s

विदेसिनेको संख्या ३९ प्रतिशतले घट्दा रेमिट्यान्समा भने ३० प्रतिशतको वृद्धि

कामका लागि विदेसिनको संख्या ३९ प्रतिशतले घटेको छ। अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ३९.१ प्रतिशतले घटेको हो।
 
तथ्यांकअनुसार यस आवको पहिलो ६ महिनामा १ लाख १३ हजार ३९० जनाले अन्तिम श्रम स्वीकृति लिएका छन्। गत वर्षको यस अवधिमा यो संख्या १ लाख ८६ हजार ५३ थियो। पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा ४.५ प्रतिशतले बढेको छ। समीक्षा अवधिमा मलेसिया जाने नेपालीहरुको संख्या उल्लेख्य मात्रामा घटेको छ। गत वर्षको यस अवधिमा मलेसिया उत्कृष्ट गन्तव्य रहेकोमा अहिले कतार परेको छ।
 
मलेसिया जानेहरुबाट स्वास्थ्य परीक्षणका नाममा जथाभावि रकम अशुलेको भन्दै स्वास्थ्य परीक्षण संस्थाहरु सरकारले खारेज गरेपछि मलेसियाको रोजगार प्रभावित भएको हो। यद्यपी दुवै देशबीच निशुल्क नेपाली कामदार लैजाने सम्वन्धमा सम्झौता भइसकेको छ। सम्झौता भएको साढे २ महिना बितिसक्दा पनि अहिलेसम्म नेपाली कामदार मलेसिया जान भने पाएका छैनन्। मलेसियामा अवरोध हुँदा पनि विदेसिनको संख्यामा कमी आएको जानकार बताउँछन्।
 
६ महिनामा कतारका लागि सबैभन्दा धेरै ४१ हजार ५० र दुबईका लागि ३० हजार ५० ले अन्तिम श्रम स्वीकृति लिएका छन्। त्यसपछि साउदी अरब, कुवेत र मलेसिया क्रमशः छन्। वैदेशिक रोजगारीमा जानेहरु घटे पनि रेमिट्यान्समा भने उल्लेख्य वृद्धि देखिएको छ। समीक्षा अवधिमा रेमिट्यान्स ३०.२ प्रतिशतले वृद्धि भई ४ खर्ब ४३ अर्ब ३६ करोड पुगेको छ। अघिल्लो वर्षको यस अवधिमा रेमिट्यान्स ०.५ प्रतिशतले घटेको थियो।
 
अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.६ प्रतिशतले वृद्धि भएको छ। जापान, भारत, कोरिया, अमेरिका लगायत देशमा रेमिट्यान्स कम्पनीहरुको पहुँच बढेसँगै औपचारिक माध्यमबाट आउने रकम बढ्दा रेमिट्यान्समा सुधार देखिएको हो। त्यस्तै डलरसँगै बढेको मुद्राको मूल्यले पनि रेमिट्यान्समा सकारात्मक प्रभाव पारेको हो।
 
Published on: 13 February 2019 । Setopati

Back to list

;