s

विदेशमा अलपत्र नेपाली कामदार र विद्यार्थीको समस्या तत्काल समाधान गर : मानव अधिकार आयोग

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय मानव अधिकार आयोगले विदेशमा रहेका हजारौं नेपाली कामदार कोभिड–१९ को महामारीका कारण रोजगारी गुमाई तलब र खान–बस्नसमेत नपाई अलपत्र परिरहेको र संक्रमणको जोखिममा रहेको उल्लेख गर्दै तिनको समस्या तत्काल समाधान गर्न सरकारलाई निर्देशन दिएको छ ।

आयोगले मंगलबार विज्ञप्ति जारी गरी फोन र इमेललगायतका माध्यमबाट आयोगलाई विदेशमा नेपाली कामदार गम्भीर समस्यामा रहेको जानकारी आइरहेको उल्लेख गर्दै तिनको समस्याबारे परराष्ट्र र श्रममन्त्रीसँग छलफल गरी तत्काल समाधान गर्न ध्यानाकर्षण गराइएकोसमेत जनाएको छ । 

आयोगले बंगलादेशसहित विश्वका विभिन्न मुलुकमा रहेका हजारौं नेपाली विद्यार्थीहरू खर्च अभावले अलपत्र र अप्ठ्यारोमा परिरहेको जानकारी आइरहेको उल्लेख गर्दै तिनको तत्काल उद्धार या समस्याको समाधान गर्न सरकारलाई निर्देशन दिएको छ । 

आयोगले विज्ञप्तिमा मुलुकका ७२ वटा कारागारमा क्षमताभन्दा बढी कैदीबन्दीहरू रहेका कारण सामाजिक दुरी पालना हुन नसकेकाले कही”ंकतैबाट कोरोना संक्रमण हुन गएमा कारागारभित्रको स्थिति भयावह हुन सक्ने चेतावनी दिंदै त्यसतर्फ सचेत हुन सरकारलाई आग्रह गरेको छ । 

आयोगले स्थलगत अनुगमनका क्रममा केन्द्रीय कारागारमा १२ सय ५० जना अट्ने क्षमता रहेकामा ३ हजार १ सय ६४ कैदीबन्दी भएकाले खानेपानी, शौचालय तथा सरसफाइको अभाव र सामाजिक दुरी कायम गर्न समस्या रहेको पाइएको जनाएको छ । 

आयोगले काठमाडौं र ललितपुरका कारागार तथा हिरासत कक्षको अनुगमनका क्रममा संक्रमण रोकथामका लागि सरसफाइ, स्वास्थ्य परिक्षणलगायतका प्रक्रियामा सचेतना अपनाइए पनि कम रहेको पाइएको विज्ञप्तिमा उल्लेख गरेको छ । 

‘अतः यस्तो जटिल परिस्थितिलाई मानवअधिकारमैत्री तवरले समाधान गर्न आयोगले नेपाल सरकार, परराष्ट्र, स्वास्थ्य, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका मन्त्रीहरूसँग छलफल गरी ध्यानाकर्षण गराएको छ’ विज्ञप्तिमा छ ।

Published on: 28 April 2020 | Kantipur

Link

Back to list

;