s

विदेशिने विद्यार्थी संख्या : उत्साहजनक छैन तथ्यांक

विशाल सापकाेटा

सरकारले रोजगारीका लागि मात्र होइन, उच्च शिक्षाका लागि विदेश जानेहरुलाई रोक्ने लक्ष्य लिएको छ । तर, तथ्यांक उति उत्साहजनक छैन ।चालु आर्थिक वर्षको ८ महिनामा ४१ हजार ७५७ हजार विद्यार्थीले विदेशमा अध्ययन गर्न जान शिक्षा मन्त्रालयबाट ‘नो अब्जेक्सन लेटर’ (एनओसी)’ लिएको पाइएको छ । गत आर्थिक वर्षमा यो संख्या करिब ५९ हजार थियो । 

नेपाली विद्यार्थीहरु मेडिसिन, इञ्जिनियरिङ, चार्टर्ड एकाउन्टेन्सी, पाइलटिङलगायतका बिषय अध्ययनका लागि अष्ट्रेलिया, जापान, क्यानडालगायतका देशमा बढी जाने गरेका छन् । विकसित देशमा उच्च शिक्षा लिएपछि अन्तर्राष्ट्रिय श्रम बजारमा अवसर सहज हुने भएकैले नेपाली विद्यार्थी विदेश गइरहेका छन् ।
 
स्वदेशमा अध्ययनपछि उपयुक्त अवसर नपाउने मात्र होइन, राजनीतिक स्थिरता कायम रहनेमा विश्वस्त हुन नसक्दा पनि नेपाली विद्यार्थीमा विदेश पलायनको मनोविज्ञान नरोकिएको विज्ञहरु बताउँछन् । उनीहरुका अनुसार, अध्ययनपछि उतैको स्थायी बासिन्दा बनेर सहज जीवनयापन गर्ने सोचका साथ नेपाली विद्यार्थीहरु विदेश भासिँदैछन् । शिक्षा मन्त्रालयका अधिकारीहरुका अनुसार, ‘एनओसी’ लिनेमध्ये ८० प्रतिशत विद्यार्थीले भिसा पाउने गरेका छन् ।
 
पछिल्लो पाँचवर्षको तथ्यांक
 
लामो समय आन्तरिक द्वन्द्वमा भोगेका नेपालीले नयाँ संविधान बनेपछि मुलुकमा अमनचयन हुने अपेक्षा गरेका थिए । तर, त्यो अपेक्षा पूरा नभएको विदेश जान खोज्ने विद्यार्थीको संख्याले देखाउँछ । आर्थिक वर्ष २०७०/०७१ मा २८ हजार १२६ विद्यार्थीले ‘नो अब्जेक्सन लेटर’ लिएकामा आव २०७१/०७२ मा यो संख्या ३० हजार ६९६ पुग्यो । नयाँ संविधान आएको वर्ष २०७२/०७३ मा ३२ हजार ४८९ विद्यार्थीले ‘एनओसी’ लिएकामा त्यसपछिको आवमा ५० हजार ६५९ जनाले ।
 
त्यस्तै, २०७४/०७५ मा ५८ हजार ७५८ र चालु आवको फागुन १७ गतेसम्म ४१ हजार ७५७ जना विद्यार्थी ‘नो अब्जेक्सन लेटर (एनओसी) लगेको शिक्षा मन्त्रालयको वैदेशिक अध्ययन शाखाको तथ्यांकले देखाउँछ । एनओसी लिन दैनिक २०० भन्दा बढी विद्यार्थी आउने गरेका शाखा प्रमुख बमशेर राईले बताए ।
 
कुनकुन देश रोजाइका पर्छन् ?
 
नेपाली विद्यार्थीको पहिलो रोजाइमा अष्ट्रेलिया पर्ने गरेको तथ्याकंले देखाउँछ । त्यसपछि क्रमशः जापान, भारत, चीन, साइप्रस, क्यानडा लगायतका ६३ देश छन् । पहिले धेरै विद्यार्थीले रोज्ने गरेको अमेरिका चालु आवमा ८ औं नम्बरमा छ । गत ८ महिनामा अध्ययनका लागि अष्ट्रेलिया जान एनओसी लिने नेपाली विद्यार्थीको संख्या सबभन्दा धेरै २६ हजार ६७३ छ । अध्ययन गर्न र रोजगारी पाउनमा तुलनात्मकरुपमा बढी सहज भएकाले अष्ट्रेलिया नेपाली विद्यार्थीको रोजाइमा पर्ने गरेको छ ।
 
अष्ट्रेलिया पछिको रोजाइमा जापान देखिन्छ । पछिल्लो ८ महिनामा जापानमा अध्ययनका लागि चारहजार ९४ नेपाली विद्यार्थीले ‘एनओसी’ लिएको तथ्यांक छ । आन्तरिक कामदारको संकट खेपिरहेको जापानमा अध्ययनसँगै केही समय काम गर्ने रहरले नेपाली विद्यार्थीलाई त्यता तान्दै लगेको छ। स्वदेशमा केहि नहुने मनोविज्ञानमा रहेका नेपाली विद्यार्थीका नजरमा छिमेकी भारत पनि ‘अवसरको मुलुक’ बनेको देखिन्छ । चालु आवमा एक हजार ६२५ जनाले भारतमा पढ्न ‘एनओसी’ लिएको तथ्यांकले त्यही भन्छ । भारतमा सहज आउजाउ र कम खर्चमा अध्ययन सकिने कुरा पनि छँदैछ ।
 
त्यस्तै, चीन जान एकहजार ३४७ जनाले, साइप्रस जान एकहजार ५२ ले, क्यानडा जान ९४६ ले, दक्षिण कोरिया जान ८२४ र अमेरिका जान ७१६ जनाले ‘आइओसि’ लिएका छन् । त्यस्तै, ६५७ जनाले न्युजिल्याण्ड, ५८६ ले बांग्लादेश, ५४३ ले संयुक्त अरब इमिरेट्स (युएई), ४४५ फ्रान्स, ३२३ थाइल्याण्ड, ३०८ पोल्याण्ड, २७९ जर्मनी, १७५ वेलायत, १३७ बहराइन, १२४ माल्टा, १२३ रुस र १०९ जनाले मलेसियामा पढ्न ‘आइओसी’ लिएका छन्।
 
नेपालमा त्यति नाम नलिइने देशमा समेत अध्ययन गर्न नेपाली विद्यार्थीहरुले ‘आइओसी’ लिन थालेका छन् । शिक्षा मन्त्रालयको वैदेशिक अध्ययन एनओसी शाखाको तथ्यांक अनुसार चालु आवको फागुन १७ सम्म युक्रेन, स्लोभेनिया, रोमानिया, श्रीलंका, केन्या, कुवेत, अजरबैजान र बोस्निया हर्जगोभिनामा जान एक–एकले ‘एनओसी लेटर’ लगेका हुन् ।
 
त्यस्तै, एन्टिगुआ एण्ड बर्बुडा, किर्गिस्तान, इजरायल, इण्डोनेशिया, सिंगापुर, टर्की, भियतनाम र स्वाजिल्याण्ड जान तीन–तीन जना नेपाली विद्यार्थीले ‘एनओसी लेटर’ लिएका छन् । इङल्याण्ड जान चारजना, अष्ट्रिया पाचजना, इजिप्ट जान सातजना, स्वीट्जरल्याण्ड जान आठजना तथा नर्वे र बेल्जियम जान छ–छ जना नेपाली विद्यार्थीले ‘एनओसी लेटर’ लिएका छन् ।
 
साढे पाँच वर्षमा बाहिरियो १ खर्ब
 
वैदेशिक अध्ययनका लागि नेपाली विद्यार्थीले वर्षेनी अर्बौं रकम खर्च गर्न गरेका छन् । विदेशमा अध्ययनमा जाने विद्यार्थीको संख्यासँगै नेपालबाट बाहिरिने रकमको अनुपात पनि वर्षेनी बढ्दैछ । पछिल्लो साढे पाँच वर्षमा १ खर्ब ३ अर्ब भन्दा बढी रकम शिक्षाका लागि नेपालबाट बाहिरिएको छ ।
 
नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आर्थिक वर्ष २०७१/७२ मा १७ अर्ब ७ करोड रुपैयाँ शिक्षामा बाहिरिएको छ भने आर्थिक वर्ष ०७२/७३ मा २० अर्ब १४ करोड नेपाली रकम विदेश गएको छ ।
 
०७३/७४ को २१ अर्ब ८३ करोड नेपाली रकम बाहिरिएको छ । गत आर्थिक वर्ष ०७४/७५ मा मात्रै २७ अर्ब २९ करोड रुपैयाँ बाहिरिएको छ । चालु आर्थिक वर्षको ६ महिनामा १६ अर्ब २१ करोड रुपैयाँ नेपाली विद्यार्थीले विदेशमा अध्ययनका लागि खर्चेको विभागका कार्यकारी निर्देशक भीष्म ढुंगानाले जानकारी दिए ।
 
Published on: 10 March 2019 । Onlinekhabar

Back to list

;