s

विदेशमा रहेका नेपालीलाई प्राथमिकताका आधारमा फर्काइने

चन्द्रशेखर अधिकारी 

काठमाडौँ : सरकारले विदेशमा रहेका नेपालीलाई प्राथमिकताका आधारमा स्वदेश फर्काउने तयारी गरेको छ। कोरोना संक्रमित मुलुकसहित सबैतर्फबाट नेपालीलाई ल्याउनु पर्ने भएकाले सरकार क्वरेन्टाइनको ब्यवस्थापनमा जुटेको छ।

हजारौंको संख्याका नेपाली फर्कने इच्छा गरेकोले सबै प्रदेशमा ठूलो संख्यामा क्वारेन्टाइन ब्यवस्थापन गर्नु पर्ने देखिएको छ। कुवेतले करिब तीन हजार नेपालीलाई काठमाडौं ल्याउन लागेपछि उनीहरूको ब्यवस्थापनका विषयमा सरकारले छलफल चलाएको छ।

कुवेतले नेपाली फर्काउन प्रक्रिया अघि बढाए लगत्तै साउदी अरब र युनाईटेड अरब इमिरेट्स (युएई) ले पनि आममाफी कार्यक्रम ल्याएका छन्। तत्काल फिर्ता प्रक्रियाका लागि उनीहरू त्यतातर्फ अग्रसर भएका हुन्। अवैध कामदार फर्काउन युएईले यसअघि नै सूचना जारी गरेको थियो।

सबै मुलुकबाट नेपालीलाई स्वदेश ल्याउनु पर्ने अवस्था बनेपछि ब्यवस्थापनका लागि अर्थ, उद्योग, श्रम, स्वास्थ्य र पर्यटन मन्त्रालयले छलफल थालेका छन्। 

‘हामी सुरक्षित रूपमा ल्याएर उनीहरूलाई क्वारेन्टाइनमा राखेर गाउँसम्म पुर्‍याउने गरी अन्तर मन्त्रालय छलफल अघि बढेको छ’ परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने, ‘फर्काउने तय नहुँदासम्म जहाँ कार्यरत त्यही मुलुकमा सुरक्षित रूपमा बस्नका लागि व्यवस्था मिलाइएको छ।’ 

राष्ट्र एवं सरकार प्रमुख तह र आफूले समते सकमक्षीसँग टेलिफोन गरी त्यस्तो ब्यवस्था मिलाइएको उनले बताए। विदेशमा रहेका नेपालीको रेखदेख गर्ने जिम्मेवारी सम्बन्धित मुलुककै हो।

उनीहरूलाई नेपाल ल्याएपछि कहाँ र कसरी राख्ने भन्नेमा समस्या रहेको उनले बताए। अन्तरमन्त्रालय छलफलमा मतभेद पनि भएको बैठकमा सहभागीले बताए। स्थानीय तह, प्रदेश वा संघ कहाँ राख्ने भन्नेमा उनीहरूबीच विवाद रहेको एक अधिकारीले बताए।

ठूलो स्रोतको उपयोग हुने हुँदा त्यसमा सबैको आँखा गएकाले पनि समस्या उत्पन्न भएको एक अधिकारीले बताए। उपचार गर्न गएका र घुम्न गएका नेपाली पनि अन्तर्राष्ट्रिय उडान नहुँदा अन्यौलमा छन्।

विदेशी मुलुकले नेपालबाट आफ्ना नागरिक धमाधम फिर्ता लग्गा पनि सरकारले आफ्ना नागरिक ल्याउने विषयमा ध्यान नदिएको गुनासो विदेश स्थित नेपाली दूतावासमा कार्यरत कूटनीतिक अधिकारीको छ।

ती दूतावासहरूले नेपालीलाई फर्काउने विषयमा परराष्ट्र मन्त्रालयलाई लिखित जानकारी गराइसकेका थिए। तर, अझै निर्णय नहुँदा विदेशमा रहेका नेपालीलाई उत्तर दिन नसकेको गुनासो उनीहरूको छ।

‘कुवेत सरकारले फर्काउने तयारी अघि बढाइसकेको छ तर सरकारले यहाँबाट कुनै सिग्नल दूतावासलाई दिएको छैन’, एक अधिकारीले भने।

विदेशबाट ल्याइने हजारौंलाई कसरी ब्यवस्थापन गर्ने भन्नेमा अन्यौल छ। 

‘नेपालीलाई प्राथमिकताका आधारमा फिर्ता ल्याउने छौं। व्यवस्थापनका लागि सरकारले योजना बनाइरहेको छ’ परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘स्थानीय तह, प्रदेश र संघ कहाँ कसरी कसरी राख्ने भन्ने विषयमा तय भएपछि फर्काइनेछ।’ 

विश्वका दुई सय भन्दा बढी मुलुकमा नेपाली छन्। अधिकांश नेपाली युवा मलेसिया, कतार, साउदी अरब, युएई, कुवेत, बरहराइन, ओमन, लेबनन, इजरायल, अफगानिस्तान, जापान, दक्षिण कोरिया लगायतमा बस्छन्। सन् १९८५ वैदेशिक रोजगारी ऐन आएपछि नेपाली भारत बाहेकका मुलुकमा जाने क्रम सुरु भएपनि सन १९९० पछि बढी विदेसिएका हुन्।

Published on: 5 May 2020 | Annapurna Post

Link

Back to list

;