s

बिदेसिनेले धानेको हुलाक

राजु चौधरी

देशका अन्य क्ष्ाेत्रजस्तै हुलाक सेवालाई पनि बिदेसिनेको भरथेग रहेको देखिएको छ । मुलुकमा मोबाइल, टेलिफोन र इमेलको प्रयोग बढेर चिठीपत्रको आदानप्रदान आधा घटेको बेला हुलाकको झन्डै आधा आम्दानी पार्सल र ईएमएस -द्रुत डाँक) बाट हुने गरेको छ । गोस्वारा हुलाक कार्यालयका अनुसार आर्थिक वर्ष २०६८/६९ मा कुल आम्दानीको लगभग ४६ प्रतिशत पार्सल र ईएमएस सेवाको छ । उक्त वर्ष गोस्वारा हुलाक कार्यालयको आम्दानी करिब १२ करोड रुपैयाँ थियो । जसमध्ये ४ करोड ईएमएस र १ करोड ५० लाख रुपैयाँ पार्सलबाट भएको हुलाक कार्यालयका प्रशासन अधिकृत डिल्लीराम श्रेष्ठले बताए । उनका अनुसार पार्सल र ईएमएसबाट हुने आम्दानी औसत १० प्रतिशतले बढिरहेको छ । बढ्दो सूचना प्रविधिका कारण चिठीपत्र आदानप्रदान घटे पनि पार्सल र ईएमएस सेवा विस्तार हुँदै गएको श्रेष्ठले बताए । 'डीभी, शिक्षा, शरणार्थीका लागि बिदेसिने प्रचलन प्रचलन बढ्दो छ, 'उनले भने, 'सूचना प्रविधि भए पनि गिफ्ट र सामान पठाउने माध्यम पार्सल र ईएमएस नै हो ।

यस वर्ष पार्सल र ईएमएस सेवामा सामान अनुसार १० देखि २० प्रतिशत मूल्य बढेको छ । सामानमा केही मूल्य बढेकाले चालू आर्थिक वर्षमा आम्दानी अझ बढ्ने श्रेष्ठको अनुमान छ । जिल्ला र विदेशबाट आएको पार्सल गोस्वारा हुलाक भई अन्यत्र जान्छ ।

उपभोक्तालाई सर्वसुलभ सेवा दिन गोस्वाराले सन् १९९५ मा ईएमएस सेवा सुरु गरेको थियो । ईएमएस सेवा मुख्य व्यापारिक सेवा हो । यसमार्फत सर्वसाधारणले सामान विदेश पठाउने वा मगाउने काम गर्न सक्छन् ।

नेपालबाट भारत, मलेसिया, अमेरिका, जर्मन, सिगापुर, कतार, भुटानलगायत ३८ देशमा पार्सल, ईएमएस र चिठी जान्छ । उक्त मुलुकबाट विश्वभरि नै पार्सल, ईएमएस र चिठी पुग्ने गोस्वारा हुलाकका शाखा अधिकृत रामेश्वर अर्यालले बताए । उनका अनुसार अहिले सबैभन्दा बढी पार्सल अमेरका, इजरायललगायत खाडी मुलुकबाट आउँछ । हुलाकमा कर्मचारी कमीका कारण समस्या भएको उनले बताए । 'हुलाक भन्ने बित्तिकै अपहेलित रूपमा लिने गरिन्छ,' उनले भने । नयाँ प्रविधि, वेबसाइटका रूपमा काम गर्ने प्रावधान भए पनि दक्ष जनशक्तिको अभावले समस्या भएको उनले बताए । अरू दिनको तुलनामा हुलाक कार्यालयमा आइतबार लगभग ४५ प्रतिशत बढी पार्सल आउने गर्छ । गोस्वारा हुलाक कार्यालयले काठमाडौंभित्र रहेका झन्डै १० वटा इलाका हुलाक हेर्छ ।

व्यवसायमा वृद्धि र जागिरको सिलसिला बिदेसिने क्रम बढेकाले पार्सल र ईएमएस सेवाको प्रयोग बढेको हुलाक सेवा विभागका महानिर्देशक लोकप्रसाद आचार्यले बताए ।

Published on: 10 December 2012 | Kantipur

Back to list

;