s

विदेशमा समस्यामा परेका २१ हजारलाई ल्याउने सरकारको तयारी

मुना कुँवर

 

वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकमध्ये २१ हजार श्रमिकलाई तत्काल फिर्ता गर्नुपर्ने आवश्यकता रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयले गरेको अध्ययनअनुसार कठिन परिस्थितिमा २० देखि २१ हजार श्रमिक छन् । लकडाउन लम्बिए यो संख्या बढ्न सक्नेछ । मन्त्रालयले नेपाली श्रमिकको प्रमुख गन्तव्य मुलुकका दूतावाससँगको सहकार्यमा यो तथ्यांक निकालेको हो । साउदीका आठ हजार, कतारका सात हजार, कुवेतका ६ हजार, युएईका दुई हजार ६ सय, मलेसियाका तीन हजार, जोर्डनका ६ सय, बहराइनका पाँच सय, साइप्रसका चार सय श्रमिक तत्कालै फर्किनुपर्ने अवस्थामा छन् । लेबनान र ओमानमा भने थोरै संख्या रहेको स्रोतले बताएको छ । 

सरकारले पहिलो चरणमा २१ हजार नेपालीको उद्धारको तयारी सुरु गरेसँगै नेपाल वायुसेवा निगमले उडानका लागि आवश्यक तयारी थालेको छ । कुवेतले भिसा सकिएर गैरकानुनी बसेका नेपालीलाई आफैं ल्याइदिनेसमेत नेपाल सरकारलाई जानकारी दिइसकेको छ । कुवेतमा पाँच हजार नेपाली तत्काल फर्किने तयारीमा रहेका छन् । यता बाँकी १६ हजार नेपालीलाई ल्याउन निगमले चारवटै जहाजको प्रयोग गर्नेछ । १६ हजारको उद्धारका लागि वाइडबडी जहाजबाट ५८ वटा उडान गर्नुपर्ने हुन्छ ।  एक उडान न्यारोबडीबाट गर्नुपर्छ । वाइडबडी जहाजका लागि कुल १० लाख ४४ हजार डलर भाडा खर्च लाग्नेछ । न्यारोबडीका लागि ९ हजार डलर लाग्नेछ । कुल गरेर नेपाली रुपैयाँ १२ करोड ६३ लाख ६० हजार लाग्ने अनुमान छ ।

कोरोनाले रोजगारी गुम्न थालेपछि नेपाली श्रमिक निराश 

कोरोना संक्रमण र लकडाउनका कारण घर फर्किन नपाउँदा विदेशमा नेपाली श्रमिकले आत्महत्या गर्न थालेका छन् । रोजगारीका लागि मलेसिया, मध्यपूर्व र टर्कीलगायतका मुलुक पुगेका युवाले कोरोनाबाट रोजगारी गुमेपछि आत्महत्या गरेका हुन् । चैतयता ५ जनाले आत्महत्या गरिसकेका छन् । कोरोनाबाट १० जनाको मृत्यु भएको छ । 

सप्तरीबाट वैदेशिक रोजगारीका लागि मलेसिया गएका इन्दुलकुमार यादवले गत वैशाख ८ गते आत्महत्या गरे । काम गर्ने कम्पनी बन्द भएको र नेपाल फर्किनसमेत समस्या भएपछि उनले आत्महत्याको बाटो रोजेका थिए । त्यसैगरी आत्महत्या गर्नेमा मोरङका ४१ वर्षीय झलक बस्नेतसमेत छन् । उनी पनि रोजगारीका लागि युएई पुगेका थिए । वैशाख १९ गते उनले आत्महत्या गरेका हुन् । वैदेशिक रोजगारीका लागि लमजुङबाट कुवेत पुगेका आइतबार गुरुङले पनि यही लकडाउनकै बीचमा आत्महत्या गरे । रेस्टुरेन्ट बन्द भएपछि रोजगारी खोसियो । घर आउन पनि पाएनन् । त्यो निराशामा उनले आत्महत्या गरेको परिवारको दाबी छ ।

कोरोना लागेपछि वैदेशिक रोजगारीमा गएका ५ नेपाली श्रमिकले आत्महत्या गरेका छन् । गैरआवासीय नेपाली संघका विश्व स्वास्थ्य समितिका अध्यक्ष डा.सञ्जीव सापकोटाका अनुसार मध्यपूर्वमा ३, टर्कीमा १ र मलेसियामा १ जना श्रमिकले आत्महत्या गरेका हुन् । कोरोना संक्रमणपछि नैराश्यता बढेकै कारण उनीहरूले आत्महत्या गरेको हुन सक्ने सापकोटाको अनुमान छ । आत्महत्याबाहेक कोरोना संक्रमणबाट मात्र मृत्यु हुने नेपालीको संख्या पनि १० जना पुगिसकेको छ । वैदेशिक रोजगार बोर्डका अनुसार युएईमा पाँच, साउदीमा तीन, कतार र टर्कीमा एक÷एकजनाको मृत्यु भइसकेको छ । 

चालू आवको नौ महिनामा ६ सय २४ ले विदेशमै गुमाए ज्यान 

चालू आर्थिक वर्षको ९ चैतसम्म ६ सय २४ श्रमिकले विदेशमै ज्यान गुमाएका छन् । वैदेशिक रोजगार बोर्डको तथ्यांकअनुसार २० रोजगार मुलुकमा ६ सय ८ पुरुष र १६ महिलाले ज्यान गुमाएका हुन् । मलेसियामा १ सय ७०, कतारमा १ सय ८, साउदीमा १ सय ४५, कुवेतमा ३४ श्रमिकको मृत्यु भएको हो । त्यसैगरी, जापानमा ८, लाटभियामा १, पोल्यान्डमा ३, पोर्चुगलमा १, अफगानिस्तानमा २, ओमानमा ३, जोर्डनमा २, टर्कीमा १, दक्षिण कोरियामा १०, बहराइनमा ७, माल्दिभ्समा २, इजरायलमा १, युएईमा ९८, साइप्रसमा १ र सिसेल्समा १ श्रमिकको मृत्यु भएको छ ।

एक सय ४९ शव विदेशमै अड्किए

विदेशमा विभिन्न कारणले मृत्यु भएका श्रमिकमध्ये एक सय ४९ शव विदेशमै अड्किएका छन् । लकडाउनले अडकिएका शव ल्याउन नसकिएको वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले बताए । यसअघि २ सय ७ शव विदेशमै रोकिएका थिए । तर, बोर्डले श्रमिकको परिवारसँग छलफल गरी ५८ शव विदेशमै दाहसंस्कार गर्ने अनुमति पाएको छ । बाँकी शवलाई पनि गन्तव्य मुलुकमै अन्त्येष्टि गर्न परिवारसँग छलफल भइरहेको बोर्डले बताएको छ । बोर्डका अनुसार विदेशमा रोकिएका २ सय ७ शवमध्ये १ सय ९५ पुरुष र १२ महिला छन् । साउदीमा सबैभन्दा बढी ४९ शव छन् ।  युएईमा ४६, मलेसियामा ४४, कतारमा ४१, कुवेतमा ११, बहराइनमा ३, सिसेल्समा १, दक्षिण कोरियामा ३, टर्कीमा १, ओमानमा १, जोर्डन र अन्य मुलुकमा ६ शव रोकिएका छन् ।

श्रमिक ल्याउने प्रक्रियाबारे जानकारी छैन : भरतराज पौडेल

प्रवक्ता, परराष्ट्र मन्त्रालय 

श्रमिक फिर्ता गर्ने विषयमा मन्त्रालयले आफैँले रणनीति तयार पार्ने गरी अध्ययन सुरु भएको छ । तर, प्रक्रिया कहाँ पुग्यो भन्ने विषयमा मलाई पनि जानकारी छैन ।

आपत्मा परेका श्रमिकलाई तत्कालै फर्काइनुपर्छ  : डा. सञ्जीव सापकोटा

अध्यक्ष, विश्व स्वास्थ्य समिति, गैरआवासीय नेपाली संघ

आफन्तभन्दा टाढा भएको अवस्थामा कोरोना लाग्दा जोकोहीले पनि हरेस खानु स्वाभाविक नै हो । यस्तो अवस्थामा साथ र सम्झाउने व्यक्ति नहुँदा मानिसले आत्महत्याको बाटो रोज्छ । नेपाली श्रमिकको हकमा पनि त्यही भएको छ । भोलिका दिनमा यो अवस्था भयावह हुन सक्छ । त्यसैले यस्ता खालका श्रमिकलाई सरकारले छिटोभन्दा छिटो उद्धार गर्नुपर्छ ।

Published on: 24 May 2020 | Nayapatrika

Link

Back to list

;