s

विदेशमा नेपाली विद्यार्थी : ‘विकसित देशमा रहेका कोही पनि फर्कन चाहँदैनन्’

भवानीश्वर गाैतम

 

कोरोना भाइरस (कोभिड–१९)ले विश्वव्यापी रूपमा प्रभाव पारे पनि अध्ययनका लागि विकसित देश गएका नेपाली विद्यार्थी कोही पनि फर्कन नचाहेको पाइएको छ । शिक्षा मन्त्रालय तथा शैक्षिक परामर्श व्यवसायीहरूले कोरोना भाइरसका कारण उत्पन्न परिस्थितिका कारण विदेशमा रहेका नेपाली विद्यार्थीको अवस्थाबारे अध्ययन र छलफल गर्दा यस्तो पाइएको हो ।

शैक्षिक परामर्श व्यवसायीहरूका अनुसार केही विकासोन्मुख देशमा रहेका विद्यार्थीले नेपाल फर्कन चाहे पनि सुविधासम्पन्न देशमा रहेका कोही पनि तत्काल फर्कन चाहेका छैनन् । चालू आर्थिक वर्षमा मात्र ६८ देशमा अध्ययनका लागि नेपाली विद्यार्थीले शिक्षा मन्त्रालयबाट ‘नो अब्जेक्सन लेटर’ (एनओसी) लगेका छन् । अहिले शिक्षा मन्त्रालयबाट एनओसी लिएर सबैभन्दा बढी विद्यार्थी अस्ट्रेलिया गएका छन् । अस्ट्रेलियन सरकारले विदेशी विद्यार्थीका विषयमा लिएको नीतिले के असर गर्छ भन्ने विषयमा अध्ययन विश्लेषण र आवश्यक निर्णय लिन शिक्षा मन्त्रालयले सहसचिव रामशरण सापकोटाको संयोजकत्वमा कमिटी गठन गरेको छ ।

सहसचिव सापकोटाले अस्ट्रेलियामा समस्या परेको भन्दै एक हजार दुई सय विद्यार्थीले अस्ट्रेलियास्थित नेपाली दूतावासमा फारम भरे पनि कोही पनि फर्कन नचाहेको बताए । उनले भने, ‘अस्ट्रेलियाका विद्यार्थी नेपाल फर्कन चाहेका छैनन्, बरु रोजगारी गुमाएकालाई कामको चिन्ता छ ।’ अस्ट्रेलियास्थित नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीलाई ‘इमर्जेन्सी रजिस्ट्रेसन फर्म’ भराएको थियो ।

अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले आफ्नो देशका नागरिकलाई बढी प्राथमिकता दिनुपर्ने भएकाले एक वर्ष नपुगेका विदेशी विद्यार्थीलाई सरकारले हेर्न नसक्ने र अप्ठ्यारो हुनेले आफ्नो देश जान सक्ने बताएका थिए । अध्ययनका लागि एक वर्ष कटिसकेका विद्यार्थीलाई भने अस्ट्रेलियन सरकारले राहत दिएको छ ।

भारत, बंगलादेश, थाइल्यान्डमा रहेकाको भने फर्किन चाहना

कोरोना भाइरस संक्रमणबाट परेको समस्या र समाधानमा पहल गर्न नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले विदेशमा रहेका नेपाली विद्यार्थीलाई इमर्जेन्सी फारम भराएको थियो । इक्यान अध्यक्ष प्रकाश पाण्डेका अनुसार अप्रिलसम्ममा विभिन्न देशबाट एक सय ७० विद्यार्थीले फारम भरेका थिए । अध्यक्ष पाण्डेले भने, ‘भारतमा अध्ययनरत विद्यार्थीले फर्कन माग गर्दै फारम भरे, तर अस्ट्रेलिया, अमेरिका, न्युजिल्यान्डलगायतका विकसित देशबाट घर फर्कन चाहने एकजना पनि छैनन् ।’ कोरोना संक्रमणबाट प्रभावित देशमा नेपाली विद्यार्थीलाई समस्या परे पनि फर्कन नचाहेको उनले बताए । उनले भने, ‘भर्खरै गएका र होटेल, रेस्टुरेन्ट बन्द भएर जागिर नभएकालाई समस्या छ, तर पहिलेदेखि गएका एजकेयर, नर्सिङ होम, सुपर मार्केटमा काम गर्नेले झनै धेरै समय काम पाएका छन् ।’ समस्यामा परेका विद्यार्थीलाई व्यवसायीले सहयोग गर्ने, सहयोगी निकायसँग सम्पर्क गराउने काम गरिरहेको उनले बताए ।

अध्ययन सकेर नेपाल फर्कने गरी बिदेसिएका विद्यार्थी भने फर्कन चाहेका छन् । भारत, बंगलादेश, साइप्रसलगायतका देशमा रहेका यस्ता विद्यार्थीले नेपाल फर्कन चाहेका हुन् । यस्ता विद्यार्थी अध्ययन गरेर कमाइ गर्ने वा उतै घरजम गर्ने चाहना नभएका रहेको परामर्श व्यवसायीले बताए । बंगलादेशमा चिकित्सा शिक्षा अध्ययनका लागि नेपाली विद्यार्थी जाने गरेका छन् । बंगलादेशका विद्यार्थीले आफूहरूलाई नेपाल फर्काउन आग्रह गर्दै, हवाईजहाजको न्यूनतम खर्च तिर्नसमेत तयार भएको पत्र बंगलादेशस्थित नेपाली दूतावास पठाएका थिए ।

शिक्षा मन्त्रालयका सहसचिव सापकोटाले थाइल्यान्डका विद्यार्थी फर्कन चाहेको विषयमा शिक्षा मन्त्रालयमा जानकारी आएको तर अरू देशबाट नआएको बताए । केही समयअघि साइप्रसका विद्यार्थीलाई समस्या भए पनि समाधानको पहल भएपछि अहिले थप समस्या नभएको उनले बताए । 

बंगलादेशबाट विद्यार्थी ल्याउन आग्रह

नेपालमा चिकित्सा शिक्षा अध्ययन गरिरहेका विद्यार्थीको संस्था फेडरेसन अफ नेपलिज मेडिकल स्टुडेन्ट्स (एफएनएमएस) ले चिकित्सा शिक्षा अध्ययनका लागि बंगलादेश गएका विद्यार्थीलाई नेपाल फर्काउन सरकारसँग आग्रह गरेको छ । कोरोना भाइरसको संक्रमणका कारण बंगलादेशमा लकडाउन भएपछि नेपाली विद्यार्थीलाई आर्थिक रुपमा कठिन भएको र नेपालबाट समेत रकम पठाउन समस्या भएकाले नेपाल फर्काउन आग्रह गरेको हो । 

संस्थाका अध्यक्ष नरेश भट्टले मंगलबार विज्ञप्ति जारी गरी बंगलादेशका विद्यार्थीले लामो समयदेखि नेपाल आउन पहल गर्दा पनि सरकार मौन बसेको उल्लेख गरेका छन् । विद्यार्थीहरूलाई क्वारेन्टाइनको व्यवस्था गरी नेपाल ल्याउन आग्रह गरिएको छ । सरकारले मागलाई सुनुवाइ नगरे ‘डिजिटल मुभमेन्ट’ मा जाने उनीहरूले घोषणा गरेका छन् । बंगलादेशमा चिकित्शा शिक्षा अध्ययनरत एक विद्यार्थीलाई मंगलबार नेपाल ल्याइएको छ । बंगलादेशमा अध्ययनरत छात्रा बिरामी भएपछि निजी विमान लगेर नेपाल फर्किएको स्रोतको भनाइ छ ।

करिब पाँच लाख विद्यार्थी विदेशमा 

शिक्षामन्त्री गिरिराजमणि पोखरेलका अनुसार करिब पाँच लाख विद्यार्थी विदेशमा अध्ययनरत छन् । ०७० सालयता विदेश जानेको संख्या धेरै छ । शिक्षा मन्त्रालयका सह–सचिव तथा कमिटीका संयोजक रामशरण सापकोटाले ०७६ वैशाखयता अस्ट्रेलियामा अध्ययनका लागि १६ हजार सात सय ६८ ले ‘नो अब्जेक्सन लेटर’ लगेको बताए । उनका अनुसार सबैभन्दा बढी ०७५ सालमा ४१ हजार चार सय ८० जनाले एनओसी लगेका छन् । १ साउन ०७० यता एक लाख ३४ हजार तीन सय ८४ विद्यार्थीले अस्ट्रेलिया अध्ययनका लागि एनओसी लगेका छन् । एक वर्षमा आठ हजार हाराहारीमा विद्यार्थी गएकोे उनको अनुमान छ ।

Published on: 29 April 2020 | Nayapatrika

Link

Back to list

;