s

विदेशमा पढ्ने विद्यार्थीको खोजी

सूर्यप्रसाद पाण्डे 

१२४ मुलुकमा छन् नेपाली विद्यार्थी

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशमा उच्च शिक्षा अध्ययनरत नेपाली विद्यार्थीको तथ्यांक संकलन सुरु गरेको छ। कोरोना भाइरस (कोभिड–१९)का कारण उनीहरू प्रभावित हुन सक्ने खतराको विश्लेषण गर्दै मन्त्रालयले तथ्यांक संकलन थालेको हो। 

अस्ट्रेलियामा अध्ययनरत विदेशी विद्यार्थीलाई ६ महिनासम्म काम नगरे पनि खर्च बेहोर्न नसक्ने हो भने स्वदेश फर्कन उपयुक्त हुने त्यहाँको सरकारले बताएको थियो। हालै यो धारणा सार्वजनिक भएपछि मन्त्रालयले सक्रियता बढाएको हो। मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार नेपाली विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि अस्टे«लिया सबैभन्दा आकर्षक गन्तव्य बनेको छ। गत वर्ष ३८ हजार नेपाली उच्च शिक्षा अध्ययन गर्न अस्ट्रेलिया गएका थिए। 

त्यसपछि जापान, अमेरिका, बेलायत, मलेसियालगायत मुलुकमा नेपाली विद्यार्थी जाने गरेको मन्त्रालयका सहसचिव रामशरण सापकोटाले जानकारी दिए। उनका अनुसार १ सय २४ मुलुकमा नेपाली विद्यार्थी गएका छन्। गत वर्ष भने ६८ वटा मुलुकमा मात्र गएका थिए। 

शिक्षा मन्त्रालयले परराष्ट्र मन्त्रालयसँग समन्वय गरी सम्बन्धित मुलुकका दूतावासमार्फत नेपाली विद्यार्थीको तथ्यांक, त्यहाँ उनीहरूको बसोबास तथा पढाइको अवस्था र कोरोनाले पारेको प्रभावबारे अध्ययन सुरु गरेको छ। नेपाली विद्यार्थीको अवस्थाबारे अध्ययन गर्न मन्त्रालयले सापकोटाको संयोजकत्वमा अध्ययन कार्यदल गठन गरेको छ। कार्यदलमा परामर्श व्यवसायी तथा विदेशमा अध्ययन गरिरहेका विद्यार्थीको हक हितका लागि क्रियाशील संस्थाका प्रतिनिधिसमेत सदस्य छन्। 

विदेशमा रहेका विद्यार्थीको वास्तविक अवस्था थाहा पाएपछि उनीहरूलाई कोरोनाको संक्रमणबाट परै राख्न र रोजगारी नपाएको अवस्थामा कसरी खानपिन तथा बसोबासको व्यवस्था गर्न सकिन्छ भन्ने विषयमा परामर्श थालिने सापकोटाले बताए। 

‘अहिले पनि गैरआवासीय नेपाली संघ तथा त्यहाँ नेपाली विद्यार्थीको हक हितका लागि क्रियाशील संस्थाका प्रतिनिधिलाई परिचालन गरेका छौं’, सापकोटाले भने, ‘जसरी भए पनि नेपाली विद्यार्थीलाई समस्यामा नपारौं भन्ने हाम्रो चाहना हो। विद्यार्थीलाई अप्ठ्यारोमा पार्दैनौं।’ 

अध्ययन कार्यदलका सदस्य नेपाल अस्ट्रेलिया पढ्न जाने नेपाली विद्यार्थीलाई परामर्श दिइरहेका व्यवसायीको छाता संगठन एरी नेपालका अध्यक्ष द्विराज शर्माले विदेशमा रहेका नेपाली विद्यार्थीले भोगिरहेका र भविष्यमा आउन सक्ने समस्याका बारेमा बेलैमा सचेत हुनुपर्ने बताए। यसका लागि सरकारले चलाउने हरेक अभियानमा आफूहरूको सहयोग रहने उनले प्रतिवद्धता जनाएका छन्।

Published on: 9 April 2020 | Annapurna Post

Link

Back to list

;