट्रेलियास्थित नेपाली दूतावासका अनुसार विदेश विभागलाई नेपाली विद्यार्थी कठिन परिस्थितमा रहेको र यस अवस्थामा सहयोगको खाँचो रहेको जनाउदै पत्राचार गरिएको भएपनि अहिलेसम्म कुनै जवाफ भने नआइसकेको जनाएको छ ।

Published on: 25 March 2020 | Kantipur

Link

Back to list

;