s

विद्यार्थी विदेश लैजान ३५ वटा शैक्षिक मेला

भवानीश्वर गौतम

सरकारी स्वीकृतिविना पनि कतिपय मेला 

पछिल्लो समय शैक्षिक मेला आयोजना गर्दै नेपालबाट विदेशमा विद्यार्थी लैजाने क्रम बढेको छ । विगतमा एक–दुई संस्थाले गर्दै आएकामा केही समययता मेला गर्नेको संख्या ह्वात्तै बढेको छ । यो आर्थिक वर्षमा मात्रै ३५ वटा संस्थाले शैक्षिक मेलाका लागि स्वीकृति लिएका छन् ।
 
शैक्षिक मेला गर्नेमा अधिकांश नेपाली शैक्षिक संस्था रहेका छन् । शिक्षा मन्त्रालयको शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाका शाखा अधिकृत तारानाथ निरौलाका अनुसार चालू आवमा स्वीकृति पाएका ३५ मध्ये पाँचवटा विदेशी संस्थाले शैक्षिक मेला आयोजना गरेका छन् । यो वर्ष धेरै शैक्षिक मेला आयोजना भएको उनको भनाइ । मेलाका लागि नेपाली संस्थाले पाँच हजार र विदेशी संस्थाले एक हजार डलर राजश्व तिर्नुपर्ने व्यवस्था छ । कतिपय शैक्षिक संस्थाले विद्यालय शिक्षाका लागि समेत स्वीकृति माग्ने गरे पनि शिक्षा मन्त्रालयले स्वीकृति दिएको छैन । निरौलाका अनुसार विद्यालय शिक्षा राज्यको दायित्व भएकाले त्यसका लागि शैक्षिक मेला गर्न स्वीकृति नदिइएको हो ।
 
कन्सल्टेन्सीले गर्छन् धेरै शैक्षिक मेला
 
पहिले शैक्षिक परामर्श व्यवसायीहरूको छाता संगठन नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले शैक्षिक मेला आयोजना गर्ने गथ्र्यो । पछिल्ला समयमा एउटै कन्सल्टेन्सीले पनि शैक्षिक मेला आयोजना गर्दै आएका छन् । अस्ट्रेलिया अध्ययन गर्न चाहने विद्यार्थीलाई आकर्षित गर्न अहिले काठमाडौं उपत्यका मात्र नभई बाहिरसमेत शैक्षिक मेला भइरहेका छन् । अधिकांश संस्थाले तारे होटल तथा सुविधा सम्पन्न ठाउँमा मेला आयोजना गर्दै आएका छन् । जनवरीमा मात्र ग्लोबल रिच, एइसिसी ग्लोबल, द नेक्स्ट, कंगारु एजुकेसनलगायतका शैक्षिक संस्थाहरूले अस्ट्रेलिया केन्द्रीत गरी मेला सम्पन्न गरेका छन् । अधिकांश कन्सल्टेन्सीले अस्ट्रेलियाका दर्जनौ विश्वविद्यालय-कलेजका प्रतिनिधिको सहभागितामा यस्तो मेला सम्पन्न गरेको दाबी गरेका छन्।
 
शैक्षिक मेलाको फाइदा के ?
 
कन्सल्टेन्सीहरूले वर्षभरि नै परामर्श दिए पनि शैक्षिक मेलासमेत गर्दै आएका छन् । मंगलबार ‘कंगारु ऐजुकेसन फेयर २०१८’ आयोजना गरेका कंगारु एजुकेसन कन्ल्टेन्सीका एमडी महेशबाबु तिमल्सिनाले मेलाबाट विद्यार्थीले धेरै लाभ लिन सक्ने बताए । ‘हामीले वर्षैभरि परामर्श दिन्छौं, तर मेलामा विदेशी विश्वविद्यालय तथा कलेजका प्रतिनिधिसँग प्रत्यक्ष भेटेर सूचना लिन पाउने मौका पनि हो,’ उनले भने, ‘विभिन्न कोर्ष र विश्वविद्यालयका बारेमा जानकारी प्राप्त गर्न सक्छन्।’
 
विद्यार्थीका शैक्षिक तथा व्यक्तिगत विशेषताका आधारमा विभिन्न देशका इमिग्रेसन पोलिसी, कोर्षबारे सल्लाह, विश्वविद्यालय तथा तिनका लागि उपयुक्त देशबारे परामर्श लिन सक्छन् । एइसिसी ग्लोबलका डेस्टिनेसन हेड शैलेशकुमार झाले विद्यार्थी तथा तिनका अभिभावकले प्रत्यक्ष अस्ट्रेलियन कोर्ष प्रदायकलाई भेटी भर्ना, छात्रवृत्ति तथा भिसा डकुमेन्टेसनसँग सम्बन्धित जिज्ञासा मेट्ने तथा जानकारी लिने अवसर रहेको बताए ।
 
अस्ट्रेलियालक्षित धेरै मेला
 
केही वर्षयता अस्ट्रेलिया अध्ययनमा केही सहजता देखिएकाले सोही आकर्षणलाई लक्षित गरी अस्ट्रेलियन एजुकेसन फेयर गर्ने क्रम बढ्दो छ । जनवरीमा मात्र आधा दर्जन कन्सल्टेन्सीले विभिन्न सहरमा मेला सञ्चालन गरेका छन् । विदेश अध्ययनमा जान चाहने नेपाली विद्यार्थीको रेकर्डलाई तोड्दै आव ०७३-७४ मा ५० हजारभन्दा बढीले शिक्षा मन्त्रालयबाट ‘नो अब्जेक्सन लेटर’ लिएका थिए । एक वर्षको अवधिमा विदेश अध्ययनका लागि ५० हजार ६५९ जनाले ‘नो अब्जेक्सन लेटर’ लगेकामा झन्डै आधार अर्थात् २४ हजार २३३ विद्यार्थील अस्ट्रेलियाका लागि सो पत्र लगेका छन् ।
 
Published on: 24 January 2018 | Naya Patrika

Back to list

;