s

विदेशमा रोकिएका शव ल्याउने तयारी

गोरखापत्र समाचारदाता

काठमाडौँ, जेठ २१ गते । सरकारले कोभिड १९ का कारण स्वदेश र विदेशमा अन्तर्राष्ट्रिय उडान बन्द भएका बेला विदेशमा रोकिएका शव ल्याउने निर्णय गरेको छ । सरकारले विदेशमा समस्यामा परेका नेपाली श्रमिकलाई ल्याउन चार्टर्ड उडान गरेका बेला विभिन्न देशमा रोकिएका शव पनि ल्याउने निर्णय गरिएको हो । कोभिड १९ का कारण उत्पन्न असहज परिस्थितिमा नेपाल ल्याउनैपर्ने अवस्थामा रहेका नेपालीलाई स्वदेश आउन सहजीकरण गर्ने नीतिअनुरूप जहाज चार्टर्ड भएका बेला अलपत्र शव पनि ल्याउने व्यवस्था परराष्ट्र मन्त्रालय र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मिलाउनुपर्ने उल्लेख छ ।

शव ल्याउन लाग्ने खर्च सम्बन्धित रोजगारदाताले बेर्होनुपर्ने छ तर विशेष परिस्थितिमा शव ल्याउँदा लाग्ने खर्च वैदेशिक रोजगार कल्याणकारी कोषबाट खर्च गर्न सकिने भनिएको छ । वैदेशिक रोजगार बोर्डका अनुसार बन्दाबन्दी

(लकडाउन)को अवधिमा कोरोनासहित अन्य कारणले खाडीका छ एवं मलेसिया, दक्षिण कोरियालगायतका देशमा कार्यरत २२७ जना नेपालीको ज्यान गएको जनाएको छ ।

गत शुक्रबारसम्मको अवधिमा सबैभन्दा धेरै साउदीमा ५८ जना नेपालीले ज्यान गुमाएका छन् । जसमध्ये चार जनाको कोरोनाको कारण ज्यान गएको हो भने बाँकीको अन्य कारणले ज्यान गएको बोर्डले जनाएको छ । साउदीमा ज्यान गुमाउने ११ जनाका परिवारले उतै अन्त्येष्टिका लागि अनुमति दिएका छन् भने बाँकी ४७ वटा शव साउदीमै रोकिएका छन् ।

यस्तै यस अवधिमा मलेसियमा ५१ जना नेपालीले विभिन्न कारणले ज्यान गुमाएकामा चार जनाका परिवारले उतै अन्त्येष्टिका लागि अनुमति दिएका छन् भने ४८ वटा शव मलेसियामै रोकिएको बोर्डले जनाएको छ । बोर्डका अनुसार यस अवधिमा कतारमा ३७ जनाले ज्यान गुमाएका छन् । जसमध्ये १० जनाका परिवारले उतै अन्त्येष्टिका लागि अनुमति दिएका छन् भने कतारमा अब २७ वटा शव बाँकी छन् । जसमध्ये कतारमा चार जना नेपालीको कोरोनाको कारण ज्यान गएको छ ।

त्यसैगरी संयुक्त अरब इमिरेट्स (यूएई)मा यो अवधिमा ४८ जनाको ज्यान कोरोनासहित विभिन्न कारणले ज्यान गएको छ । जसमध्ये ३६ जनाको परिवारले उतै अन्त्येष्टिका लागि अनुमति दिएका छन् भने बाँकी यूएईमा १२ वटा शव व्यवस्थापन गर्नुपर्ने छ । यूएईमा ज्यान गुमाउनेमध्ये नौ जनाको कोरोनाको कारण ज्यान गएको बोर्डले जनाएको छ ।

बोर्डका अनुसार यस अवधिमा कुवेतमा ज्यान गुमाएका ११ जनाको शव व्यवस्थापन गर्नुपर्ने छ । बहराइनमा यो अवधिमा पाँच जनाको ज्यान गएको छ जसमध्ये दुई जनाका परिवारले उतै अन्त्येष्टिका लागि अनुमति दिएका छन् भने अब तीनवटा शव ल्याउन बाँकी छन् ।

दक्षिण कोरियामा यो अवधिमा ज्यान गुमाउने चारै जनाको शव उतै अन्त्येष्टिका लागि अनुमति आएको बोर्डले जनाएको छ । यो अवधिमा ओमानमा एक र अन्य विभिन्न देशमा ११ जनाको ज्यान गएको छ । विभिन्न देशमा ज्यान गुमाउने ११ जनामध्ये आठ जनाका परिवारले गन्तव्य देशमै अन्त्येष्टिका लागि अनुमति दिएका छन् । 

Published on: 3 June 2020 | Gorkhapatra

Link

Back to list

;