s

विदेशमै ‘कोमा’मा रहेका कामदारको निःशुल्क उपचार

अर्जुन अधिकारी

वैदेशिक रोजगारीका सिलसिलामा गम्भीर बिरामी (कोमा) भएका नेपालीको स्वदेशमै निःशुल्क उपचार हुने भएको छ । वैदेशिक रोजगारीमा रहेका वेला गलत स्वास्थ्य परीक्षणका कारण गम्भीर रोग लागि अचेत अवस्थामा रहेका नेपाली कामदारको सरकारले निःशुल्क उपचार गर्ने भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस विषयमा गृहकार्य सुरु गरिसकेको जनाएको छ । विदेशी भूमिमा कोमामा रहेका नेपाली कामदारलाई स्वदेश फिर्ता गरी निश्चित अस्पतालमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निःशुल्क उपचार गर्ने व्यवस्था गर्ने जनाइएको छ । यस विषयमा अध्ययन तथा अनुगमनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका चिकित्सा सेवा महाशाखा प्रमुख दीपेन्द्ररमण सिंहको संयोजकत्वमा समिति गठन भइसकेको छ । सिंहका अनुसार समितिले केही दिनभित्र प्रतिवेदन बुझाउनेछ ।
 
समितिका एक सदस्यका अनुसार विदेशी भूमिका कोमामा रहेका नेपालीलाई नेपाल ल्याई तीन महिना सरकारले स्वास्थ्य उपचार गर्नेछ । गम्भीर प्रकृतिको रोग लागि ६ महिनाभन्दा बढी अस्पतालमा उपचाररत बिरामीको हकमा भने, गरिब भए सरकारले ल्याएर उपचार गर्ने अन्यथा परिवार वा विभिन्न संस्थाहरूको जिम्मा लगाइनेछ । स्वास्थ्य मन्त्रालयका अनुसार बिरामीलाई उपत्यकामा रहेका अस्पताल वा पुनस्र्थापना केन्द्रमा राखी उपचार गराइनेछ ।
 
‘कामदार नै रोग लुकाउन भन्छन्’
 
समितिका अनुसार वैदेशिक रोजगारीमा जाने कामदारले मेडिकल जाँचमा रोग लुकाउने गरेको पाइएको छ । रोग पत्ता लागेको खण्डमा जान नपाउने भन्दै उनीहरूले विभिन्न प्रलोभनमा वा केही समय औषधि सेवन गरेर पनि जाने गरेका छन् । परीक्षणका क्रममा रोग पत्ता लाग्दा दुःख मान्ने भएकाले परीक्षण गर्नेहरूले समेत यथार्थ विवरण नदिने गरेका सिंहको भनाइ छ ।
 
मन्त्रालयका अनुसार त्यही समस्याका कारणले धेरै नेपालीले ज्यान गुमाउनुपरको हो । सिंहले विदेशमा हावापानी नमिल्ने भएका कारण रोग नलुकाउन सबैलाई आग्रह गरे । धेरैजसो नेपाली कामदार मलेसियामा रहेकाले स्वास्थ्य मन्त्रालयले सो स्थानमा सुविधायुक्त हेल्थ डेक्स खोल्ने भएको छ ।
 
१७ प्रतिशत कामदारको  स्वास्थ्य जोखिममा
 
समितिका संयोजक दीपेन्द्ररमण सिंहका अनुसार विभिन्न देशमा रोजगारिको सिलसिलामा रहेका १७ प्रतिशत नेपालीको स्वास्थ्य अवस्था जोखिमपूर्ण छ । उनका अनुसार ४० लाख नेपाली विभिन्न देशमा कामदारका रूपमा काम गरिरहेका छन् । धेरैजसो कामदारमा मानसिक समस्या, अंगभंग भएका छन् । ‘गलत स्वास्थ्य परीक्षणका कारण उनीहरू विदेशमा कोमामा बस्न बाध्य छन् । उनीहरूको स्वास्थ्यको जिम्मा अब हामीले लिनेछौँ,’ सिंहले भने ।
 
केही वर्षदेखि बायोमेट्रिक मेडिकल भन्दै केही स्वास्थ्य संस्थाले स्वास्थ्य परीक्षण गरेका छन् । नेपाल सरकारले वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षणका लागि २ सय ३५ स्वास्थ्य संस्थालाई सूचीकृत गरेको छ । तर, यो प्रणालीभित्र ३९ वटा मात्रै स्वास्थ्य संस्था छन् ।
 
Published on: 18 May 2018 | Naya Patrika

Back to list

;