s

विदेशमा रहेका नेपाली भन्छन् : हामी सन्चै छौं, त्यहाँ सुरक्षित रहनुहोला

माधव घिमिरे 

विराटनगर — पढ्न, रोजगारी र अरू कारणले लाखौं नेपाली विदेशमा छन् । कोभिड–१९ महामारी विश्वव्यापी बनेका बेला उनीहरूका विषयमा यहाँ रहेका परिवार र आफन्तजन चिन्तामा छन् । क्यानाडा, दक्षिण कोरिया, बेलायत, मलेसिया, अमेरिका लगायतका मुलुकमा रहेका नेपालीहरू भने भन्छन्, ‘हामी यहाँ अनुशासन पालन गरेर बसेका छौं । सुरक्षित छौं ।’ 

कतिपय स्थानमा काम बन्द भएर निवासमै सुरक्षित रूपमा बसेको र कतै सुरक्षाका सबै उपाय अपनाएर काम गरिरहेको विदेशमा रहेका नेपालीको भनाइ छ। अनलाइनमार्फत कान्तिपुरसित कुरा गर्दै उनीहरूले अप्ठ्यारो अवस्थामा घर, परिवार र आफन्तजनको निकै सम्झना आउने गरेको सुनाए।

अन्तर्राष्ट्रिय उडान बन्द र अधिकतर ठाउँमा लकडाउन भएकाले उनीहरू तत्काल घर फर्कने अवस्थामा छैनन्। सम्पर्कमा आएका सबैजसो नेपालीको सन्देश छ– हामी सुरक्षित छौं, त्यहाँ घरपरिवार र सबै नेपाली सुरक्षित रहून्। 

क्यानाडाको एडमन्टन सहरमा बसोबास गरिरहेका इलाम, नामसालिङका हरिप्रसाद रिजालले जताततै सन्त्रासको अवस्था भएको सुनाए। एक छोरा, एक छोरी र श्रीमतीसहित रहेका उनले आफूहरू सरकारको निर्देशन पालना गरेर सुरक्षित बसिरहेको बताए। ‘यहाँ रहेका नेपालीसँग निरन्तर सम्पर्क छ,’ उनले भने, ‘सबै सकुशल रहेको सुनिन्छ।’ उनी बसेको सहरमा १० जनाको कोभिड–१९ बाट मृत्यु भइसकेको छ। 

रोयल क्यारिबियन इन्टरनेसनलको भीमकाय जहाजमा काम गर्ने भैरहवाकी नविता थापाले संकटका बेला घरपरिवारसँगै हुन नपाएकामा खिन्न लागेको बताइन्। बिदामा घुमफिर गर्ने हजारौं विदेशीलाई एकसाथ समुद्री यात्रा गराउँदै विभिन्न स्थानमा पुग्ने जहाजमा उनी काम गर्छिन्। ‘सुरक्षाका सबै उपाय अपनाइएको छ,’ उनले भनिन्, ‘तैपनि महामारी फैलिएकाले सबैजसो पाहुनामा त्रास देखिन्छ।’ 

आफ्नो बिदा सुरु हुन लागे पनि कहिले कसरी घर फर्कने भन्ने अन्योल भएको थापाले बताइन्। ‘घरमा रहेका बाबाआमाको निकै न्यास्रो लागेको छ,’ उनले भनिन्, ‘घरैमा थिएँ भने परिवारसँगै हुन्थेँ तर परदेशमा छु।’ उनले अभिभावकलाई सुरक्षित रहन सुझाउने गरेकी छन्। 

क्यानाडामै रहेका इलामका बेनुपराज भट्टराईले सरकारले निर्देशन गरेअनुसार सबै नेपाली अनुशासित भएर बसिरहेको सुनाए। ‘संसारै भयभित बनिरहेका बेला सकेसम्म सावधानी अपनाएर सुरक्षित बस्नुको विकल्प छैन,’ उनले भने। 

भट्टराईका अनुसार क्यानाडाको ओटावास्थित नेपाली दूतावासले त्यहाँका विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीलाई कुनै समस्या भए सम्पर्क गर्न सूचना गरेको छ। 

दूतावासले सम्पर्क गर्दा अभिभावकको नाम, सम्पर्क इमेल र टेलिफोन नम्बर, आफूलाई क्यानाडाको विश्वविद्यालयमा पठाउन सहयोग गर्ने शैक्षिक कन्सल्टेन्सीको नाम, इमेल र सम्पर्क नम्बर दिन आग्रह गरिएको छ। ‘सम्बन्धित विश्वविद्यालयको अन्तर्राष्ट्रिय विद्यार्थीसम्बन्धी मामिला हेर्ने पदाधिकारीको नाम, इमेल र सम्पर्क नम्बर उपलब्ध गराउन सूचना गरिएको छ,’ दूतावासका उपनियोग प्रमुख प्रकाश अधिकारीले भने।

गैरआवासीय संघ (एनआरएनए) क्यानडाले पनि सहयोग गर्ने भन्दै अपिल गरेको छ। एनआरएनए क्यानडाले आफ्नो वेबसाइटमा समस्यामा परेका नेपाली विद्यार्थीले के–के विवरण बुझाउनुपर्छ भन्ने खुलाएर फाराम भर्न सकिने व्यवस्था मिलाएको छ। 

दक्षिण कोरियामा रहेका बुद्धवीर राईले उति बढी भयानक अवस्था नरहेको बताए। उनको बुझाइमा कोरिया सरकार र उसका राज्य संयन्त्रले गरेको प्रभावकारी प्रयासका कारण कोभिड–१९ संक्रमित हुने दर घट्दै गएको छ। ‘त्यही कारण हामी ढुक्कले बस्न पाएका छौं,’ उनले भने, ‘कोरियामा रहेका कोही नेपाली संक्रमित भएको खबर आएको छैन।’ 

राई रहेको थेगु सहरमा रहेका कम्पनी केही समयका लागि बन्द गरिएका छन्। अन्य क्षेत्रका कम्पनी निर्वाध सञ्चालनमा छन्। ‘नेपालीहरू सुरक्षाका साथ काममा सक्रिय छन्,’ उनले भने। 

यूएईस्थित नेपाली दूतावासले समस्यामा परेका नेपालीलाई सहयोग गर्ने भन्दै विज्ञप्ति जारी गरेको छ। यूएई सरकारले कोही नेपाली समस्यामा परे सहयोग गर्ने भनेर जानकारी दिएको त्यहाँस्थित नेपाली राजदूत कृष्णप्रसाद ढकालले बताए। ‘भिसाको समस्या वा राजगारी कटौतीका कारण बस्न, खान समस्या भए दूतावासमा सम्पर्क गर्न नेपालीलाई आग्रह गरेका छौं,’ उनले भने।

बेलायतको डार्टफोर्डमा रहेको संस्था नेपाली समाजले पनि त्यहाँ रहेका नेपालीलाई सहयोग गर्ने अभियान चलाएको छ। समाजका अध्यक्ष गजेन कटुवालले बेलायतमा रहेका नेपालीले कोभिड–१९ को सम्भावित संक्रमणको जोखिमबाट बच्न स्वास्थ्यलगायत अरू सहयोगका लागि आफूहरू एकजुट भएको बताए।

Published on: 2 April 2020 | Kantipur

Link

Back to list

;