s

विद्युतीय ठगीकोे आरोपमा कतारमा १६ कामदार पक्राउ

कतार प्रहरीले मोबाइलबाट ठगी गरेको अभियोगमा १६ जना एशियाली आप्रवासी कामदारलाई पक्राउ गरेको छ । म्यासेज तथा फोन कलमार्फत दुई लाख रियाल पुरस्कार परेको भन्दै कतारी नागरिकको बैंक खाताको विवरण मागी ती युवाहरुले आफ्नो खातामा रकम जम्मा गर्दै आइरहेको कतारी प्रहरीको दाबी छ ।
 
दुई लाख रियाल जितेको भन्दै फोन तथा म्यासेजमा सूचना दिने र बैंक खाता विवरण सोधी मोबाइल बैंकिङ सिस्टम प्रयोग गरी आफ्नो खातामा रकम जम्मा गर्ने सूचना पाएपछि उनीहरुमाथि निगरानी बढाइएको थियो । कतारी अपराध अनुसन्धान विभागका प्रमुख बिग्रेडिएर जमाल मोहम्मद अल काबीले उनीहरुलाई एउटै अपार्टमेन्टबाट पक्राउ गर्न सफल भएको बताएका छन् ।
 
प्रहरीले उनीहरुको साथबाट ठूलो परिमाणमा नगदका साथै थुप्रै मोबाइल फोन समेत बरामद गरेको छ । उनीहरूलाई कतार राष्ट्र बैंक, अन्य साना बैंक, भोडा फोन र ओरेडो टेलिकमको समन्वयमा पक्राउ गरिएको शुक्रबारको पेनिनसुला पत्रिकाले उल्लेख गरेको छ ।
 
उनीहरूलाई विद्युतीय ठगीको आरोपमा मुद्दा चलाइएको छ । पक्राउ परेका कामदारहरुको राष्ट्रियता भने सार्वजनिक गरिएको छैन । विभिन्न सूचनामार्फत इन्टरनेटको माध्यमबाट हुने यस्तो ठगी नियन्त्रण गर्न टेलिकम कम्पनीहरुको प्रयास भइरहेको छ ।
 
कतारमा आधिकारिक बैंक वा संस्थाले इमेलमार्फत कहिले पनि बैंक खाताको विवरण नमाग्ने भन्दै इन्टरनेटमा जथाभावी आएको लिंक खोली आफ्नो निजी विवरण नदिन विभागले सबैमा आग्रह गरेको छ ।
 
Published on: 27 January 2018 | Madhyanha 

Back to list

;