s

विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउन के गर्दैछ परराष्ट्र मन्त्रालय?

परराष्ट्र मन्त्रालयले नेपाल फर्किन चाहने आफ्ना नागरिकको नाम संकलन गर्ने कार्य सुरू गरेको छ।

परराष्ट्र मन्त्रालयले आफ्ना नियोगमार्फत् स्वदेश फर्किन चाहने नेपालीहरूको सूची संकलन गर्न लागेको हो।

यसका लागि सरकराले तोकेको प्राथमिकताका आधारमा विदेशस्थित नियोगलाई सूची बनाउन भनिएको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले सेतोपाटीलाई बताए।

'नेपाल सरकारले विदेशमा रहेका नेपाली नागरिक स्वदेशमा आउन चाहेको अवस्थामा प्राथमिकताको आधारमा सहजीकरण गर्ने भनेको छ,'उनले भने,'भारत बाहेकका देशबाट आउनेका लागि सरकारले १२/१५ वटा प्राथमिकता तोकेको छ। त्यही प्राथमिकतामा परेकालाई ल्याउन परराष्ट्रले फ्यासिलेट गर्छ।'

सरकारले भारतबाट आउन चाहने नेपालीका लागि २० वटा नाका तोकेको छ भने भारत बाहेकका देशबाट आउनेका लागि विभिन्न १५ वटा प्राथमिकता तोकेको छ। 

सरकारले नेपाल फर्किनका लागि सजायबाट आममाफी पाएका,डिटेन्सन सेन्टरमा रहेका र हाल नेपाल आउन अनुमति प्राप्त गरेका,जुनसुकै कारणले बहिर्गमन भिसामा रहेका,आफन्तको मृत्यु भइ काजकिरियाका लागि नेपाल आउनुपर्ने,श्रम करार अवधि समाप्त भएका वा रोजगारी गुमाएका,कोभिडबाहेक अन्य कारणबाट गम्भीर स्वास्थ्य अवस्था भएका लगायतका १५ वटा प्राथमिकता तोकेको छ।

सरकारले तयार पारेको कार्यविधि अनुसार नाम संकलन भएर आएपछि मात्रै कति नेपाली तत्काल ल्याउनुपर्छ भनेर भन्न सकिने परराष्ट्र प्रवक्ता पौडेलको भनाइ छ।

'संख्या अहिले यति भन्ने छैन। प्राथमिकताको सूचीमा परेका व्यक्तिहरूको नाम संकलन हुँदैछ,'उनले भने,'यति र उति भनेर चर्चा चलेजस्तो होइन त्यो भन्दा बढी पनि हुनसक्छ र थोरै पनि। अहिले समन्वयको प्रक्रिया सुरू भएको छ।'

यसअघि परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले पहिलो चरणमा बढीमा २५ हजार नेपालीलाई फर्काउने तयारी भएको जानकारी संसदीय समितिलाई गराएका थिए।

विश्वका १ सय ३४ देशमा(भारत बाहेक)३४ लाख ५९ हजार नेपाली रहेका छन्।

Published on: 1 June 2020 | Setopati

Link

Back to list

;