s

बिदेसिएकाभन्दा विदेशी कामदारको कमाइ बढी

सुजित महत/रोशन अधिकारी

खाडी मुलुक र मलेसियामा कमाउनेभन्दा नेपालमा काम गर्ने विदेशीको औसत कमाइ बढी हुने गरेको देखिएको छ । श्रम मन्त्रालयको सामाजिक सुरक्षा कोषले गरेको अध्ययनअनुसार नेपाल आउने प्रतिव्यक्ति रेमिट्यान्स रकम बाहिरिनेभन्दा कम छ ।

वैदेशिक रोजगारीमा जानेले औसतप्रति व्यक्ति महिनामा १३ हजार २ सय रुपैयाँ रेमिट्यान्स भित्र्याउँछन् । तर विदेशी (खासगरी भारतीय) ले त्योभन्दा निकै बढी रकम आफ्नो मुलुकमा पुर्‍याइरहेका छन् । भारतका लागि नेपाल रेमिट्यान्सको प्रमुख स्रोत मुलुक पनि हो । 'हामी यति रेमिट्यान्स भित्र्यायौं भनेर मख्ख छौं,' कोषका सदस्य सचिव केवलप्रसाद भण्डारी भन्छन्, 'तर हामी भारतका लागि रेमिट्यान्स पठाइदिने प्रमुख मुलुक पनि हौं भन्ने हेक्का राख्दैनौं ।'

राष्ट्र बैंकको तथ्याकंले वाषिर्क ५ अर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स नेपालबाट बाहिरिने देखाउँछ । जसमा ८० प्रतिशतभन्दा बढी भारत जाने गर्छ । भारतबाट निर्माण, गरगहना, टेलरिङदेखि कवाडीको काम गर्न काठमाडौं भित्रिनेको संख्या उल्लेख्य छ ।

जसको आय क्षेत्र र दक्षताअनुसार फरक फरक छ । भण्डारी न्यून रकम मात्र औपचारिक रूपमा बाहिरिने भएकाले केन्द्रीय बैंकको तथ्यांकको आधारमा कुनै धारणा बनाउन नसकिने बताउँछन् । 'श्रमिकले पैसा लैजाने अनौपचारिक च्यानलबाटै हो,' उनले थपे ।

अध्ययनअनुसार निर्माण क्षेत्रमा कार्यरत करिब २५ प्रतिशत जनशक्ति भारतीय छन् । बिहार, उडिसा, राजस्थान र बैंलोरका कामदार छन् । उडिसाका मात्रै करिब ४ देखि ५ हजार व्यक्ति प्लम्बिङको कामका लागि काठमाडौंमा छन् । मार्बल/टायलको काम गर्न ५० हजार राजस्थानी मजदुर यतै बसेका छन् । गरगहना निर्माणलगायत काममा त ७५ प्रतिशत भारतीय नागरिक काम गर्छन् । टेलरिङ र गार्मेन्टमा ४० देखि ५० प्रतिशत भारतीय कामदार छन् । सडकमा बिक्रेताको रूपमा काम गर्ने भारतीयको संख्या पनि ४० देखि ५० प्रतिशत रहेको अध्ययनले देखाएको छ ।

निर्माण क्षेत्रमा काम गर्नेमध्ये अदक्षले दैनिक २ सय ५० र दक्षले ३ सय ५० आर्जन गर्छन । यो क्षेत्रमा काम गर्ने कामदारको औसत आय ५ हजारदेखि २५ हजार रुपैयाँसम्म देखिन्छ । जसले औसतमा ७ हजार रुपैयाँ बचत गर्छन् ।

निर्माणमै काम गर्ने कन्ट्रयाक्टरको आय भने मासिक १ लाखसम्म हुने गरेको देखिन्छ । गहनाको काम गर्नेको आम्दानी प्रतिमहिना १० देखि ३० हजार रुपैयाँसम्म हुने गरेको देखिन्छ । तर धेरै अनुभव भएकाले १ लाख रुपैयाँभन्दा बढी पनि कमाउँछन् । सुनको काम गर्नेले मासिक १५ हजार रुपैयाँ बचत गरेर १० हजार रुपैयाँ घर पठाउने गरेको अध्ययनमा देखिएको छ ।

भारतीय कालिगढले मात्र वाषिर्क ५ अर्ब रुपैयाँको हाराहारीमा रकम भारत लैजाने गरेको देखिन्छ ।

सडकमा तरकारीदेखि अन्य सामान बिक्री गर्ने भारतीयले मासिक १५ देखि ४० हजार रुपैयाँसम्म आर्जन गर्ने देखिएको छ । इँटा कारखानामा काम गर्ने भारतीयले मासिक १५ हजार रुपैयाँसम्म आर्जन गर्ने गरेका छन्् । कारखानामा सरदारका रूपमा काम गर्नेको आय भने ३० देखि ६० हजार रुपैयाँसम्म हुने गर्छ ।

टेलरिङ र टेक्सटायलको काममा लागेका भारतीयको आय भने मासिक १० देखि ६० हजार रुपैयाँसम्म हुने गरेको छ । जसमार्फत ५ हजारदेखि ३० हजार प्रतिमहिनासम्म रेमिट्यान्स भारत जाने गरेको छ । फर्निचरको काम गर्ने कामदारमध्ये अदक्षले मासिक ७ र दक्षले २५ हजार रुपैयाँसम्म आर्जन गर्छन् । तर सिजनमा भने कमाइ १ लाख रुपैयाँसम्म हुने अध्ययनमा देखिएको छ । फर्निचरको काम गर्नेले मासिक औसत १० हजार रुपैयाँ रेमिट्यान्स पठाइरहेका छन् । कवाडीको काममा करिब ३३ प्रतिशत भारतीय रहेको अध्ययनबाट देखिएको छ । जसले मासिक १२ देखि ३५ हजार रुपैयाँसम्म आर्जन गरिरहेका छन् ।

कपाल काट्नेमार्फत रकम बाहिरिन नदिन २०३४ सालमै राष्ट्रिय केश कर्तन तालिम केन्द्रको स्थापना गर्‍यो । तर नेपाली श्रमिकले कपाल काट्ने तालिम लिएर विदेशीलाई विस्थापित गर्न चासो नै देखाएनन् । श्रम मन्त्रालयको १६ ठाउँ सीप विकास तालिम केन्द्रका साथै अरू शान्ति मन्त्रालय, युवा स्वरोजगार केन्द्र, शिक्षा मन्त्रालयले पनि दक्ष जनशक्तिका लागि तालिम सञ्चालन गर्छन् । अझै पनि यस्ता तालिममा पर्याप्त रुचि नदेखिएको भण्डारीले बताए ।  

अधिकांश भारतीय कामदार व्यक्तिगत रूपमा कामको खोजी गर्दै काठमाडौं आइपुग्छन् । काम गरेर फर्किएकाको साथ लागेर थप आउने क्रम बढ््दो छ । अन्यलाई आफूसँग काम गर्न ल्याउनेलाई नाइकेका रूपमा चिनिन्छ । जसको आय साधारण कामदारको भन्दा बढी हुने गर्छ । भारतबाट काम गर्न आउनेमध्ये १० प्रतिशतले मात्र परिवार सँगै ल्याएका हुन्छन् । जसमा धेरै आय भएका पर्छन् ।

भारतबाट काम गर्न काठमाडौंमा २० वर्षभन्दा बढी समयदेखि बस्नेको संख्या करिब २० प्रतिशत छ । ५ वर्षदेखि काम गर्ने सबैभन्दा बढी ४० प्रतिशत छन् । भारतबाट काम गर्न आएकामध्ये सबैभन्दा बढी ५२ प्रतिशतले कक्षा ४ सम्मको अध्ययन मात्र गरेका छन् । ११ देखि १२ कक्षासम्म अध्ययन गर्नेको संख्या ४ प्रतिशत मात्र छन् ।

काठमाडौं अन्य भारतीय सहरभन्दा नजिक परेको कारण धेरै कामदार आउने गरेका छन् । काठमाडौं आउन अन्य भारतीय सहर जानभन्दा कम खर्चिलो पनि छ । यसका साथै उपत्यकाको मौसमका कारण पनि कामदार आकषिर्त भएका छन् । बस्न लाग्ने खर्च कम हुनु र बचत धेरै हुनुले पनि भारतीय कामदार आकषिर्त भएका हुन् ।

भारतको बिहारबाटै सबैभन्दा बढी कामदार काठमाडौं छिरेका छन् । भारतीय कामदारमध्ये करिब ५० प्रतिशत बिहारबाट आएको अध्ययनमा देखिन्छ । त्यसपछि बंगाल, उडिसा र राजस्थानबाट आउने छन् ।

Published on: 9 September 2013 | Kantipur

Back to list

;