s

विदेशमा अलपत्र पाँच सय ११ नेपालीको उद्धार

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले बिहीबारसम्म विदेशमा अलपत्र परेका पाँच सयभन्दा बढी नेपालीको उद्धार गरिएको जनाएको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तका अनुसार बिहीबार मात्र कुवेत सरकारको सहयोगमा दुई सय ९९ नेपाली स्वदेश फर्किएका छन् । अध्यक्ष पन्तका अनुसार कुवेतको घर फिर्ती शिविरमा रहेका थप दुई हजार नाै सय ९१ जनालाई हरेक दिन दुई उडान गरी फर्काउने तयारी भएको छ । 

गैरआवासीय नेपाली संघ कुवेत र नेपाली दूतावासको समन्वयनमा उनीहरूलाई नेपाल फर्किन सहयोग गरिएको थियो ।        

अहिलेसम्म म्यानमारबाट २६, खाडी मुलुक दुबईबाट एक सय ६८, अष्ट्रेलियाबाट ११, जापानबाट सात र कुवेतबाट दुई सय ९९ गरी पछिल्लो समय  पाँच सय ११ जनालाई उद्धार गरिसकिएको संघले जनाएको छ । कोरोना भाइरसको सङ्क्रमणपछि महिला, बालबालिकालगायत निकै कष्टकर अवस्थामा रहेका नेपालीको सहयोगका निम्ति गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्ले एनसिसी, कुवेत र युएईलाई ६ हजार डलर सहयोग गरेको थियो ।        

अध्यक्ष पन्तले बाँकी अन्य नेपालीको उद्धारका लागि यथाशीघ्र पहल गर्न नेपाल सरकारलाई आग्रह गरेका छन् । विभिन्न मुलुकबाट कुल ५० हजार ९३ जनाले निवेदन दिएकाेमा प्राथमिकताका आधारमा परराष्ट्र मन्त्रालयले चार्टर्ड विमानमार्फत २४ हजार एक सय ४८ जनालाई मात्र फिर्ता ल्याउन सिफारिस गरेको छ । कोभिड–१९ को प्रभावका कारणले मलेसिया र खाडी देशमा मात्र करिब २० हजार नेपाली पहिलो चरणमा उद्धारको पर्खाइमा छन् ।        

यस्तै संघका कोषाध्यक्ष महेश श्रेष्ठका अनुसार कोभिड– १९ को ठूलो प्रभाव रहेका ११ मुलुकमा संघले करिब ७० लाख आर्थिक सहयोग गरेको छ । यसअघि गैरआवासीय नेपाली संघले अप्ठ्यारोमा परेका नेपालीको उद्धारका लागि सहयोग गर्न आफ्ना विदेशस्थित शाखा (राष्ट्रिय समन्वय परिषद्) लाई तयारी अवस्थामा रहन निर्देशन दिइसकेको छ ।   

Published on: 12 June 2020 | Nayapatrika

Link

Back to list

;