s

विदेशमा अलपत्र परेका नागरिकलाई आजदेखि फर्काइँदै

मुना कुँवर

 

 

नेपाली एयरलाइन्सको भाडा अत्यधिक महँगो भएको भन्दै माल्दिभ्स, साउदी, मलेसियाको उडान रद्द, ओमान र कुवेतले आफ्नै एयरलाइन्सबाट श्रमिक ल्याइदिँदै 

विदेशमा अलपत्र परेका नेपाली नागरिकलाई सरकारले आइतबारदेखि फर्काउन सुरु गर्ने भएको छ । पहिलो दिन आइतबार बंगलादेशमा रहेका विद्यार्थीलाई फर्काउन नेपाल एयरलाइन्सको वाइडबडीले उडान भर्नेछ । सरकारले आगामी असार ११ गतेसम्म विभिन्न मुलुकबाट करिब २४ हजार नेपाली फर्काउने योजना बनाएको छ । 

विदेशमा जोखिममा परेका नागरिकलाई स्वदेश फर्काउन नेपाली र विदेशी एयरलाइन्सले ६७ उडान भर्नेछन् । सरकारले दुई एयरलाइन्स कम्पनीका दैनिक १० उडानबाट नबढ्ने गरी तालिका बनाएको छ । १० उडानबाट दुई एयरलाइन्सले दैनिक एक हजार आठ सय ल्याउनेछन् । नेपाली एयरलाइन्स कम्पनीले ४३ उडान गर्नेछ । त्यसमध्ये वायुसेवा निगमले २४ र हिमालय एयरलाइन्सले १९ उडान गर्नेछन् । विदेशी एयरलाइन्सले २४ उडान गर्नेछन् । 

 

नेपाल सरकारले चार्टर्ड फ्लाइटद्वारा अलपत्र परेका नेपालीलाई फर्काउन भाडा तोकेको थियो । तर, हवाई भाडा अत्यधिक महँगो भएपछि विभिन्न मुलुकले चार्टर्ड फ्लाइट रद्द गरेका छन् । माल्दिभ्सस्थित नेपाली दूतावासले सूचना जारी गरी माल्दिभ्सबाट असार १ गते नेपाल एयरलाइन्सले गर्ने भनिएको चार्टर्ड फ्लाइट स्थगित गरिएको जनाएको छ ।

त्यस्तै, साउदीबाट गर्ने भनिएको उडानसमेत रद्द गरिएको साउदीका लागि नेपाली राजदूत महेन्द्रप्रसाद सिंहले जानकारी दिए । दूतावासले सूचना नै जारी गरी नयाँ भाडादर र तालिका प्राप्त नहुन्जेल उडान स्थगित गरिएको जनाएको छ । दूतावासले श्रमिकहरूलाई तत्काल पिसिआर र आरडिटी परीक्षण नगर्नसमेत अनुरोध गरेको छ । 

त्यस्तै, १ असारमा हुने भनिएको मलेसिया उडानसमेत रद्द हुने भएको छ । १ गतेका लागि शनिबारसम्म टिकट बुकिङ सुरु नभएको मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले जानकारी दिए । ‘आजसम्म टिकट खुला भएको छैन,’ उनले भने, ‘१ गते उडान नहोलाजस्तो छ ।’ 

हवाई भाडा महँगो भएकाले अधिकांश श्रमिक नेपाल सरकारले तोकेको एयरलाइन्सबाट स्वदेश फर्किन नसक्ने गैरआवासीय नेपाली संघ मलेसियाका अध्यक्ष हरि भट्टराईले बताए । 

कुवेतबाट आइतबार करिब तीन सय फर्काइँदै

कुवेतबाट आइतबार करिब तीन सयलाई फर्काइँदै छ । कुवेत सरकारले आफ्नै खर्चमा आममाफी पाएका नेपाली कामदारलाई फर्काउने क्रममा आइतबार दुई उडानबाट नेपाली फर्काउने भएको हो । आइतबार कुवेतको समयअनुसार पहिलो उडान बिहान ४ बजे र दोस्रो ६ बजे हुनेछ ।  

गत बिहीबार एयर जजिरा पहिलो उडानमा एक सय ५० र दोस्रो उडानमा एक सय ४९ नागरिक फर्किसकेका छन् । शुक्रबार पनि एयर जजिराको एक उडानबाट तीन बालबालिकासहित एक सय ४९ महिला नेपाल फर्किएका छन् ।

ओमानबाट सोमबार एक सय ८० नेपाली फर्किंदै

आगामी सोमबार ओमानबाट एक सय ८० जना श्रमिक फर्काइँदै छ । ओमानको सलाम एयरमार्फत जोखिममा रहेकामध्येलाई पहिलो उडानमार्फत नेपाल फर्काउन लागिएको ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुलीले जानकारी दिइन् । उनका अनुसार ओमानबाट फर्किने नेपालीले टिकट खर्च आफैँले व्यहोर्नेछन् । नेपाल एयरलाइन्सले तोकेको भाडादरभन्दा सलाम एयरको भाडा धेरै कम भएको राजदूत पराजुलीले बताइन् । ‘सरकारले दुईपटक गरी ३० प्रतिशत हवाई भाडा घटाएको छ । यो राम्रो काम हो,’ उनले भनिन्, ‘तर, यतिवेला एयरलाइन्सको व्यवसायभन्दा पनि नेपाली पीडित श्रमिकबारे सोच्ने वेला हो ।’ ओमानबाट ६ सय १५ जना नेपालीले नेपाल फर्किनका लागि अनुमति पाएका छन् ।

Published on: 14 June 2020 | Nayapatrika

Link

Back to list

;