s

विदेशमा पीडामा परेका नेपालीको समस्या समाधान गर्न सरकार प्रयासरत छ : परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोरोना भाइरस (कोभिड– १९) का कारण विदेशमा पीडामा परेका नेपालीको समस्या समाधान गर्न सरकार प्रयासरत रहेको बताएका छन् । उनले यसका लागि सरकारले कूटनीतिक पहलका साथै अन्य आवश्यक तयारीहरू गरिरहेको बताए ।

नेकपा काठमाडौं क्षेत्र नम्बर १ का इन्चार्ज अनिल शर्मा नेतृत्वको टोलीले बुधबार परराष्ट्र मन्त्रालयमा यसबारे ध्यानाकर्षण गराएपछि ज्ञवालीले यस्तो जानकारी दिएका हुन् । शर्माले काठमाडौंसहित देशैभरबाट हाल अध्ययन तथा रोजगारीको सिलसिलामा विदेशमा पुगेका कतिपय नागरिकमा समस्या परेको भन्दै परराष्ट्रमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

मन्त्री ज्ञवालीले विदेशमा अध्ययन एवं रोजगारीमा रहेका नेपालीहरू कोरोना महामारीको कारण समस्यामा परेकोबारे सरकार जानकार रहेको र उनीहरूको समस्या समाधानमा लागिपरेका जनाएका छन् ।

अध्ययन एवं रोजगारीको सिलसिलामा जापान, अस्ट्रेलिया, क्यानडा, अमेरिकासहित युरोपियन मुलुकमा पुगेकाहरूलाई प्राथमिकताका आधारमा उद्धार गर्ने तथा बाँकीलाई एक वर्षसम्मको भाडा छुट गरिदिनका लागि कूटनीतिक तबरबाट सम्बन्धित देशसँग कुराकानी भइरहेको ज्ञवालीले जानकारी दिएको शर्माले बताए ।

यस्तै विद्यार्थीका लागि फीलगायतको समस्या भएको गुनासो आएकाले  सो समस्या समाधानका लागि विभिन्न उपाय खोजिएको ज्ञवालीले बताए । जसमध्ये नेपालबाट खर्च पठाउन सहजीकरण गर्ने, विदेशमै पनि तत्काल फी तिर्न नपर्ने व्यवस्था गरिदिन पहल गर्नेजस्ता कार्य भइरहेको उनको भनाइ छ ।

दक्षिण कोरियामा कार्यरतहरू कतिपयको भिसाको म्याद सकिएको अवस्थामा उनीहरूलाई स्वदेश ल्याउन प्राथमिकतामा राखिएको पनि मन्त्री ज्ञवालीले बताए ।

यस्तै खाडीमा पुगेका युवाहरूका लागि  रोजगारी, राहत, उपचार र फिर्ता ल्याउने विषयमा छलफल भइरहेको भन्दै उनले समस्यामा नै परेकालाई सरकारले स्वदेश फर्काउने बताए ।  यसका लागि मन्त्रिपरिषद्ले निर्णयसमेत गरिसकेको र निर्णयअनुसार कार्यविधि बनाएर उनीहरूको हितअनुरूप सरकारले कार्य गर्ने उनले प्रस्ट पारे ।

Published on: 27 May 2020 | Nayapatrika

Link

Back to list

;